निश्चित समयमा संविधान कार्यान्वयन नभए मुलुक व्दन्व्दमा फस्छ : बक्ता

बागलुङ गल्कोट, २०७३ माघ १५ । नागरिक सम्वाद केन्द्रले मल्ममा आयोजना गरेको नागरिक सम्वाद कार्यक्रममा वक्ताले राजनीतिक स्थिरताको लागि संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिदै संविधान कार्यान्वयन नभए मुलुक पुनः द्वन्द्वमा फस्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख वक्ता एवम् केन्द्रका प्रमुख अधिवक्ता राम शर्माले मुलुकलाई स्थिरता र समृद्धितिर लान संविधान कार्यान्वयन अपरिहार्य रहेको बताए । उनले आगामी एक वर्षभित्र तीनै तहको निर्वाचन नभए मुलुक राजनीतिक सङ्कटमा फस्ने धारणा राखेका थिए ।

सोही अवसरमा बोल्दै नेपाल बार एशोसियशन उच्च अदालत बार इकाई बागलुङका अध्यक्ष केशव पराजुलीले संविधान राजनीतिक सहमतिको दस्तावेज भएको उल्लेख गर्दै संविधान कार्यान्वयनको लागि नागरिक दवाव जुरुरी रहेको बताए । ‘लामो सङ्घर्षपछि मुलुकले संविधान पाएको छ, यो एउटा राजनीतिक दस्तावेज हो, यस्ले मुलुकलाई दिशानिर्देश गर्छ’ अध्यक्ष पराजुलीले भने ‘संविधान कार्यान्वयनको लागि नागरिक स्तरबाट दवाव दिनु जरुरी छ, संविधान कार्यान्वयन हुन सकेन भने मुलुक फेरी समस्या पर्छ ।’

बागलुङ बारका पूर्व अध्यक्ष अधिवक्ता राजु गौतमले पनि संविधान कार्यान्वयन हुन नसके प्राप्त उपलब्धी पनि खतरा रहेको धारणा राखेका थिए । उनले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता विषय संविधानमा समेटिनु महत्वपूर्ण उपलब्धी रहेको बताए ।

सो अवसरमा नेपाली काँग्रेस मल्म गाउँ समितिका उप–सभापति हुमबहादुर थापा, नेकपा (एमाले)का जिल्ला कमिटि सदस्य गुञ्जबहादुर थापा, नेकपा (माओवादी केन्द्र)का मल्म गाउँ कमिटि अध्यक्ष छुमबहादुर थापा, राष्ट्रिय जनमोर्चाका दलबहादुर थापा लगाएतले बोलेका थिए ।

सम्वाद कार्यक्रममा सहभागीहरुले संविधानसँग सम्बन्धित विषयमा आफ्ना प्रश्न, जिज्ञासा राखेका थिए । केन्द्रका प्रमुख एवम् शर्माले सहभागीको जिज्ञासा र प्रश्नमाथि सहजीकरण गरेका थिए । उनले संविधानले व्यवस्था गरेका नागरिक अधिकार, सङघीय संरचना, निर्वाचन सम्बन्धी व्यवस्था, महिला अधिकार लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।

केन्द्रले धवलागिरि अञ्चलका चारै जिल्लाका विभिन्न गाविसमा पुगेर नागरिक सम्वाद कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपाल कानुन समाज अन्तर्गतको नागरिक सम्वाद केन्द्र यसअघि संविधान सूचना केन्द्रको रुपमा कार्यरत थियो । करिब एकसय जना सहभागीको बीचमा सम्पन्न भएको कार्यक्रम मल्म गाविसका सचिव महेन्द्र पौडेलको अध्यक्षता, केन्द्रकी अधिकृत सावित्री खड्काको स्वागत मन्तव्य र पत्रकार राम थापा ‘अविरल’को सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.