खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सांसद घर्तीको प्रतिवद्धता !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ पुस २९ । प्रदेश नं ४ का प्रदेश सांसद टेकबहादुर घर्तिमगरले खेल क्षेत्रको विकास र विस्तारमा आफुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

बुर्तिबाङमा पाचौँ पुरुष तथा प्रथम महिला राष्ट्रिय प्रोफेसलन आइटिएफ तेक्वान्दो प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै घर्तीले मार्सल आर्ट आत्मरक्षाको लागि मात्र नभई स्वस्थ जीवन र अनुशासनसँग पनि जोडिने भएकोले यसको उचित विकास र विस्तार गर्नुपर्ने धारणा राखे । उनले बुर्तिबाङमा व्यवस्थित कभर्ड हल निर्माण गर्नको लागि केन्द्रीय सरकार र प्रदेश सरकारमा आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।

फरक प्रसंगमा बोल्दै उनले निर्वाचनको समयमा दलहरु विभिन्न कित्तामा विभाजन भएपनि अव जनताका आधारभूत आवश्यकताहरु पुरा गर्ने अभियानमा भने सबै दलहरु एक हुने पर्ने धारणा राख्नुभयो । यो क्षेत्रको विकासका लागि आफुले सवै दल, तह र निकायहरुसँग सहकार्य गर्ने पनि स्पष्ट पारे ।
त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथि नेपाली कंग्रेसका क्षेत्रीय सभापति द्रोण कुँवरले पश्चिम बागलुङमा लगातार राष्ट्रियस्तरको व्यवसायिक प्रतियोगिता आयोजना गरेर यो क्षेत्रलाई आइटिएफको क्षेत्रको रुपमा परिचित गराउने आयोजकलाई धन्यबाद दिए । कुवँरले अहिलेसम्मका सवै प्रतियोगिताहरु स्थानीयहरुको सहयोगमा भएकाले यसको थप प्रभावकारी विकासका लागि सरकारी तहबाट सहयोग हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय सदस्य तथा ब्लाकबेल्ट कमिटिका अध्यक्ष घमबहादुर खड्काले आइटिएफको थप विकासको लागि योजनागत ढंगले अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा सहायक जिल्ला अधिकारी नारायण पाण्डे, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज कृष्ण रानामगर, नेकपा एमालेका जिल्ला सदस्य बिरबहादुर विक, नेपाल अन्तराष्ट्रिय तेक्वान्दो संघका पदाधिकारीहरु, क्षेत्र तथा जिल्ला स्तरका प्रशिक्षकहरु तथा रेफ्रिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अवसर पारेर आयोजकले प्रतियोगिता सम्पन्न गराउन आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरेको थियो । त्यस्तै कार्यक्रममा बुर्तिबाङ डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

समापन कार्यक्रम खेल संयोजक भूपेन्द्र पुनमगरको अध्यक्षता र कार्यक्रमका सांँस्कृतिक सयोजक प्रतिक घर्तिमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *