‘ढोरपाटन महोत्सव’बारे जानकारी दिन बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन !

रबिना बोहरा, बागलुङ २०७४ चैत ९ । नयाँ बर्ष २०७५ को शुभारम्भ संगै बुर्तिबाङमा ढोरपाटन महोत्सवको आयोजना गरिने भएको छ । बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईको आयोजना, ढोरपाटन नगरपालिका तथा ४ वटा गाउँपालिकाको समन्वयमा महोत्सवको आयोजना गर्न लागिएको शुक्रबार सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

कला, संस्कृतिको संरक्षण संगै पर्यटन विकासका लागि महोत्सव सञ्चालन गर्न लागिएको बताइएको छ । आगामी बैशाख १ गते देखी ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा ६१ लाख रुपैँया आम्दानी गर्ने र सोही रकम बराबरको खर्च हुने अनुमान गरेको बताइएको छ । बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईका अध्यक्ष चिन्तामणी शर्माले ढोरपाटन नगरपालिकाले मात्रै महोत्सवका लागि १० लाख रुपैँया बिनियोजन गरिसकेको जानकारी दिँदै अन्य स्थानीय तह एवं देश, विदेशमा रहेका जिल्लाबासीहरुलाई सहयोगका लागि आग्रह गर्ने बताए ।

७ दिन सम्म चल्ने महोत्सवमा ५ लाख भन्दा बढि स्थानीय तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । ७० देखी एक सयको हाराहारीमा स्टल राखिने आयोजकले जनाएको छ । यस्तै कृषि प्रदर्शनी, विभिन्न स्थानीय खानाका परिकारहरु, स्थानीय स्रोत, साधनबाट निर्मित सामाग्रीहरु राखिने छ । महोत्सव अवधीभर प्रदेश स्तरीय ब्याडमिन्टर प्रतियोगिता, भलिबल, प्रतियोगिता, राष्ट्रिय तेक्वादो, पञ्चेबाजा, छेलो, रस्साकस्सी, कविता प्रतियोगिता लगायतका विविध कार्यक्रमहरु रहेका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरु मनोज गजुरेल, बद्री पंगेनी लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको पनि जनाएको छ ।

पत्रकार सम्मेलन तथा जनप्रतिनिधि भेटघाट कार्यक्रममा प्रतिनिधिसभा सांसद डा.सुर्य पाठक, देवेन्द्र पौडेल, जिल्ला समन्वय समितिका उपसभापति बिष्णु भुषाल, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईका अध्यक्ष शर्माको अध्यक्षता, उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारीको स्वागत र युवक श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply