साकोस व्यवस्थापन तथा सुदृढिकरण विषयक सहकारी प्रशिक्षण कार्यक्रम सम्पन्न !

सुमन जि.सी. म्याग्दी, २०७३ माघ २६ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. म्याग्दीको आयोजनामा जिल्लामा क्रियाशिल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुको उपस्थितीमा १ दिने साकोस व्यवस्थापन तथा सुदृढिकरण विषयक सहकारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष अमृता भण्डारीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतीथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सहकारीका मालिक भनेका सदस्यहरु भएता पनी पछिल्लो समयमा सहकारी संस्थाहरु आफुमात्र समृद्ध बन्दै गएको र सदस्यहरुको समृद्धीका लागि उल्लेख्य कार्य गर्न नसकिरहेको बताए । सदस्यहरुलाई उत्पादनमुखी, व्यवसायी र उद्यमी बनाउनका लागि सहकारी संस्थाहरुले लगानीका संगसंगै प्रशस्त सीपमुलक तालिम दिन आवश्यक रहेको पौडेलको भनाई थियो ।

प्रशिक्षणका क्रममा पौडेलले सहकारी संस्थाहरुलाई दिगो, सवल र सक्षम बनाउनका लागि सहकारी संघहरु र संस्थाका सञ्चालक समितिको भूमिका, संस्थामा संस्थागत कोषको आवश्यकता, सञ्चालक र व्यवस्थापन विचको फरक, लगाएतका विषयमा प्रष्ट पारेका थिए । सोही अवसरमा पौडेललाई मिति २०७३ पौष १ र २ गते सम्पन्न नेफ्स्कूनको २५ औं वार्षिक साधारण सभावाट सञ्चालक सदस्य पदमा निर्वाचीत भएकोमा संघद्धारा स्वागत एवं बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

संघका उपाध्यक्ष मिनवहादुर कार्कीको स्वागत एवं सचिव भुमनाथ सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका सचिव ऋषिराम गौतमले मन्तव्य राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.