निर्वाचन आयोगले समानुपातिक तर्फको नतिजा प्रकाशन नगर्नु प्रतिगामी खेलको संकेत – पौडेल

प्रशान्त घर्तिमगर, बुर्तिवाङ २०७४ पुस २६ । बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनीधिसभा तथा प्रदेश सभाका सांसदहरुले मतदाता भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई तिव्रता दिएका छन् ।

मतदाता भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रम अन्तरगत आज तमानखोला गाउँपालिकाको वडा नं. ३ र ४ तथा ढोरपाटन नगरपालिकाको वडा नंं ४ मा नवनिर्वाचित प्रतिनीधिसभा सदस्य देवेन्द्र पौडेल र प्रदेशसभा सदस्य टेकबहादुर घर्तिमगर सहितको टोलीले निर्वाचनमा मतदान गर्ने सवै मतदाताहरुलाई धन्यबाद दिएका हुन् ।

तमानखोला गाउँपालिका—४ को लाम्मेलामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रतिनीधिसभा सदस्य पौडेलले जनताबाट आफुहरु अनुमोदित भैसकेकोले नयाँ सरकार गठनका लागि सत्तासीन दलले उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने बताए । साथै मत परिणाम सार्वजनिक भएको यतिका समय भैसक्दा पनि निर्वाचन आयोगले समानुपातिक तर्फको नतिजा प्रकाशन नगर्नु प्रतिगामी खेलको संकेत भएको कुरा औँल्याए । उनले समृद्ध बागलुङको लागि सम्भावनाका एजेण्डा सहितका सुझावहरु जनताबाट अपेक्षा गरेको र त्यसलाई सकेसम्म न्याय गर्ने प्रयास आफुबाट भैरहने प्रतिवद्धता समेत जनाए ।

त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथि प्रदेशसभा सदस्य टेकबहादुर घर्तिमगरले आफु पश्चिम बागलुङका हरेक समस्यासँग परिचित भएकोले जनताका आधारभूत आवश्यकताहरु पुरा गर्न र त्यसको लागि आवश्यक नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । उहाँले जनताले आफुहरुलाई निर्वाचित गराएर दिएको जनादेशलाई कहिले पनि खेर जान नदिने दिशामा लागिरहने स्पष्ट पारे ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका पोलिट्व्यूरो सदस्य बलावती शर्मा, माओबादी केन्द्र ढोरपाटन नगरपालिकाका संयोजक चन्द्र अर्याल, नेकपा एमालेका जिल्ला सदस्य केशर छन्त्याल, सञ्चारकर्मी मिलन हमाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अवसरमा सोले युवा क्लव, आमा समूह तथा स्थानीयहरुले निर्वाचित सांसदहरुलाई फुलमाला र अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रम नेकपा एमालेका जिल्ला सदस्य उदिमबहादुर छन्त्यालको अध्यक्षता, धनप्रसाद श्रीपालीको स्वागत मन्तल्य र देवेन्द्र छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै, आज नै तमानखोला गाउँपालिका—३, तमानमा पनि निर्वाचित सांसदहरुलाई सम्मान गरिएको छ । तमानस्थित धन गौ ज्योती माध्यमिक विद्यालय र तमानबासीहरुले स्वागत गरेका हुन । स्वागत कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले तमानखोला गाउँपालिका आफैमा विकट र विकासको लहरबाट अन्य स्थानीय तहभन्दा टाढा रहेकोले यस क्षेत्रको विकासमा विशेष पहल गरिदिन अनुरोध गरेका थिए ।

यता, ढोरपाटन नगरपालिकाको वडा नं. ४ छोरेगाउँमा पनि प्रतिनीधिसभा सदस्य पौडेल र प्रदेशसभा सदस्य घर्तिलाई सम्मान गरिएको छ । खुंगा स्थित दिपक प्रावि, छोरेगाउँ स्थित छोरेगाउँ माध्यमिक विद्यालय, लालिगुरास आमा समूह, समाज सुधार युवा क्लव लगायत स्थानीयहरुले सम्मान गरेका हुन । कार्यक्रममा वडा अध्यक्ष तिलक पुनमगरले जनताको मतको वास्तविक सम्मान भनेको जनताको सुख दुखमा साथ दिनु भएकोले जनताको दैनिकीबाट टाढा नहुन सांसदहरुलाई आग्रह गरेका थिए ।

तमान र छोरेगाउँमा भएको दुवै कार्यक्रममा दुवै सांसदहरुले आआफ्नो तर्फबाट यस क्षेत्रको विकास र समृद्धिको लागि गर्न सक्ने सवै प्रयासहरु गरिने प्रतिवद्धता जनाएका थिए ।
तस्वीर- खेम अर्याल,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.