बुर्तिवाङमा सन्चालित निशुल्क शिविरको पहिलो दिन ९ जनाको स्थायी बन्ध्याकरण

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ पुस २८ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित सञ्चालित २ दिने निशुल्क शिविरको पहिलो दिन बिहीबार ९ जनाको स्थायी बन्ध्याकरण गरिएको छ । भोलीसम्म चल्ने शिविरको आज पहिलो दिन ७ जना पुरुषले भ्यासेक्टोमी र २ जना महिलाले मिनील्याप सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय, बागलुङकी पब्लिक हेल्थ नर्स हरिकाँसी पालिखेले बताईन् ।

जिल्ला जनस्वास्थ्य कार्यलयको नियमित बार्षिक कार्यक्रम अन्तरगत निशुल्क भ्यासेक्टोमी तथा मिनील्याप सञ्चालन गरिएको उनले जानकारी दिईन ।
यो बर्ष जिल्लामा १०० जना पुरुषको लागि भ्यासेक्टोमी र ५० जना महिलाको लागि मिनील्याप सेवा प्रदान गर्ने जनस्वास्थ्यको लक्ष छ । यसभन्दा अघि सञ्चालित शिविरबाट गल्कोटमा २६ जना र कुस्मीसेरामा २० जनाले यो सेवा लिइसकेको पनि पालिखेले बताईन ।

सन्तानको रहर पुगिसकेका दम्पतीहरुलाई लक्षित गरी स्थायी बन्ध्याकरणको लागि उक्त शिविरको आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ ।

परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग कतिपयको लागि झन्झटिलो हुने हुँदा पनि सन्तानको रहर पुगिसकेका महिला तथा पुरुषको लागि स्थायी बन्ध्याकरणको लागि यो शिविर फलदायी हुने प्राथमिक स्वास्थ्य केन्द्रका डा. मिलन मल्लले बताए । कतिपयमा भ्यासेक्टोमी गरेका पुरुष तथा मिनील्याप गरेका महिलाहरुमा यौन समस्या देखा पर्छ भन्ने भ्रम रहेको तर यो कुरा गलत रहेकोले निर्धक्क यो सेवा लिन डा. मल्लले सवैलाई आग्रह गरेका छन् । शिविरलाई मेरी स्टोप्सका विशेषज्ञ डाक्टरहरुले सहजिकरण गरिरका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *