मगर दिवसमा बृहत् साँस्कृतिक कार्यक्रमवीच उपराष्ट्रपति पुनलाई अभिनन्दन गरिने !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ १९ । मगर समाज सेवा केन्द्र बुर्तिबाङले नेपाल मगर संघ जिल्ला कार्यसमिति बागलुङसँगको सहकार्यमा आगामी फागुन १५ गते बृहत सांस्कृतिक कार्यक्रम सहित मगर दिवस मनाउने भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको प्रमुख आतिथ्यतामा मगर दिवस विशेष कार्यक्रम गर्न लागिएको मगर समाज सेवा केन्द्र बुर्तिबाङका अध्यक्ष थमप्रकाश पुनले जानकारी दिए ।

नेपाल मगर संस्था स्थापनाको अवसरमा पारेर प्रत्यक बर्ष फागुन १५ गते मनाईने मगर दिवस यो बर्ष बुर्तिबाङमा उपराष्ट्रपतिको नागरिक अभिनन्दन, विशिष्ट व्यक्तित्वको सम्मान सहित सांस्कृतिक कार्यक्रम गरिने उनले बताए ।

मगर समुदायबाट राज्यको उच्च पदमा पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई नागरिक अभिनन्दन गरिने केन्द्रका उपाध्यक्ष शेरमान घर्ती मगरले जानकारी दिए ।
कार्यक्रममा जनजाती आन्दोलनको अगुवा तथा त्रिभुवन विश्वविद्यालय समाजसाश्त्र विभागका विभागिय प्रमुख डा ओम गुरुङ, बरिष्ठ पत्रकार डा भवानी बराल, नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव उजिर मगर लगायतका विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने आयोजकले बताएका छन् ।

मगर दिवसलाई लक्षित गरी फागुन १० गतेदेखि १५ गतेसम्म ताराखेल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ४० हजार र गोल्ड मेडल तथा द्वितिय हुनेलाई नगद २५ हजार र सिल्भर मेडल प्रदान गरिने छ । कार्यक्रममा कलाकारहरु कुमार पुन मगर, राजु परियार, प्रिती आले मगर, तृसना मगर र हाँस्य कलाकार निर आले मगरको प्रस्तुती रहने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.