रिघामा ९.८ मेघावाटको दरमखोला जलविद्युत परियोजनाको शिलान्यास !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७३ माघ १९ । रिघा मनेवा दरमखोला जलविद्युत सहकारी संस्थाव्दारा निर्माण गरिन लागेको दरमखोला जलविद्युत परियोजनाको वसन्त पञ्चमीको अवसर पारेर आज शिलान्यास गरिएको छ । बागलुङ जिल्लाको रिघा गाविस ७ मा रहेको परियोजनाको मुहानमा आज पूजा अर्चना सहित नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय पोखराका निर्देशक रामजी भण्डारीले शिलान्यास गरेका हुन् ।

निर्देशक भण्डारीले सो परियोजनाको शिलान्यास गर्दै परियोजनाले नेपालकै विद्युत आपूर्तिमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाका प्रमुख रोहणी पौडेल, इन्जिनियर विकास श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम दरमखोला हाइड्रो इनर्जी कम्पनीका अध्यक्ष नर वहादुर पुन निरजको अध्यक्षता तथा नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

२०७६ साल पुस मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनावाट ९ दशमलव ८ मेगावाट विद्युत उत्पादन हुने परियोजनाले जनाएको छ । करिव २ अर्वको लगानी रहने परियोजनाले ३० प्रतिशत शेयर स्थानिय ६ गाविसका उपभोक्तावाट उठाउने जनाईएको छ । बागलुङको रिघा, काँडेवास, दगातुन्डाडा र पाण्डवखानी तथा गुल्मीको अर्लाङकोट र वामीका उपभोक्तावाट ३० प्रतिशत शेयर लगानी गराउने परियोजनाले जनाएको छ ।

यसअघि रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी संस्था लिमिटेडले बनाउने भनेको आयोजना लगानी जुट्न नसकेपछि दरमखोला हाइड्रो इनर्जी लिमिटेडले जिम्मा लिएको हो ।

परियोजनाको १ सय २९ मिटरको हेडबाट प्रतिसकेन्ड १० हजार ५०० लिटर पानी प्रवाह हुनेछ भने ड्याम र विद्युत्गृहसम्मको पाइपलाइनको दूरी ४ हजार २०० मिटर हुनेछ ।

यस क्षेत्रबाट प्रवासमा रहेका युवाहरुले आयोजना निर्माणको निम्ति आर्थिक संकलन जुटाउन समिति नै बनाएर जुटेका छन् । प्रवासमा आर्थिक संकलन गर्न गैरआवासीय नेपाली संघ युरोपका निवर्तमान युरोप उपसंयोजक सोम सापकोटा संरक्षक रहने गरी जापानमा ब्यबसायी रहेका शालीकराम सापकोटा अन्तराष्ट्रिय आर्थिक संकलन समितिका संयोजक चयन भएका छन्।

त्यस्तै प्रचार प्रसारसहित युवाहरुलाई आर्थिक लगानीमा संलग्न बनाउन भूमिका खेल्ने गरी जापानमै रहेका ब्यबसायी तिर्थनाथ सापकोटालाई प्रचार प्रसार संयोजक तोकिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.