बुर्तिबाङमा भोलि बिहीवार देखि २ दिने नि:शुल्क भ्यासेक्टोमी तथा मिनिल्याप शिविर शुरु हुँदै

प्रशान्त घर्तिमगर, बुर्तिवाङ २०७४ पुस २६ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भोलिदेखि निशुल्क भ्यासेक्टोमी तथा मिनील्याप शिविर हुने भएको छ । सन्तानको रहर पुगिसकेका दम्पतीहरुलाई लक्षित गरी स्थायी बन्ध्याकरणको लागि उक्त शिविरको आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ ।

परिवार नियोजनको लागि काम गर्ने संस्था मेरि स्टोप्सका विषशेज्ञ स्वास्थ्यकर्मीहरुबाट शिविरमा पुरुषहरुको लागि भ्यासेक्टोमी र महिलाहरुको लागि मिनील्याप सेवा प्रदान गरिने प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिबाङका डा. मिलन मल्लले जानाकारी दिए । शिविरको बारेमा स्वास्थ्य स्वयमसेविकाहरुलाई जानाकारी दिइएको र स्वयमसेविकाहरुले आफ्नो गाउँटोलमा खबर गरिसकेको पनि डा. मल्लले बताए ।

परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग कतिपयको लागि झन्झटिलो हुने हुँदा पनि सन्तानको रहर पुगिसकेका महिला तथा पुरुषको लागि स्थायी बन्ध्याकरणको लागि यो शिविर फलदायी हुने उनले बताए । कतिपयमा भ्यासेक्टोमी गरेका पुरुष तथा मिनील्याप गरेका महिलाहरुमा यौन समस्या देखा पर्छ भन्ने भ्रम रहेको तर यो कुरा गलत रहेकोले निर्धक्क यो सेवा लिन पनि डा. मल्लले सवैलाई आग्रह गरे ।

पौष २८ गते सम्म चल्ने निशुल्क शिविरमा करिब १०० जना पुरुषले भ्यासेक्टोमी सेवा र ५० जना महिलाले मिनील्याप सेवा लिने जनस्वास्थ्यले अनुमान गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा शुरु हुने शिविरलाई प्राथमिक स्वास्थ्य केन्द्रले सहजिकरण गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.