Sorry, that menu does not exist.
 

सहजरुपमा सूचना पाउनुपर्छ – आयुक्त : सूचनाको हक सम्बन्धी ऐन कर्मकाण्डी मात्र – सहभागी

कोपिला कंडेल, बागलुङ २०७४ कात्तिक १२ । राष्ट्रिय सूचना आयोगका आयुक्त यसोधा तिमिल्सिनाले कानुनव्दारा दर्ता भएका सबै सघंसंस्थाले सूचनाको हक सम्बन्धी ऐनको कार्यान्वयन गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय सूचना आयोगले आज बागलुङमा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउन र सुशासन कायम गर्नका लागि सार्वजनिक निकायले समय समयमा कार्यालयका गतिबिधी सार्वजनिक गर्नुपर्नेमा जोड दिईन । सूचनाको हक सम्बन्धी ऐन आम नागरिकका लागि भएकोले सहजरुपमा सूचना पाउने वातावरण सृजना गर्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले जनताको करबाट तलव खाने कर्मचारीले ईमान्दारीपुर्वक नागरिकको सूचना पाउने अधिकारलाई बन्चित गर्न नहुने उल्लेख गर्दै सूचनाको हक सम्बन्धी ऐनलाई प्रभावकारी बनाउनका लागि आफ्नो तर्फबाट सक्दो कोशिस गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका उपसचिव अमृतमान श्रेष्ठ र पत्रकार अमृता लम्सालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि टिप्पणी गर्दै सहभागीले जिल्लामा सुचनाको हक सम्बन्धी ऐन कर्मकाण्डी मात्र भएको भन्दै यसलाई सार्थक बनाउनुपर्ने बताएका थिए । सहभागीले सुचनाको हक सम्बन्धी ऐनलाई प्रभावकारी बनाउनका लागि सबै सरोकारवाला जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा जिल्ला समन्वय समितिका स्थानिय बिकास अधिकारी राम प्रसाद आचार्य, नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरिष र संचारिका समुहका पश्चिमाञ्चल संयोजक जमुना शर्मा बर्षा लगायतले शुभकामना मन्तब्य ब्यक्त दिएका थिए ।

कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, राजनीतिक दल, संचारकर्मी लगायतले सहभागिता जनाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply