महिलाहरुले गर्ने अन्य ब्रतहरु भन्दा कठीन ‘श्री स्वस्थानी व्रत’ आज देखी सुरु !

बागलुङ २०७४ पुस १७ । प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने श्री स्वस्थानी व्रत आज सोमबार देखी सुरु भएको छ । १ महिना सम्म गरिने यो ब्रत महिलाहरुले गर्ने अन्य ब्रतहरु भन्दा कठीन ब्रत मानिन्छ ।

आज सवेरै महिलाहरु काली गण्डकी लगायत विभिन्न पवित्र नदी कुण्डहरुमा स्नान गरी शुद्ध भएर यो ब्रतको प्रारम्भ गर्दछन् । पौष शुक्ल पूर्णिमादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत आरम्भ गरिने र एक महिनासम्म मध्याह्नको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा–आराधना गरिने प्रचलन रहेको छ । यस ब्रतमा महिलाहरुले भगवान शिवको पूजा आराधना गर्छन । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ ।

सत्य युगमा भगवान् विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको कुरा पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिएको छ। विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रतमा कथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने बताईन्छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो ।

पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रुपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ ।

पूजा सम्पन्न भएपछि जुन कामनाले व्रत गरिएको हो त्यो पूरा होस् भन्दै अर्घ दिई व्रतको समापन गरिन्छ । समापनका क्रममा अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवम् मौसम अनुसारका फलफूल सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *