राप्रपाका चार शीर्ष नेताहरुको सुझबुझपूर्ण निर्णय : कमल थापालाई अध्यक्ष बनाउने सहमति !

काठमाडौँ २०७३ फागुन ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका चार शीर्ष नेताहरुले पार्टी अध्यक्ष कमल थापालाई नै आगामी फागुन ६ गते हुने एकता महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित गर्ने सुझबुझपूर्ण निर्णय गरेका छन् ।

पार्टीका शीर्ष नेताहरु लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी तथा कमल थापाले आज एक संयुक्त प्रेस बक्तव्य प्रकाशित गर्दै अध्यक्ष पदमा कमल थापालाई समर्थन गर्ने सहमती कायम गरेका हुन् । शीर्ष नेताहरुको यस सहमतिसँगै अध्यक्ष कमल थापा आगामी एकता महाधिवेशनबाट निर्विरोध अध्यक्ष बन्ने निश्चित भएको छ ।

चार शीर्ष नेताहरुले आज जारी गरेको संयुक्त प्रेस बक्तव्यमा एकता महाधिवेशनलाई पार्टीका लाखौँ कार्यकर्ता, सहयोगी तथा शुभचिन्तकहरुको चाहना र भावनालाई सम्मान गर्दै सहमतिको आधारमा सम्पन्न गर्न हामी प्रतिवद्ध छौँ भनी उल्लेख गर्दै प्रेस बक्तव्यमा अगाडी भनिएको छ, पार्टीको केन्द्रिय अध्यक्षको निर्वाचन निर्विरोध गर्ने उद्देश्यकासाथ हामीले महाधिवेशनमा कमल थापालाई अध्यक्ष पदमा समर्थन गर्ने सहमती कायम गरेका छौँ ।

प्रेस बक्तव्यमा भनिएको छ, पार्टीलाई देशको अग्रणी, राष्ट्रवादी, प्रजातान्त्रिक शक्ति बनाउन महाधिवेशनलाई पारस्परिक एकता, सद्भाव र सहमतीका आधारमा सम्पन्न गर्न गराउन हामी पार्टीका सबै तहका साथीहरु एवं महाधिवेशन प्रतिनिधीहरुलाई आव्हान गर्दछौँ ।

प्रेस बक्तव्य

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *