राम सुवेदी
बागलुङमा यस पटकको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन दुई पक्ष बामगठबन्धन र नेपाली काँग्रस (लोकतान्त्रिक गठबन्धन)बीच निकै रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
जिल्लामा बामगठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एकढिक्का भएका छन् भने नेपाली काँग्रेसलाई राप्रपाले सघाउने भनेको छ । निर्वाचनमा अरु तीन पार्टीहरु नयाँ शक्ति नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा तथा मसिहा पार्टीबाट समेतका गरि २६ जना उमेदवार चुनावी मैदानमा रहेपनि मुख्य प्रतिस्पर्धा बामगठबन्धन र नेपाली काँग्रस दुई शक्तिबीचनै हुने छ ।
बागलुङका २ पतिनिधि सभा तथा ४्र प्रदेश सभाका उमेदवारहरुमा बामगठबन्धनबाट २/२ सिट वाँडेर आएका छन भने नेपाली काँग्रेसले एक्लै चुनावी मैदानमा उमेदवार खडा गरेको छ ।
मंसिर १० गते हुने निर्वाचनमा बागलुङका १ लाख ६७ हजार २ सय ६२ मतदाताले मतदानमा सहभागीता जनाउँदै छन् । जस मध्ये बागलुङ क्षेत्र नं. १ मा ८६ हजार ७ सय ५७ मतदाता रहेका छन् । त्यस्तै क्षेत्र नं. २ मा ८० हजार ५ सय २६ जना मतदाता छन् । प्रदेश सभा तर्फ क्षेत्र नं. १ को (क) मा कुल मतदाता संख्या ४५ हजार ४ सय २९ तथा प्रदेश (ख) मा ४१ हजार ३ सय २७ जना कुल मतदाता संख्या रहेका छन् । यता निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) मा ४७ हजार २ सय ८६ मतदाता संख्या रहेका छन भने प्रदेश (ख) मा ३३ हजार २ सय ४० मतदाता सख्या छन् ।
गत बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचन पछि जिल्ला भरबाट ११ हजार ५ सय ४७ नयाँ मतदाता थपिएका हुन । यस अघिल्लो जिल्लाको मतदाता संख्या समग्र जिल्लाको १ लाख ५५ हजार ७ सय १५ थियो ।
अब कस्तो प्रतिस्पर्धा होला त ?
हामीले बागलुङको मत सर्वेक्षण गर्दा विगतको तथ्याँक समेतलाई मध्येनजर गर्नु पर्छ । अंक गणितीय आधारमा त्यसलाई मत सर्वेक्षणको एक माध्यम मानिएता पनि जनमत कहाँ कतिखेर कस्लाइ जान्छ भन्ने कुरा पार्टीहरुले मैदानमा ल्याएको उमेदवार, उनीहरुको सामाजिक गतिविधि र जनताको विश्वसनीयतामा फरक फरक हुन सक्छ । तर खास गरि बागलुङमा एकातिर बामगठबन्धनको ध्रुवीकरण र अर्कातिर प्रजातान्त्रिक गठबन्धनको ध्रुवीकरण देखिएकाले जनमतमा स्थानीय मतलाई आधार मानेर विश्लेषण गर्दा खासै फरक हुने देखिदैन ।
विगतको स्थानीय तहमा बागलुङ क्षेत्र न. १ मा जम्मा सदर मत ५२ हजार ४ सय ३२ मध्ये बाम गठबन्धनमा २८ हजार २ सय ९३ मत खसेको निर्वाचन कार्यालयको तथ्याँङकले देखाउँछ । बामपन्थिहरुले यो मत कुल खसेकोे मतको ५३.९६ प्रतिशत हुन्छ । यस्तै प्रजातान्त्रिक गठबन्धन अर्तात नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा २३ हजार १ सय ३९ मत खसालेको छ । यस आधारमा कुल खसेको सदर मतको ४४.१३ प्रतिशत हुन आउँछ । यसमा बामगठबन्धनमा राप्रपाले सहयोग गरेको गठबन्धनको मत अव प्रजातान्त्रिक गठबन्धनमा जोडिने छ भने बरेङ गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनलाई माओवादी केन्द्रले सहयोग गरेको थियो । त्यो मत बाम गठबन्धन तर्फ जोडिने छ ।
यता बागलुङ क्षेत्र न. २ को तथ्याङ्क हेर्ने हो भने पनि स्थानीय तहको निर्वाचनमा बाम गठबन्धनमा कुल ४४ हजार ५ सय ७४ मत खसेको छ । जसमा बामपन्थिहरुले ५९.५४ प्रतिशत मत प्राप्त गरेका देखिन्छ । यस क्षेत्रमा कुल २५ हजार ५ सय ४० मत बामको पोल्टामा खसेको थियो । उता स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ४०.४६ प्रतिशत मत आफ्नो पोल्टामा पारेको छ । काँग्रेसले कुल १८ हजार ३४ मत प्राप्त गरेको निर्वाचन कार्यालयको तथ्याँकले देखाएको छ ।
जिल्लाको प्रतिनिधि सभा सदस्य उमेदवार तर्फ क्षेत्र नं. १ मा एमालेका डा सुर्य पाठक र काँग्रेसका तर्फबाट राज्यमन्त्री चम्पादेवी खड्का चुनावी प्रतिस्पर्धामा रहेका छन् । जहाँ लोकतान्त्रिक गठबन्धनको भन्दा बाम गठबन्धनको मत ५ हजार १ सय ५४ मतले अघि देखिन्छ ।
उता क्षेत्र नं. २ बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेल र लोकतान्त्रिक गठबन्धन तर्फ काँग्रेसका पूर्व सभासद नरबहादुर पुन निरज चुनावी मैदानमा छन् । जहाँ स्थानीय तहको मत तथ्याँक हेर्नेहो भने लोकतान्त्रिक गठबन्धन भन्दा बाम गठबन्धन ५ हजार ५ सय ६ मतले अघि देखिन्छ ।
पछिल्लो थप भएका मतदाता संख्यामा क्षेत्र नं. १ मा ६ हजार ८ सय ३० रहेका छन् । सबै पार्टिबाट यि मतदाताले नाम दर्ता गराएका हुनसक्छन् । क्षेत्र नं. २ मा ४ हजार ७ सय १७ मतदाता नयाँ थपिएका छन् ।
यस्तै क्षेत्र नं. १ को प्रदेश (क) मा बाम गठबन्धन नेकपा एमालेका जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा र काँग्रेसबाट बागलुङ जिल्ला सभापति दिपेन्द्र बहादुर थापा चुनावी मैदानमा रहेका छन् । जहाँ स्थानीय तह निर्वाचन अनुसार बामगठबन्धनको १६ हजार ३ सय ८७ मत तथा काँग्रेसको १२ हजार १ सय २४ मत खसेको देखिन्छ । यो हिसावले बामगठबन्धन ४ हजार २ सय ६३ मतले अघि देखिन्छ । यो प्रदेशमा स्थानीय तहको निर्वाचनमा राप्रपाको मत बामगठबन्धनमा खसेको थियो । अहिले राप्रपाको मत काँग्रेसलाई जाने भएको छ । यस प्रदेशमा नयाँ २ हजार २ सय मतदाता थपिएका छन् ।
