चिसोले ढोरपाटनका विद्यालय बन्द : माघको तेस्रो सातापछि मात्र सन्चालन गरिने !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ पुस १७ । अत्याधिक चिसो बढेपछि ढोरपाटन स्थित विद्यालयहरु बन्द भएका छन् । चिसो बढेपछि पुसको दोस्रो साताबाट यहाँका विद्यालयहरु बन्द भएका हुन् । बन्द गरिएका विद्यालयहरु जाडो घटेपछि माघको तेस्रो सातापछि मात्रै खुल्ने छन् ।

अत्यधिक चिसोले ढोरपाटनका स्थानीयहरु औल अर्थात बेँसी झर्ने र उनीहरुसँगै उनीहरुका बालबच्चा पनि औल झर्ने हुँदा विद्यालय बन्द गर्नुपरेको ज्योती विकास आधारभूत विद्यालयका प्रध्यानाध्यापक चकबहादुर अदैले बताए । पुस १५ बाट बन्द गरिएको विद्यालय माघ २८ मात्र सुचारु हुने उनले बताए । दोस्रो त्रैमासिक परीक्षा सकेर विद्यालय बन्द गरिएको हो । ढोरपाटन क्षेत्रको एक मात्र आधारभुत तहसम्मको पढाई हुने उक्त विद्यालयमा ३४४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

त्यस्तै, ढोरपाटनमै रहेको विलिभर्स इङिलस बोर्डिङ स्कुल पनि माघ २१ गते मात्र खुल्ने भएको छ । अत्यधिक चिसोले पठनपाठनमा समस्या भएपछि विद्यालय बन्द गर्नुपरेको प्रिन्सिपल विकास थापाले ईबागलुङलाई बताए । खासगरी दलित विद्यार्थीहरुको बाहुल्यता रहेको जनबादी प्राथमिक विद्यालय पनि जाडोको कारण बन्द गरिएको छ ।

विद्यार्थीहरुको नियमित अध्ययन कार्यमा रोकावट नआओस भनेर बेँसी झरी पायक पर्ने विद्यालयहरुमा पढ्ने वातावरणको व्यवस्था समेत गरिने प्रध्यानाध्पाक अदैको भनाई थियो । हिउँदको समयमा जाडो विदा गरिएपनि बर्षातको समयमा अन्य स्थानका विद्यालयहरु एक महिनासम्म बन्द हुँदा यहाँका विद्यालयहरु भने सञ्चालनमा आउने उनको भनाई छ ।

साविक बोबाङ गाविसका अधिकांश बासिन्दा र साविक अधिकारीचौरका आंशिक बासिन्दाको मौसमी बसाई हुने गर्दछ । बर्षातको समयमा उनीहरु ढोरपाटन र हिउँदमा समयमा बेसी झर्ने गर्दछन् । उनीहरुको दुवै स्थानमा घर तथा खेतबारी हुने गर्दछ । मौसमी बसाइको कारण पनि उनीहरुको बालबच्चाको नियमित पठनपाठन प्रकृयामा समस्या हुने गरेको ढोरपाटन नगरपालिका—६ का अध्यक्ष जीवनकुमार पुनले बताए ।

पछिल्लो समय भने आवश्यक केही पूर्वाधारहरुको विकास भएपछि हिउँदको समयमा पनि ढोरपाटनमा स्थायी रुपमा बसोबास गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ नेपाली सेनाको गण राखिएपछि पनि ढोरपाटनमा स्थायी रुपमै बस्नेहरुको संख्या बढ्दै गएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.