साताको तस्वीर : स्मृतिमा मार्फा !

हिमाली जिल्ला मुस्ताङको मार्फा एक रमणीय पर्यटकीय स्थल हो, र यो स्याउको लागि विश्व प्रशिद्ध छ ।

पैदलमार्गबाट मुक्तिनाथ दर्शन गर्न जाँदा २७ वर्ष पहिले २०४६ साल कात्तिक महिनामा खिचिएको यो तस्वीरमा स्याउका बोटहरुका वीच मार्फा बजार लुकामारी खेलझैं लाग्थ्यो ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार देखी हामी तीन सहयात्री डा मधुनिधि तिवारी, (नेपाल बाल संगठनका तत्कालीन केन्दिय कोषाध्यक्ष) तथा हामी दुई सहयात्री सूर्यबहादुर मास्के र यो हरफकार (दुबै नेपाल बाल संगठनका तत्कालीन केन्द्रिय सदस्य) पवित्र गलेश्वर धामको दर्शन गरी दाना गाविसको मनहर्ने रुप्से झरना र त्यस्को नजिकै बग्ने कालीगण्डकी नदीले बनाएको विश्वकै प्रशिद्ध अन्ध गल्छी (खोँच) अवलोकन पछी घाँसा हुँदै मार्फा पुग्दा त्यहाँका अति सुन्दर प्राकृतिक दृश्यहरुले पैदल यात्राको पीडानभूति नै हुन पाएन ।


त्यस बखतको मुक्तिनाथ मन्दिर केहि तल रहेको झारकोट यस्तो देखिन्थ्यो ।

त्यस बखतको प्राकृत मार्फा सुग्घर, सफा र सुवासयुक्त थियो, त्यसोत अहिले पनि छ । ‘मार्फाको मनोहरतालाई अघाउने गरी हेरौँ बिदुरजी, फर्कँदा हवाई जहाजबाट पोखरा गईन्छ…’ डाक्टर साहेब (डा. तिवारी)ले भनेपछी हामी तीनैजना सहयात्रीहरुले मार्फाको दृश्यावलोकनमा केहि समय बितायौँ । तस्वीर खिच्यौँ र हामी जोमसोम भएर मुक्तिनाथ दर्शन गर्न गयौँ अनि पोखरा फर्कियौँ ।

जोमसोमबाट पोखरा उडदा हवाई जहाजबाट खिचिएको धौलागिरी हिमालको पूर्बीभाग ।

अहिले सदरमुकाम जोमसोम, मुक्तिनाथ मन्दिर मात्र होईन सिधै चीनको सीमानामा रहेको कोरला नाका सम्म मोटर पुगेको छ । दिनहुँ सयौँ श्रद्धालु मुक्तिनाथको दर्शन गर्न पुग्ने गर्छन् भने थुप्रै यात्रु कोरला नाकासम्म पुगेर त्यहाँको समथर भूभागको अवलोकन गर्छन् । मुस्ताङका समथर, उच्च पहाडी भाग, कुनाकाप्चामा रहेका मनोरम दृश्यहरुलाई क्यामरामा कैद गर्नेहरुकोसंख्या कम छैन । मोटरबाटो पुगेपछी आन्तरिक एवं बाह्य पर्यटकहरुको चाप थेग्न नसकिने अवस्था छ ।

मार्फामा डा. मधुनिधि तिवारीका साथ ।
अहिलेपनि हामी भेट हुँदा, २७ वर्ष पहिलेको मार्फा र मुक्तिनाथका विषयमा चर्चा गछौँ । हाम्रो मानसपटलबाट ती अविष्मरणीय क्षणहरु लुप्त भएका छैनन् बरु पुनर्ताजगीका लागि सुगम गन्तव्य बनिसकेको मुस्ताङ घुम्ने सोँच चाहिँ बनेको छ ।

प्रस्तुति: बिदुर खड्का
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.