यस्तै क्षेत्र नं. १ कै प्रदेश (ख) बाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र काँग्रेसबाट पूर्व साँसद प्रकाश शर्मा पौडेल चुनावी मैदानमा छन् । जहाँ बाम गठबन्धनका तर्फबाट स्थानीय निर्वाचनमा झरेको मत ११ हजार ९ सय ६ छ भने काँग्रेसको ११ हजार १५ मत रहेको छ । यहाँपनि बामपार्टीको मत काँग्रेसको भन्दा ८ सय ९१ मतले मात्र अघि छ । यस प्रदेशमा स्थानीय तहमा माओवादी केन्द्रले काँग्रेसलाई सघाएको थियो । माओवादी केन्द्र बरेङ गाउँपालिकाको मत फेरि बाम गठबन्धनमै जोडिने देखिन्छ । यो प्रदेशमा नयाँ १ हजार २ सय ६८ मतदाता थपिएका छन् ।
यता २ नं. क्षेत्रको प्रदेश (क) मा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका चन्द्र बहादुर बुढा सागर तथा काँग्रेसबाट मञ्जेशवम मल्ल चुनावी मैदानमा रहेका छन् । स्थानीय तह पनर्वाचनमा खसेको मतपरिणाम अनुसार यस प्रदेशमा बाम गठबन्धनमा १५ हजार ८ सय ८ मत खसेको छ भने काँग्रेसले ११ हजार १ सय मत खसालेको छ । यहाँ पनि बाम गठबन्धन ४ हजार ७ सय ८ मतले अघि देखिन्छ । यस प्रदेशमा नयाँ २ हजार ८ सय १३ मतदाता थपिएका छन् ।
पश्चिम बागलुङको प्रदेश (ख) मा पनि बामगठबन्धन र नेपाली काँग्रस बीच निकै रोचक प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको मत परिणम अनुसार यस प्रदेशमा बामगठबन्धनका तर्फबाट १० हजार ७ सय ३२ मत खसेको छ भने काँग्रेसको ६ हजार ९ सय ३४ मत खसेको छ । यहाँ पनि बामगठबन्धनको मत ३ हजार ७ सय ९८ मतले अघि देखिएको छ । तर यस प्रदेशमा काँग्रेसले आफ्नो भिन्ने आँकलन गरेको जनाएको छ । उसका अनुसार स्थानीय तह निर्वाचनमा ढोरपाटन नगरपालिकामा ५ सय मत र निसीखोला गाउँपालिकामा ५ सय मत काटिएको जनाएको छ । ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली नगर प्रमुखमा उमेदवारी दिएपछि काँग्रेसका ५ सय मत काटिएको काँग्रेसको अनुमान हो । उता निसीखोला गाउँपालिकामा काँग्रेस उमेदवार तारानाथ पौडेल विरुद्ध काँग्रेसकै प्रकाश कुवँर बागी उमेदवार थिए उनले ५ सय मत काँग्रेसको कटाएको बताएका छन् । काँग्रेसकै भनाईलाई मान्ने हो भने, गठबन्धनको १० हजार ७ सय ३२ मध्ये १ हजार मत काँग्रेसलाई पर्दा बामगठबन्धनको ९ हजार ७ सय ३२ हुने छ भने स्थानीय तहमा काँग्रेसका तर्फबाट झरेको मत ६ हजार ९ सय ३४ मा १ हजार थप्दा ७ हजार ९ सय ३४ हुन्छ । यसरी पनि गठबन्धनको मत २ हजार ७ सय ९८ ले बढी नै देखिन्छ । यस प्रदेशमा नयाँ ३ हजार २ सय ६६ मतदाता बढेका छन् ।
यसकारण बामपार्टीहरु आफूले स्थानीय तहमा हासिल गरेको मत सुरक्षण गरे मात्र पुग्ने आँकलन गरेका छन् भने नेपाली काँग्रसले त्यो स्थानीय तहमा बामपार्टीले स्थापित गरेको विरासत भत्काउने प्रयत्न गरिरहेको छ । काँग्रेसले बागलुङमा यस अघि २०७० साल यता जित्दै आएको निर्वाचन क्षेत्र हातबाट गुम्छ कि भन्ने चिन्तामा छ भने बाम पार्टीहरु १७ वर्ष अघिको विरासत फर्काउने दाउमा लागेका देखिन्छन् ।
२०७४ मंसिर ७ ।
बागलुङ
लेखक, ईबागलुङका सम्पादक हन् ।