बागलुङमा हात्तिपाईले रोग निवारण आम औषधी खुवाउने अभियान संचालन गरिने !

नारायण रिजाल, बागलुङ २०७३ माघ २१ । नेपालमा सन् २०२० सम्म हात्तिपाईले रोग निवारण गर्ने संकल्प अनुरुप बागलुङमा यही फागुन २१ गते देखी २३ गते सम्म हात्तिपाईले रोग विरुद्ध आम औषधी खुवाउने अभियान संचालन गरिने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा शुक्रबार आयोजित जिल्लाका सरोकारवालाहरु सँग जनचेतना अभिबृद्धि तथा अन्तक्रिया गोष्ठिमा सो कुरा बताईएको हो ।

विगतका वर्ष झै यस वर्ष पनि जिल्लामा कुल २ लाख ४० हजार जनतालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आम औषधी खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए । जिल्लामा आगामी फागनु २१ गते सम्बन्धित वडाको पाएक पर्ने स्थान साथै २२ र २३ गते छुटेकोलाई घरघरमा गई औषधी खुवाउने कार्यक्रम रहेको छ ।

कार्यक्रमका लागि जिल्लामा ४ सय ३१ जना स्वास्थ्यकर्मी, ७ सय ३२ जना सहयोगी स्वास्थ्यकर्मी तथा ९ सय ५० जना महिला स्वास्थ्य स्वयं सेविका गरी कुल २१ सय १३ जना जनशक्ति परिचालन गरिने कार्यालयले जनाएको छ । आम औषधी खुवाउने अभियान जिल्लामा ८ औ पटक संचालन हुँदैछ । नेपालमा ६१ जिल्लामा यो रोग प्रभावित भएको पाईन्छ ।

हात्तिपाईलेको औषधी २ वर्ष मुनिका बालबालिका गर्भवती महिला, नियमित औषधी खाई राखेको दिर्घरोगी, र सिकिस्त विरामी बाहेक अन्यले अनिवार्य खानुपर्ने धौलागिरी अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डाक्टर सागर कुमार राजभण्डारीले बताए ।

हात्तीपाइले रोग कुष्ठरोग जस्तै मानिसलाई नराम्ररी शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग तुल्याउने एक प्रकारको सरुवा रोग नै हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको परजीवीबाट सङ्क्रमण भएपछि लाग्ने गर्छ । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेर यी परजीवी शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ ।

ज्वरो आउनु र शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, दुख्नु, पुरुषमा अण्डकोष वरपरका नसा फुल्नु, दुख्नु, अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु, अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु हात्तीपाइले रोगको लक्षण मानिने डाक्टर राजभण्डारीको भनाई रहेको छ ।

जिल्लाका राजनैतिक दल सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थित रहेको गोष्ठीमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले यो रोग विरुद्धको आम औषधी खुवाउने अभियान सफल पार्नका लागि सबै तह र तप्काबाट सहयोग गर्न आग्रह गरे । उनले यस अभियान सफल पार्नका लागि सबै निकायको उत्तिकै दायित्व भएका कारण आ आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बागलुङका स्थानिय विकास अधिकारी, रामप्रसाद आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म कुँवर, सुआहारा परियोजना बागलुङका प्रमुख जगदिश लोहार लगायतले अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए ।

औषधी २ वर्ष देखी ५ वर्ष सम्मका लागि १ चक्की, ६ वर्ष देखी १४ वर्ष सम्मका लागि २ चक्की र १५ देखी माथिको लागी ३ चक्की र १ चक्की अल्बेण्डाझोल खुवाउनु पर्नेछ । औषधीको मात्रा बर्षमा एक चोटी खाएमा पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

गोष्ठिको सहजीकरण धौलागिरी अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डाक्टर सागर कुमार राजभण्डारी, बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारी, र जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले गरेका थिए । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङक सहायक घनश्याम सापकोटाको स्वागत र हेल्थ असिष्टेन्ट चुडामणि कंडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैवीच बागलुङ नगरपालिका १० कुँडुलेमा रहेको नवजीवन पुर्नस्थापना केन्द्रमा शुक्रबार क्षयरोग तथा एचआईभि एड्स सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा गरिएको कार्यक्रममा केन्द्रमा रहेका २८ जना व्यक्तिको खकार र रक्त परिक्षण गरिएको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरेले बताए ।

कार्यक्रममा केन्द्रका कार्यक्रम अधिकृत सचिन खड्का, सचिव राजेशमान श्रेष्ठले कार्यक्रम निकै प्रभावकारी रहेको बताए । कार्यक्रमको सहजीकरण क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरे र ल्याब टेक्निसियन कृष्ठबहादुर भण्डारीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.