राष्ट्रिय सहकारी बैंकद्वारा बागलुङका दुई सहकारी सम्मानित
सञ्चार क्षेत्रमा आदर्श र वचत तथा ऋणमा एकतालाई सम्मान

ताराप्रसाद शर्मा, काठमाडौं २०७४ पुष ६ । देशभरका सहकारीहरुको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले प्रदेश नम्बर ४ बाट बागलुङका दुई सहकारीहरुलाई उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मान गरेको छ ।

बैंकको बिहीवार काठमाडौंमा आयोजित १४ औं वार्षिक साधारणसभामा सेवा क्षेत्रका सहकारीहरु मध्येबाट आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र वचत तथा ऋण सहकारीहरु मध्येबाट एकता सहकारी संस्था लिमिटेड बागलुङलाई सम्मान गरिएको हो ।

बैंकको साधारणसभा उद्घाटन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसी र एकता सहकारी संस्थाका अध्यक्ष ध्रुवप्रसाद शर्मालाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नु भएको थियो ।

सूचना र सञ्चारको क्षेत्रमा विगत १२ वर्षदेखि निरन्तर क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थाले सञ्चार क्षेत्रमार्फत राष्ट्रिय सहकारी बैंकको प्रवद्र्धनका साथै सिंगो सहकारी अभियानलाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेकोले यस वर्ष वचत तथा ऋण सहकारी बाहेकका सहकारीहरु मध्ये उक्त संस्थालाई सम्मान गरिएको बैंकका सञ्चालक तथा पुरस्कार छनोट उपसमितिका संयोजक सरिता भट्टराईले जानकारी दिनुभयो । धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले देशभर सञ्चार सहकारी संस्थाहरु स्थापना गरी सञ्चारमाध्यम सञ्चालनमा महत्वपूर्ण योगदान गरेको सो अवसरमा भट्टराईले बताउनु भएको थियो ।

१२ सय जना शेयर सदस्य रहेको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै धौलागिरि टेलिभिजन सञ्चालनमा समेत सहकार्य गरेको छ । संस्थाले सञ्चार सम्बन्धी अन्य विभिन्न कामका साथै सहकारी अभियानलाई प्रभावकारी बनाउन तथा सामाजिक क्षेत्रमा समेत अग्रणी अवस्थामा रहेको छ ।

यस्तै बागलुङ बजारमा वचत तथा ऋणको अगुवा सहकारी संस्थाका रुपमा रहेको एकता सहकारी संस्थालाई वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु मध्येबाट उत्कृष्ट संस्थाको रुपमा सम्मान गरिएको उहाँले बताउनुभयो । बागलुङमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापनापूर्व प्रतिनिधि संस्थाका रुपमा समेत योगदान पु¥याएको एकता सहकारी धौलागिरि क्षेत्रमै वचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु मध्ये अग्रणी संंस्थाका रुपमा रहेको छ ।

बागलुङ बजारमा आफ्नै भवनमार्फत शेयर सदस्यहरुलाई सेवा दिदै आएको एकता सहकारी संस्थामा हाल ८ सय जना शेयर सदस्य, ६ करोड १४ लाख शेयर रकम रहेको छ ।

राष्ट्रिय सहकारी बैंकले देशभरबाट उत्कृष्ट सहकारी संंघ संस्थाहरुलाई उत्कृष्ट सहकारीका रुपमा सम्मान गरेको छ । बैंकले सहकारीता विद्वता पुरस्कार डा.गोविन्दराज जोशी तथा सहकारी बैंक पत्रकारिता पुरस्कार सहकारी खबर डट कमका काजी श्रेष्ठलाई प्रदान गरिएको थियो ।

साधारणसभाको उद्घाटन समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, आएसिएका बोर्ड मेम्मर ओमदेवी मल्ल, नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा.युवराज खतिवडा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षता, सञ्चालक रामबहादुर जिसीको सञ्चालन र सञ्चालक रामहरि बजगाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *