Sorry, that menu does not exist.
 

निसीखोलामा झण्डै ६ सय जनालाई नि:शुल्क आयोडिन नुनको प्याकेट वितरण !

मिलन हमाल, बुर्तिबाङ २०७४ फागुन ४ । निसीखोला गाउँपालिकाको वडा नं. ५ र ६ मा शुक्रवार निशुल्क आयोडिन नुन वितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय बागलुङ, सुआहारा कार्यक्रम र साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा वडा नं. ५ को पुतलीबजार र वडा नं. ६ को भल्कोटमा औपचारिक कार्यक्रमको आयोजना गरी आयोडिन नुन वितरण गरिएको हो ।

शरीरमा आयोडिनको कमीले हुने शारीरिक तथा मानसिक कमजोरीलाई निवारण गर्ने उद्देश्यले सुनौला हजार दिनका आमा र अन्य स्थानीयहरुलाई निशुल्क रुपमा आयोडिन युक्त नुन उपलब्ध गराइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

दुई वटा वडा गरेर करिब ६ सय जनालाई प्रति प्याकेटका दरले आयोडिन नुन उपलब्ध गराइएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले केही वर्ष पहिलेसम्म ग्रामिण इलाकाहरुमा ढिके नुनको अत्यधिक प्रयोग हुने गरेको र त्यसले गलगाँड जस्ता शारीरिक समस्या देखा पर्ने गरेको स्मरण गर्नुभयो । उहाँले परिवर्तित समयमा भने धेरै जसोले आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेको पनि बताए । साथै एकाध केही घरधुरीहरु आयोडिनयुक्त नुनको महत्वको बारेमा अनविज्ञ भएको र त्यसको लागि गाउँपालिकाले समेत प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने बताए ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनका बागलुङ संयोजक मनोज श्रेष्ठले आयोडिनयुक्त नुनको प्रर्वद्धन र यसको कमीबाट हुने शारीरिक कमजोरीका बारेमा जानकारी गराउने उद्देश्यले सरकारले फेव्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाएको र त्यसै कार्यक्रम अन्तरगत निसीखोला गाउँपालिकामा आयोडिन नुन वितरण तथा चेतनामुलक कार्यक्रमको अयोजना गरिएको जानाकारी दिए ।

सुआहारा जगदिश लोहारले आयोनुनको कमीले शारीरिक तथा मानसिक कमजोरी भई विभिन्न रोग लाग्ने सम्भावना भएकोले खासगरी सुनौला हजार दिनका आमाहरुले अनिवार्य रुपमा आयोडिन नुनको प्रयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा निसीखोला गाउँपालिकाका स्वास्थ्य संयोजक टोपबहादुर चन्द र सञ्चारकर्मी मिलन हमालले अभियान लिएर आउने स्वास्थ्यकर्मीहरुलाई धन्यबाद दिएका थिए । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनीधि, स्वास्थ्य कर्मीहरु, स्थानीय समाजेवी तथा बुद्धिजीविहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम सुआहारा बागलुङका संयोजक विश्वनाथ आचार्यको स्वागत मन्तव्य र जिल्ला जनस्वास्थ्य कार्यलय, बागलुङका हेल्थ असिस्टेन्ट जितेन्द्र यादवको सञ्चालनमा सम्पन्न रहेको थियो ।

वडा नं. ५ र ६ मा भएको कार्यक्रमको अध्यक्षता क्रमश निसीखोला गाउँपालिका—५ का अध्यक्ष हर्कमान घर्तिमगर र निसी स्वास्थ्य चौकीका सल्लाहकार नैनसिङ बुढामगरले गर्नुभएको थियो । शनिवार उक्त कार्यक्रम निसीखोला गाउँपालिकाको वडा नं. ३ र ४ मा हुने छ ।

सरकारले सन् १९८८ देखि हरेक फेब्रुअरी महिनामालाई आयोडिन महिनाका रुपमा मनाउँदै आएको छ । लामो समयदेखि सरकारले नूनमा आवश्यक मात्रामा आयोडिन मिलाई कर्पाेरेशनमार्फत देशभरि नै बिक्री वितरणको प्रबन्ध मिलाएपछि सो रोग हाल नेपालबाट निवारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् १९८५ मा सो रोगीको संख्या ४४ प्रतिशत रहेको थियो भने सन् २००७ मा शून्य दशमलव चारमा झरेको थियो।

अर्काेतर्फ सन् २०१६ को पछिल्लो स्वास्थ्य सर्वेक्षणअनुसार ५ वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले आयोडिनयुक्त नुनको उपभोग गरेको देखिएको थियो । सरकारले सन् २०१८ को अन्त्यसम्ममा आयोडिनयुक्त नुनको उपभोग गर्ने घर संख्या ९५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply