महोत्सवमा बढी एमाले निकट कलाकारलाई निम्तो गरिएको संयोजकमाथी आरोप !

महेन्द्र केसी, पर्वत २०७३ माघ २१ । पर्वत सदरमुकाम कुस्मा बजारमा जारी पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सव भोलि सकिदैछ । महोत्सवको असफलतालाई लिएर आयोजकहरु आपसमै एकले अर्कोलाई दोषारोपण गर्न सुरु गरेका छन् । प्रवेश पास होस या स्टल व्यवस्थापन, साउण्ड सिस्टम होस या मन्च व्यवस्थापन, सुरक्षा व्यवस्था होस खेल व्यवस्थापन सबैमा भएका लापर्वाहीलाई लिएर एकले अर्कोलाई दोष दिन थालेका छन् । पछिल्लो समय कलाकार छनौटको जिम्मा पाएका पर्वत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष केदारनाथ शर्मा बिबादमा तानिएका छन् ।

संयोजक शर्मा माथी राजनीति पूर्वाग्रह राखेर कलाकारहरुलाई निम्ता गरिएको आरोप लागेको छ । एमाले निकटका लोक गायकहरुलाई मात्र खोजी खोजी निम्तो गरेको गम्भीर टिप्पणीहरु भएका छन् । ‘यो त फलनाको काम हो…’ भनेर जिम्मेवारीबाट पन्छदै आएका आयोजहरुमाथी सामाजिक सन्जालहरुमा समेत महोत्सवका आयोजक संयोजकहरु माथी प्रहार भएको छ ।

संयोजक शर्माले महोत्सवमा एमाले निकट रहेका कलाकारहरुलाई मात्रै निमन्त्रणा गरेको र जिल्लामा रहेका चर्चित कलाकारहरुलाई एमाले निकट नभएका कारण निमन्त्रणा नदिएर बहिष्कार गरिएको भन्दै सामाजिक संजालमा चर्को विरोध भएको छ ।

सांस्कृतिक संयोजकको जिम्मा पाएका उपाध्यक्ष शर्मा उवासंघको आगामी अध्यक्षका दाबेदार समेत रहेकोले यसले ठूलै असर पार्ने व्यापारीहरुमा टिप्पणी सुरु भएको छ । कलाकार छनोटमा एमाले निकट कलाकार छनोट गर्नु आफैमा दु:खद भएको भन्दै त्यसको चरम आलोचना गरिएको छ ।

यस बखत प्रेस चौतारीका महासचिव तथा एमाले निकट सांस्कृतिक मंचका कलाकार समेत रहेका कृष्ण अखेलीको ग्रेण्ड डिजाइनमा केदारनाथ शर्माले कलाकार छनोटमा राजनीतिकरण गरेको सर्वत्र चर्चा भएको छ । अखेलीले कलाकार आफूले बोलाउने भन्दै संयोजक शर्मालाई भनेको र सवै कलाकारलाई निमन्त्रणा गर्ने जिम्मा अखेलीले लिएको चर्चाले बजार गरम छ।

महोत्सवको बुझनु पर्ने गाँठी कुरो के रहेछ भने, महोत्सवमा गीत गाउन आउने भनौँ निम्ता पाउने भाग्यमानी कलाकार/गायकहरुले मनग्गे दक्षिणा पाउँदा रहेछन् । गायक कलाकारहरुको स्तर र निकटता हेरेर एक कलाकारलाई एक लाख सम्म दक्षिणा दिईने रहेछ । विना हरहिसाव चिठीको खाममा विवाहमा टीका लगाएर जन्तीलाई टोपी सहित दक्षिणा दिएजस्तै दिईने हुँदा कलाकार छनौटमा राजनीतिकरण भएको धेरैले बुझेका रहेछन् ।

महोत्सवमा भएको आम्दानीको विवरण र खर्चको हिसाव टालमटोल तरिकाले एक वर्ष पछी सार्वजनिक गर्ने परिपाटी बसालेका महोत्सव आयोजकहरुले कुन गायक कलाकारलाई कति रुपयाँ दक्षिणा भनौ या पारिश्रमिक दिईयो भनेर न गएको चौथो महोत्सवमा बताए न अहिलेको पाँचौ महोत्सवमा बताउछन् न प्रशासनले खोजखबर गर्छ । सायद महोत्सवको यहि सत्यलाई बुझेर नै स्थानीयले भनेका होलान,‘मामाको धन फुपूको श्राद्ध !’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *