स्थानीय र प्रहरीको अथक प्रयासले आगो नियन्त्रणमा आएपछी, जोगियो बुर्तिवाङ बजार !

आगामी आवमा बारुण यन्त्र (दमकल) खरीद गर्ने नगर प्रमुख नेपालीको प्रतिवद्धता !

झरना कँडेल, बुर्तिवाङ २०७४ पुस १८ । बुर्तिवाङ बजारमा मध्यराति एक्कासी आगलागी भएपछी त्राहिमाम बनेका बजारवासी विहानी पख आगो नियन्त्रणमा आएपछी राहतको स्वास फेरेका छन् । ढोरपाटन नगरपालिका – १, बुर्तिवाङ बजार स्थित गणेश बुढा र रामबहादुर घर्तीको घरबाट मध्यराति एक्कासी आगोको ज्वाला निस्किएपछी बजारवासी आतंकित बनेका थिए । संपूर्ण वजारवासी र प्रहरीको अथक प्रयासले विहानी पख आगो नियन्त्रणमा आएकोले बजारमा थप क्षेती हुन नपाएको स्थानीयले बताएका छन् ।

आगोलागी भएका दुई घर पूर्णरुपमा जलेर खरानी बनेपनि त्यससंग जोडिएका अन्य घरहरुमा आगो फैलिन नदिई बजारलाई खरानीहुन बाट बचाउन सकिएकोमा स्थानीयवासीले ठुलो राहत महसूस गरेको बताएका छन् ।

बुर्तिवाङ ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण रानामगरले हिँजो राति नै आगो नियन्त्रणमा लिने प्रयास भैरहेको ईबागलुङलाई जानकारी दिएका थिए । विहानी पख बजारवासी र प्रहरीको प्रयासले आगोलाई पूर्णरुपमा नियन्त्रणमा लिईएकोले थप क्षेती हुनबाट जोगिएको प्रहरीको भनाई छ । बागलुङ बजारबाट छुटेको दलकल आज विहान ४.३० बजे मात्र बुर्तिवाङ बजारमा आईपुगेको थियो । त्यतिबेला आगो नियन्त्रणमा आईसकेको थियो ।

तीब्ररुपमा शहरीकरण भैरहेको बुर्तिवाङ बजारमा अव्यवस्थित रुपमा भवनहरु निर्माण गरिएकाले कुनैपनि समय यस्ता खाले दुर्घटना हुने खतरा विद्यमान रहेको स्थानीयको भनाई छ । अकस्मात अकल्पनीय रुपमा आईलाग्ने दैवी आपत्तीबाट सुरक्षित रहन बजारवासीलाई यो अग्नीकाण्डले सजग र सतर्क बनाएको छ । आगलागीको यस घटनाले बुर्तिवाङमा वारुण यन्त्र (दमकल) को आवश्यकता महसूस भएको बजारवासीले बताएका छन् ।

यसैवीच ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले निकट भविष्यमै बारुणयन्त्र (दमकल)को व्यवस्थागर्ने बताएका छन् । उनले यसपालीको बजेटमा सम्भव नभएपनि आगामी आवको बजेटमा समावेश गरी बारुणयन्त्र खरीद गर्ने प्रतिवद्धता जनाए ।

स्थानीयका अनुसार आगलागीबाट पूर्ण रुपमानष्ट बनेका दुई घरहरुको क्षेती दुई करोड भन्दा बढी भएको अनुमान गरिएको छ । अकस्मात आगलागी हुँदा घरमा रहेको बन्दोबस्तीका सामानहरु र नगद समेत जोगाउन नसकिएको पीडितले बताएका छन् । प्रहरीले क्षेतीको एकीन विवरण संकलन गरिरहेको बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.