सुस्त सुस्त तिम्रै नजिक सरौं जस्तो लाग्यो …

बर्षायामको पानी बनी झरौ जस्तो लाग्यो
जुनले जस्तै प्रकाश छरौ जस्तो लाग्यो

वास्तबिकता होईन यो सबै कुरा काल्पनिक
असम्भब कुरा पनि सम्भब गरौ जस्तो लाग्यो

तिमी बिना एकल यात्री जिन्दगीको गोरेटोमा
सुस्त सुस्त तिम्रै नजिक सरौ जस्तो लाग्यो

एक्लै तर्न खोज्दा डुंगा डुब्यो पिरतीको
तिमी र म प्रेम सागर संगै तरौँ जस्तो लाग्यो

पिपल बिनाको बर जस्तै भए तिमी नहुँदा
बेसाहारा जिन्दगीमा तिम्रै भर परौ जस्तो लाग्यो
***
बेवारिसे जस्तै छु म यहाँ कस्ले चिन्छर मलाई
अनाथ जस्तै छु म कस्ले माया दिन्छर मलाई

यहाँ रुप हुनेलाई चिन्छन, धन हुनेले किन्छन्
म्याद गुज्रिएको जस्तै छु म कस्ले लिन्छर मलाई
***
कुनै एउटा तारा नहुँदा आकासनै खाली हुदो रहेछ
कसरी बिस्वास गर्नु खै यहाँ सबै जाली हुदो रहेछ

अरुको दुखमा पनि ओठमा मुस्कान छाउनेहरुको
मनमा खोट हुनेको आशिर्वाद पनि गाली हुदो रहेछ
***
फूल पनि किन कांडा लाग्छ अचेल
सम्थर पनि किन डांडा लाग्छ अचेल

म बदलिएकी आफ्ना मान्छे बदलिए
आफ्नै पनि किन टाढा लाग्छ अचेल
*** ***
झलक काउचा
बागलुङ
हाल: दक्षिण कोरिया ।
२०७४ कात्तिक ११ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.