समाज विकासमा कार्कीले गरेका योगदानको स्मरण

बागलुङ, २०७४ फागुन ५ । नेकपा एमालेका नेता हरिबहादुर कार्कीको निधन भएको १३ औं दिनको पूण्य तिथिमा काठेखोला गाउँपालिका वडा नं. ७ रेश नुन्थलास्थित कार्की निवासमा शनिवार संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

काठेखोला गाउँपालिका वडा नं. ७ वडा कार्यालय, नेकपा एमाले रेश वडा कमिटि, रेश नुन्थला माध्यमिक विद्यालय, आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र रुमे कार्की उत्थान समाज रेश सिगानाले संयुक्त रुपमा श्रद्धाञ्जली सभाको आयोजना गरी समाज विकासका अगुवा स्वर्गीय कार्कीप्रति श्रद्धा सुमन व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले रेश र छिमेकी गाउको शिक्षा, स्वास्थ्य, सडक लगायत आर्थिक तथा सामाजिक विकासमा स्वर्गीय कार्कीले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उहाँको कामले धेरै युवाहरुलाई समाज विकासमा लाग्न प्रेरणा दिएको बताए । मानिसले जीवनकालमा गरेका राम्रा काम मात्रै सम्झनाका रुपमा रहने भएकाले समाज विकासमा योगदान गर्नुपर्छ भन्ने कुरा कार्कीले गरेका कामले स्मरण गराएको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमाले बागलुङका सचिवालय सदस्य तथा आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसी, एमाले जिल्ला सदस्य तथा काठेखोला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम लामिछाने, एमाले पूर्व क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्की, बानपा ८ का एमालेका अध्यक्ष सुरेश मल्ल, एमाले रेशका सचिव भूमिराज गौतम, रेश नुन्थला माविका प्रधानाध्यापक ओमबहादुर थापा, रुमे कार्की उत्थान समाजका उपाध्यक्ष प्रेमबहादुर कार्की लगायतले स्वर्गीय कार्कीले समाज विकासमा पु¥याएको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका तर्फबाट स्वर्गीय कार्कीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै मृत्यु राहत रकम हस्तान्तरण गरिएको थियो ।

नेकपा एमाले जिल्ला कमिटि बागलुङका पूर्व सदस्य, वर्तमान सल्लाहकार तथा साविक रेश गाविसका पूर्व अध्यक्ष, जिल्ला विकास समिति बागलुङका पूर्व सदस्य कार्कीको ५३ वर्षको उमेरमा गत माघ २२ गते निधन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.