बुर्तिवाङ बडीगाड खोलामा तटवन्ध निर्माण: रू. २७ करोडको योजना ४० लाखबाट सुरु !

सांसद छन्त्यालले निर्वाचन क्षेत्र विकास कोषबाट छुट्टाई दिएको ४० लाख, हात्तिको मुखमा जीरा !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ २१ । बुर्तिवाङ बजारबासीलाई एकातिर नमुना शहरका लागि पूर्वाधारहरु निर्माण भैरहेकोमा खुशी छ भने अर्कोतिर बडीगाड खोलाको कटानबाट बुर्तिवाङ बजारलाई कसरी सुरक्षित राख्ने पिरलोले रातदिन सताई रहेको छ । गत साउन १० गते राति बडीगाड खोलामा आएको अकल्पनीय विनाशकारी भीषण बाढीले त्राहिमाम् बनेका बुर्तिवाङ बजारवासीलाई तटीय क्षेत्रमा तटबन्धका लागि निर्वाचन क्षेत्र विकास पुर्वाधार विशेष कार्यक्रमको रकम मध्यबाट सांसद ज्ञानकुमारी छन्त्यालले रु ४० लाख विनियोजन गरिदिएकाले केहि राहत महसूस भएको छ ।

गत साउन महिनामा खिचिएको तस्वीर ।
सरकारबाट निर्वाचन क्षेत्रको पुर्वाधार विकास कार्यक्रमका लागि प्राप्त हुने ३ करोड बजेट मध्ये सांसद छन्त्यालले बुर्तिबाङ बाजरको तटबन्धका लागि रु ४० लाख विनियोजन गरेकी हुन् । स्थानियवासीले ८ लाख रकम बराबार जनश्रमदान गर्नुपर्ने व्यवस्था छ । यो बजेटबाट काम गरिने विकास योजना छनोट समितिको संयोजक सम्वन्धित निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने कानुनी व्यवस्था छ ।

गत साउन महिनामा खिचिएको तस्वीर ।
शेरा तर्फ जाने झोलुङ्गे पुलदेखि बुर्तिबाङ बाजर तर्फको खोला किनारबाट गाविस कार्यालय, लक्ष्मी कुण्डघाट कबर्डहल हुँदै चुरेलाबाससम्म बढि जोखिम भएका ठाउँमा तटबन्ध गर्ने गरि बानबहादुर छन्त्यालको अध्यक्षतामा तटबन्ध निर्माण समिति गठन गरेर काम सुरु गर्ने तयारी भएको छ ।

समितिका अध्यक्ष छन्त्याल सहितको टोली योजना सम्झौताका लागि बागलुङ बजार आएको सचिव सोमबहादुर पौवी यामुले जानकारी दिए । उनले तटबन्ध निर्माणको काम उपभोक्ता समिति मार्फत हुने भएकाले निर्माण सामग्री जुटाउने लगायतका तयारी सुरु भईसकेको र सम्झौता पछि बजेटले पुग्ने ठाउँमा काम तत्काल सुरु हुने बताए ।

तर बुर्तिबाङ बाजरदेखि पारी टारिखेत तर्फ खोला किनारका बासिन्दाले आफुहरुको क्षेत्र तिर पनि उच्च जोखिम रहेकोमा वेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

त्यहाँका स्थानिय अगुवा धनबहादुर खत्रीले पहुँच हुनेले आफुहरुसँग छलफल नै नगरि आफ्नो क्षेत्रमा मात्र बजेट हालेको बताए । उनले जुनसुकै बजेटबाट भएपछि आउने बर्षात् अघि नै काम हने गरि योजना पारिदिन यसअघि भएको ईलाका गोष्ठिमा लिखित निवेदन दिएको बताए ।

आजै माघ २१ गते खिचिएको तस्वीर ।
खोलामा आएको बाढीले कटान गरेर उच्च जोखिमा रहेको बुर्तिबाङ बाजर जोगाउन निर्वाचन क्षेत्र विकास पुर्वाधार विकास कार्यक्रम बाट रु ४० लाख बजेट परेपछि सवै तर्फबाट प्रभावित बासिन्दाले आफ्नो क्षेत्रमा काम हनुपर्ने माग गर्दै आएका छन् ।

कटान भएको क्षेत्रमा रहेका खोला किनारमा शेरा तर्फ जाने पुल, न्युमोडर्न एकेडेमी, लक्ष्मी कुण्डघाट, कबर्ड हल, बजार पारी टारिखेत लगायतका ठाउँमा घर, बस्ती र विद्यालय उच्च जोखिममा छन् । जोखिमा रहेको बुर्तिबाङ बजार जोगाउन प्रयाप्त बजेट र कार्यक्रम नहुँदा छुट्टिएको थोरै रकमममा स्थानिय विच तानातान भएको हो ।

आजै माघ २१ गते खिचिएको तस्वीर ।
उच्च जोखिम भएको ठाउँमा काम गर्ने गरि रु ४० लाख बिनियोजन भएको र त्यसले सवैतिर नपुग्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दासँग समन्वय गरेर सबै भन्दा बढी जोखिम रहेको ठाउँमा बजेट खर्च हुने सांसद ज्ञानकुमारी छन्त्यालका स्वकिय सचिव सागर छन्त्यालले जानकारी दिए ।
स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले स्थानिय समस्यामा प्राथमिकताको आधारमा सम्बन्धित क्षेत्रको सांसदले तोकेको ठाउँमा काम गर्ने कानुनी व्यवस्था भएकाले सांसद् मार्फत छनोट हुने योजनामा बजेट कार्यान्वय हुने बताए ।

यस अघि बुर्तिबाङ नमुना शहर आयोजनाका प्राविधिकले गरेको सर्वेमा बुर्तिबाङ बजारलाई न्युनतम रुपमा सुरक्षित राख्न बडीगाड खोलाले कटान गरेको भागमा तटबन्ध गर्नका लागि झण्डै २७ करोड रुपयाँ लाग्ने बताएका थिए । प्राविधिकहरुको सर्वेक्षण अनुसार तटबन्ध निर्माणमा लाग्ने कुल लागतको तुलनामा हाल सांसद कोषबाट विनियोजित रकम हात्तिको मुखमा जीरा हुने देखिएपनि तटवन्ध निर्माण कार्यको शुभारम्भ हुने भएकोमा स्थानीयवासीले राहत महसूस गरेका छन् ।

तस्वीर- सुवास पन्त, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.