हरेकृष्ण अनुयायीको ३५ लाख लगानीमा बागलुङमा ‘गोविन्दाज् रेष्टुराँ’ खुल्यो !

शाकाहारी भोजनले मानिसलाई स्वस्थ र स्वच्छ राख्न मद्दत गर्छ- प्रजिअ पाण्डे

बागलुङ, २०७३ माघ २० । बागलुङ नगरपालिका–२ शिवधाराचोकमा वैदिक प्रकृतिको शाकाहारी रेष्टुराँ खुलेको छ । अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ, बागलुङ शाखाले रेष्टुराँ सञ्चालनमा ल्याएको हो । ३५ लाखको लागतमा बनेको रेष्टुराँको बिहीबार प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले शुभारम्भ गरेका हुन् । ‘गोविन्दाज् (Gobinda’s)शाकाहारी भोजनालय’ नाम दिइएको रेष्टुराँमा बन्ने परिकार लसुन/प्याज मुक्त हुने जनाइएको छ ।

शाखाका अध्यक्ष परमेश्वर अच्युत दासले रेष्टुराँका परिकार शतप्रतिशत शाकाहारी हुने दावी गर्दै रेष्टुराँमा मिष्ठान्न परिकार, एकादशी परिकार, बनस्पती परिकार, नेपाली परिकार, बेकरी, ‘चाईनिज’ र ‘इन्डियन’ परिकार पाइने जानकारी दिए । ‘गोविन्दाज्मा बन्ने सबै परिकार लसुन÷प्याज मुक्त छन्’ अध्यक्ष दासले भने ‘अन्तराष्ट्रियस्तरको सेवा र गुणस्तर उपलब्ध गराउन खोजेका छौं ।’

शाकाहारी भोजनतर्फ मानिसलाई आकर्षित गर्न रेष्टुराँले टेवा पुग्ने विश्वास लिदै वैदिक धर्म र अध्यात्म चिन्तनको प्रवद्र्धन, स्वस्थ मानिस र समाज निर्माणको लागि रेष्टुराँ सञ्चालनमा ल्याइएको अध्यक्ष दासको भनाई थियो । शाखामा आवद्ध हरेकृष्ण अभियानका अनुयायीहरुको लगानीमा रेष्टुराँ खोलिएको हो ।

रेष्टुँरामा आगन्तुक लोभ्याउन अन्तराष्ट्रिय स्तरको साजसज्जा समेत गरिएको छ । रेष्टुराँको उद्घाटनपछि बोल्दै प्रजिअ पाण्डेयले सात्विक भोजनले मानिसलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

‘तामासी भोजनका कारण मानिसको मनस्थिती पनि अर्कै बन्दै गएको छ प्रजिअ पाण्डेले भने, शाकाहारी भोजनालयले मानिसलाई स्वस्थ राख्न स्वच्छ चिन्तन मद्दत गर्छ ।’

उनले वस्तु तथा सेवा प्रदान गर्दा उपभोक्ता हितलाई ख्यालमा रेष्टुराँ सञ्चालकलाई आग्रह समेत गरे ।

रेष्टुराँबाट आएको आम्दानी हरेकृष्ण अभियानको प्रवद्र्धन र सामाजिक कार्यमा खर्च गरिने जनाइएको छ । रेष्टुराँमा स्वेदेशी र विदेशी गरि सय भन्दा बढी प्रकारका परिकारहरु उपलब्ध हुनेछन् ।

हरेकृष्ण अभियानको प्रवद्र्धनका लागि ४ वर्षअघि बागलुङमा स्थापना भएको शाखाले विभिन्न गतिविधिहरु नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *