Sorry, that menu does not exist.
 

साताको तस्वीर : कुर्घामा राष्ट्रपति भण्डारीको स्वागत !

शव्द/चित्र : कमल पौडेल, खर्वाङ २०७४ फागुन ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ६ कुर्घा स्थित त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रममा आउँदा भव्य स्वागत गरिएको छ । राष्ट्रपति भण्डारीको स्वागतका लागि केहि दिन पहिले देखिनै व्यापक तयारी गरिएको थियो ।

राष्ट्रपति भण्डारीले कार्यक्रमको सुरुमै त्रिभुवन माध्यमिक विद्यालयमा स्थापना गरिएको स्वर्ण स्मारकको अनावरण गरेकी थिईन् । अनावरण पछी बोल्दै उनले आर्थिक विपन्नता र चेतनाका कारण विद्यालय वाहिर रहेकाहरुलाई विद्यालयमा ल्याउन सवैको दायित्व हुने भन्दै समाज रुपान्तरणको महत्वपूर्ण आधार विद्यालय हुने वताईन् ।

भण्डारीले फरक प्रसंगमा जननिर्वाचित प्रतिनिधि मार्फत राजनैतिक स्थिरता, स्थायी शान्ति सहित दिगो विकास गर्दै समानता र न्यायमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा लाग्नुपर्ने आवश्यकता भएको वताईन् ।

कफी उत्पादनमा गुल्मीको भूमिका भएझैं प्राविधिक शिक्षा र शैक्षिक गुणस्तरको माध्यमवाट नेपालकै शिक्षा विकासमा त्रिभुवन माविले भूमिका खेल्ने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरिन् ।

कार्यक्रममा सांसदहरु गोकर्णराज विष्ट, प्रदिप ज्ञवाली, सोमलाल पाण्डे, मैनादेवी भण्डारी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, उपप्रमुख कमला शर्मा, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी लगायत विशाल जनसमुहको समुपस्थिती रहेको थियो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक रामबहादुर थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम स्वर्ण महोत्सव मुल समारोहका अध्यक्ष झविराम शर्माको अध्यक्षता तथा शिक्षक दधिराम शर्मा तथा गोपाल रायमाझीको संचालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा रामचन्द्र चन्द, रमेश थापा, विष्णु श्रीपाली लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानिय संस्कृति झल्किने, गुरुङ समुदायको पहिचान सहितको झाँकी, पञ्चैवाजा लगाएत विविध साँस्कृतिक झलकहरुप्रस्तुत गरिएको थियो।

२०२४ सालमा स्थापना भएको विद्यालयले शैक्षिक गतिविधि संगै विभिन्न विधाका कार्यक्रम पनि संचालन गर्दै आएको छ। कार्यक्रममा सहयोगी, चन्दादाता लगाएतलाई सम्मान गरिएको थियो। विद्यालयको स्वर्ण महोत्सव ७ गते सम्म चल्ने विद्यालयले जनाएको छ।

स्वर्ण महोत्सवको अवसरमा शैक्षिक गुणस्तर वृद्धि तथा प्राविधिक शिक्षा संचालनको लागी सहयोगी हरुले सहयोग गर्ने क्रम पनि जारी रहेको छ। हाल सम्म झण्डै पौने २ करोड रकम संकलन भएको विद्यालयले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply