निजी स्रोतका शिक्षकहरुको लागि तलव भत्ताको व्यवस्था : रू. ६४ लाख बजेट विनियोजन !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ माघ १३ । तमानखोला गाउँपालिकाले निजी स्रोतका शिक्षकहरुको लागि तलव भत्ताको व्यवस्था गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिका भित्रका १८ वटा विद्यालयमा स्थानीय स्रोतबाट सेवा सुविधा लिइरहेका शिक्षकहरुको पारिश्रमिकको लागि एकमुस्ट करिब रु ६४ लाख विनियोजन गरिएको गाउँपालिकाका लेखापाल यामबहादुर थापाले जानकारी दिएका छन् ।

बागलुङको विकट क्षेत्र मानिने तमानखोला गाउँपालिकाका ३ माध्यमिक, ५ आधारभूत तथा १० प्राथमिक गरी १८ विद्यालयमा दरबन्दीको व्यवस्था नहुँदा कुनै न कुनै रुपमा स्थानीय स्रोतका शिक्षकहरु कार्यरत छन् । प्रयाप्त मात्रामा सरकारी दरबन्दीको व्यवस्था नभएको र स्थानीयहरुलाई चन्दा उठाएर निजी स्रोतका शिक्षकहरुको लागि तलबको व्यवस्था गर्न गाह्रो भएकोले गाउँपालिकाले पुजिँगत तर्फको करिब ७ करोडबाट उक्त रकम विनियोजन गरेको लेखापाल थापाले बताए । विद्यालयहरुले स्थानीय स्रोतका शिक्षकहरुको लागि पहिलो र दोस्रो चौमासिकको तलव निकासा गरीसकेको र तेस्रो चौमासिकको निकासा तयारी भैरहेको उनको भनाई थियो ।

गाउँपालिकाले दिएको जानाकारी अनुसार धनगौ ज्योती मावि, तमानको लागि १ लाख ९५ हजार, जनजागृति मावि बोङ्गादोभानको लागि १ लाख ९५ हजार, शान्ति मावि खुंखानीको लागि ४ लाख ९६ हजार २१० विनियोजन गरिएको छ । त्यस्तै, खोलेस्बाङ आधारभूत विद्यालय खालेस्बाङको लागि ७ लाख ६७ हजार, जनज्योती आधारभूत विद्यालय भयरबोङ्गाको लागि ९ लाख ८४ हजार, मंगला आधारभूत विद्यालय बोङखानीको लागि ५ लाख ६५ हजार ५००, विष्णु आधारभूत विद्यालय नर्जाको लागि १० लाख २९ हजार २१०, सरस्वती आधारभूत विद्यालय लामेलाको लागि ६ लाख ४ हजार ५०० विनियोजन गरिएको छ ।

उता, भगवती प्रावि थास्पुरीको लागि २ लाख १४ हजार ५००, जनमती प्रावि हिजाको लागि २ दाख ७३ हजार, देउराली प्रावि खुङ्खानीको लागि ३ लाख ३१ हजार, प्रमेश्वर प्रावि पातीचौरको लागि १ लाख १४ हजार, हिले प्रावि हिलेका लागि १ लाख ५६ हजार, मालिका प्रावि पात्लेका लागि ९१ हजार, भुमे प्रावि पैराको लागि ८२ हजार, जनता प्रावि रिक्लाङका लागि ५८ हजार ५००, विद्यासागर प्रावि थिरबाङका लागि २५ हजार र बुद्ध प्रावि स्याउलाको लागि १९ हजार ५०० रुपैयाँ विनियोजन गरिएको छ ।

विकासका हरेक पूर्वाधारबाट विमुख रहेको तमानखोला गाउँपालिकालाई शैक्षिक दृष्टिकोणले उत्कृष्ट बनाउन विस्तृत शैक्षिक योजना बनाएर अघि बढ्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । गाउँपालिकाका निजी स्रोतका शिक्षकहरुको तलब व्यवस्था गर्ने आफुहरुको पहिलो प्रयास रहेको र आगामी बर्षदेखि स्थानीय स्तरको शैक्षिक नीति बनाएर स्थानीय तहबाटै तलव भत्ताको व्यवस्था हुने गरी स्थानीय शिक्षक दरबन्दी कोटाको निर्धारण गरिने पनि बुढाले जानाकारी दिए ।

अंग्रेजी भाषा अन्तराष्ट्रियस्तरमै बोलिने भाषा भएकोले अन्तरदेशीय प्रतिष्पर्धा गर्न सक्ने जनशक्ती उत्पादनको आधार तयार गर्न पनि आगामी शिक्षा योजनामा गाउँपालिकाले अनिवार्य अंग्रेजी माध्ययमको अध्ययनलाई प्राथमिकतामा राख्ने तयारी गरेको उनको भनाई छ ।

तमानखोला गाउँपालिकाका कतिपय विद्यालयहरुमा परेका भौतिक संरचनाका योजनाहरु स्थानीयहरुले आफ्नै श्रमदानबाट सम्पन्न गरी त्यो बापतको बजेटलाई विद्यालय श्रोतमा जम्मा गरी शिक्षकहरुको लागि तलवको व्यवस्था गर्ने गरेका छन् ।

स्मरण रहोस्, ढोरपाटन नगरपालिको कार्यपालिका बैठकले पनि आगामी बर्ष देखि निजी स्रोतको शिक्षकहरुको तलवभत्ता नगरपालिकाले गर्ने र कम्प्युटर तथा आइसिटी शिक्षाको लागि प्रत्येक विद्यालयमा १÷१ थान कम्प्युटर र प्रोजेक्टरको व्यवस्था गर्ने निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *