राप्रपा बागलुङको १ र ३ नंको क्षेत्रीय अधिवेशनवाट क्रमश पन्त र मल्ल अध्यक्ष निर्वाचित
हरि शर्मा, बागलुङ २०७३ माघ २१ । राप्रपाले आज मुलुकभरका २०५ निर्वाचन क्षेत्रमा पार्टीको क्षेत्रीय समितिहरु चयन गरेको छ । यसै सिलसिलामा बागलुङ जिल्लाको १ नं क्षेत्रको बागलुङ सदर मुकाम र ३ नं क्षेत्रको बुर्तिवाङमा क्षेत्रीय समिति गठन भएका छन् । क्षेत्र नं २ को क्षेत्रीय समिति भने हिँजो नै गठन गरिएको राप्रपाले जनाएको छ ।
बागलुङ क्षत्र नं १ मा आज सम्पन्न क्षेत्रीय अधिवेशनले हेमराज पन्तको अध्यक्षतामा ४१ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा केदारनाथ कँडेल, सचिवमा प्रशान्त पौडेल, सहसचिवमा भूमादेवी कँडेल र कोषाध्यक्षमा हर्कबहादुर थापा रहेको निर्वाचन संयोजक चन्द्रबहादुर रिजालले जानकारी दिए ।
क्षेत्रीय अधिवेशनको प्रमुख अतिथी पूर्व मन्त्री एवं पार्टीका केन्दिय सदस्य भीम प्रसाद गौचनले उद्घाटन गरेका थिए ।
अधिवेशनमा बोल्दै केन्द्रिय सदस्य गौचनले ठूला दलका नेताले हिन्दु धर्मलाइ डलरमा बेचेको आरोप लगाएका छन । सवै पार्टीहरु विदेशमा जन्मिएको आरोप लगाउदै उनले राष्ट्रियता र धर्मको रक्षाका निम्ति राप्रपा मात्र एउटा दल भएको बताए । विसं २०६३ पछि राष्ट्रियता संकटमा परेको चर्चा गर्दै गौँचनले राष्ट्रियतालाइ गुलाम बनाएर नेताहरुले जनतामा भ्रम सिर्जना गरेको बताए । त्यस्तै उनले पञ्चायतमा खोलिएका उद्योगधन्दाहरु बन्द हुँदा ४० हजार नेपालीहरु पलायन हुन बाध्य भएको भन्दै देशमै रोजगारीको सिर्जना गर्नुपर्नेमा राप्रपाले निरन्तर सङ्घर्ष गरिरहेको बताएका थिए ।
पार्टीका जिल्ला अध्यक्ष टीकाराम सापकोटाको सभापतित्वमा सम्पन्न अधिवेशनमा केन्द्रिय सदस्यहरु तिलक रिजाल, दिलविकास राजभण्डारी, देविप्रसाद कँडेल लगायत सहअध्यक्ष नवीनचन्द्र सर्वुजा, पूर्व जिविस सभापति सुरेन्द्र खड्का,यवा संघका केस दिपेन्द्र हमाल, महिल संगठनकी कृष्णकुमारी शेरचन, शैलेन्द्र श्रेष्ठ, ताराकुमारी रिजाल, विष्णु सापकोटा, मेघराज पाण्डे, हर्कबहादुर थापा, केदार कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन हेमराज पन्तले गरेका थिए ।
यसैैवीच क्षेत्र नं ३ को बुर्तिवाङमा सम्पन्न क्षेत्रीय अधिवेशनले चक्रबहादु मल्ललाई अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष व्दयमा दुर्गाबहादुर बुढा मानबहादुर सिँह, सचिवमा रामबहादुर कुँवर, सहसचिव दुइजनामा मनवीर घर्ती र कृष्ण श्रीस तथा कोषाध्यक्षमा लक्ष्मी कुवरलाई चयन गरेको केन्द्रिय सदस्य दीपक कुँवरले जानकारी दिए ।