प्रशान्त घर्तीमगर, बुर्तिबाङ २०७४ पुस २९ । बागलुङको बुर्तिबाङमा जारी पाचौँ पुरुष तथा प्रथम महिला राष्ट्रिय प्रोफेसलन आइटिएफ तेक्वान्दो प्रतियोगिता आज सकिएको छ ।
हिजो देखि सुरु भएको प्रतियोगिताको महिला तथा पुरुष दुवै इभेन्टमा विभागीय टिमका खेलाडीहरुले बर्चस्व जमाएका छन् । महिलातर्फ ४७—५३ केजी समूहको फ्रि स्पाइरिङमा नेपाल आर्मी क्लवकी रिना धिमाल प्रथम, नेपाल आर्मीकै रुविका खड्का द्वीतीय र आयोजककी पुजा मगर तृतीय भएका छन् ।
त्यस्तै, पुरुषतर्फ ५७—६३ केजी समूहको फ्रि स्पाइरिङमा नेपाल एपीएफ क्लवका गोविन्द खड्का प्रथम, एपीएफकै योगेन्द्र धिमाल द्वीतीय र नेपाल आर्मी क्लवका दिनेश बुढामगर तृतीय भएका छन् ।
महिला तथा पुरुषको दुवै इभेन्टमा प्रथम, द्वीतीय र तृतीय हुने खेलाडीहरुले क्रमश पाँच सय अमेरिकी डलर, चाँदीको बेल्ट, स्वर्ण पदक, तीन सय अमेरिकी डलर कास्य पदक र दुई सय अमेरिकी डलर, रजत पदक प्राप्त गरेका छन् ।
विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी प्रदेश सभा सदस्य सदस्य टेक बहादुर घर्ती र नेपाल आइटीएफका अध्यक्ष अन्जन धमला लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा पाँच वटै विकास क्षेत्र, २ विभागीय टिम र आयोजक गरी ८ टीमका महिला १६ र पुरुष १६ गरी ३२ जना खेलाडिहरुले प्रतिष्पर्धा गरेका थिए ।
नेपालको इतिहासमै धेरै पुरस्कार राशीको व्यवसायिक तेक्वान्दो प्रतियोगिता सफलताको साथमा सम्पन्न भएको आयोजकले जनाएको छ । यसभन्दा अघि पुरुषहरुको राष्ट्रिय स्तरका ४ वटा व्यवसायिक प्रतियोगिता सम्पन्न हुँदा समेत महिलाहरुको लागि कुनै प्रतियोगिता आयोजना नगरिएको अवस्थामा पहिलो पटक आफुहरुले महिलाहरुको व्यवसायिक प्रतियोगिताको आयोजना गरेको संयोजक भुपेन्द्र पुनमगरले बताए ।
बागलुङ स्थित ढोरपाटन आइटिएफ तेक्वान्दो दोजाङको आयोजना, बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको सह आयोजना र नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा प्रतियोगिता सम्पन्न भएको हो ।