आधारभूत तहमा दरवन्दी नै छैन, प्राविका ४ शिक्षकले कसरी विद्यालय धान्ने ? मालारानीका प्रअको प्रश्न

समस्या समाधानको लागि सक्दो पहल गर्ने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले दिलाए भरोसा !

कमल घर्ती, ताराखोला २०७४ पुस २६ । ताराखोला गाउपालिका ५ स्थित मालारानी आधारभूत विद्यालयले आफ्नो ४० औँ वार्षिकोत्सव तीन दिने कार्यक्रमसहित मनाएको छ ।

विद्यालयको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक कर्णबहादुर केसीले नीजी स्रोतका शिक्षकलाई तलवभत्ता दिनमात्रै विद्यालयलाई वर्षमै झण्डै ८ लाख रकम नपुग हुने गरेको वताए ।

‘विद्यालयमा कक्षा ६ देखि ८ सम्म (आधारभूत तह) कुनै दरबन्दी नै छैन, प्राविमा भएको चार शिक्षकको दरवन्दीले मात्रै कसरी धान्ने ?,’ प्रअ केसीको प्रश्न थियो ।

उनले ‘पाँच जना शिक्षकलाई विद्यालयको आफ्नै स्रोतले तलव खुवाउँदा वर्षमै ८ लाख रुपैयाँभन्दा बढीको व्ययभार विद्यालयलाई पर्छ, भन्दै यसलाई व्यवस्थापन गर्न गाउँपालिकाले सोचिदिन आग्रह गरे ।

वार्षिकोत्सव समारोहको समापन अवसरमा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले ‘सरकारी दरवन्दीका शिक्षक अभाव हुँदा विद्यालयलाई आफ्नै स्रोतबाट शिक्षकलाई तलवभत्ता व्यवस्थापन गर्न निकै चुनौती भएको उल्लेख गर्दै समस्या समाधानको लागि सक्दो पहल गर्ने भरोसा दिलाए ।
अध्यक्ष घर्तीले सिकाई उपलब्धि सुधारमा ध्यान दिन आग्रह गरे । विद्यालय प्रशासन, शिक्षक र अभिभावक मिलेर अघि बढे सुधार सम्भव भएको उनको भनाई थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेतुलाल आचार्यले शिक्षाको गुणस्तर तथा भौतिक पूर्वाधार सुधारका लागि विद्यालयले आर्थिक अभियान सञ्चालन गरेको स्मरण गराउँदै सक्दो सहयोग गर्न सवैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा ताराखोला–५ का वडा अध्यक्ष तथा विद्यालयका निवर्तमान प्रधानाध्यापक रामबहादुर रोका, शिक्षक अभिभावक संघका अध्यक्ष चण्डीप्रसाद सापकोटा, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार नन्दालाल कँडेल, दुर्गा भावानी माविका शिक्षक बृहस्पती कँडेल, विद्यार्थी मनिसा कँडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम अध्यक्ष आचार्यको अध्यक्षता, शिक्षिका देवी थापाको स्वागत र शिक्षक मनबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
वार्षिकोत्सवको अवसरमा आन्तरिक तथा अन्तरविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियो । प्रवितहको अन्तरविद्यालयस्तरीय हाँजिरीजवाफ प्रतियोगितामा आयोजक मालारानी आधारभूत विद्यालय प्रथम, दुर्गा भवानी मावि द्वितिय र नेपाल मावि तृतिय भएका थिए । आधारभूत तहको छात्र भलिवल प्रतियोगितामा नेपाल मावि प्रथम र आयोजक द्वितिय भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *