ढोरपाटन नगरपालिका–६ अधिकारीचौरमा १ दिने मैन बत्ति बनाउने तालिम सम्पन्न !

सुमन सुनार, २०७४ माघ ६ । धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र, डिसी.आर.डिसी शाखा कार्यालय बुर्तिबाङले आज ढोरपाटन नगरपालिका वडा नं. ६ अन्तर्गतका आफ्ना महिला सदस्यहरुलाई मैन बत्ती बनाउने तालिम दिएको छ । केन्दद्धारा सञ्चालित लघुवित्त कार्यक्रम अन्तर्गत त्यहाँका आफ्ना महिला सदस्यहरुलाई मैन बत्ती बनाउने तालिम दिईएको केन्द्रले जनाएको छ ।

जस अन्तर्गत वडा नं. ६ मा रहेको पानीपोखरा डिसी.आर.डिसी केन्द्र नं. ५४ की उप–प्रमुख खिम कुमारी भण्डारी र सदस्य चिनमती भण्डारीलाई प्रशिक्षण दिईएको छ । यस्तै उत्तरगंगा डिसी.आर.डिसी केन्द्र नं. ९१ की उप–प्रमुख खिम मायाँ विश्वकर्मा र सदस्य गौमती विश्वकर्मालाई प्रशिक्षण दिईएको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र, डिसी.आर.डिसी शाखा कार्यालय बुर्तिबाङ शाखाका कर्मचारी तथा तालिमका प्रशिक्षक गणेश थापाले बताए । चारै जना महिला सदस्यलाई आज अधिकारीचौरमा तालिमको आयोजना गरि मैन बत्ती बनाउने तारिकाको बारेमा प्रशिक्षण दिईएको हो ।

केन्द्रले विशेष गरि ग्रामिण भेगका आर्थिक रुपमा विपन्न, पिछडिएका, दलित, आदिवासी, जनजाति समुदायका महिलाहरुलाई घरेलु उद्यम तर्फ आकर्षित गर्ने तथा आत्मनिर्भर बनाउने उदेश्यले यस्ता खालका विभिन्न मुढा बनाउने, चुरा बनाउने, सिलाई कटाई, कुसन डल बनाउने, अगर बत्ती बनाउने जस्ता शिपमुलक तालिम सञ्चालन गर्दै आएको छ । यसैविच वडा नं. ६ का आफ्ना महिला सदस्यहरुले पनि आजको तालिमबाट सिकेका कुराहरु आफ्ना समुदायका महिलाहरुलाई तालिम कै आयोजना गरि सिकाउने प्रशिक्षक थापाले बताए । यस अघि निसीखोला गाँउपालिका वडा नं. ७ र बडिगाड गाँउपालिकाको वडा नं. १० का महिला सदस्यहरुलाई पनि मैन बत्ती बनाउने तालिम दिई सकिएको थापाले बताए ।

आफ्ना घर परिवार तथा सामाजिक रुपमा महिलाहरु धेरै पिछडिएको र चुलोचौकोमा मात्र सिमित भएको भन्दै उनिहरुलाई आत्मनिर्भर बनाउनका लागी यस्ताखालका सिपमुलक तालिमको आयोजना गर्दै आएको केन्द्रले जनाएको छ । केन्द्रले आगामी आर्थिक वर्षमा कुसन डल बनाउने र साबुन बनाउने तालिम सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.