एक हप्ता भित्र स्थानीय तहको चुनावको मिति घोषणा हुन्छ : प्रधानमन्त्री दाहाल

संविधान संशोधनलाई लिएर एमालेले संसदमा गाईजात्रा देखायो- सांंसद जोशी

महेन्द्र केसी, पर्वत २०७३ माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाखको अन्त्य तिर स्थानीय निकायको निर्वाचन गर्ने गरी यही हप्ता भित्रमा चुनावको मिति घोषणा हुने बताएका छन् ।

पर्वत उद्योग वाणिज्य संघको आयोजनामा विहिबारदेखि शुरु भएको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाचौं पर्वत महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गराउनको लागि १ सय दिनको समय माग गरेकोले बैशाखको अन्तिममा स्थानीय निकायको निर्वाचन हुने गरी राजनीतिक दलहरुविच सहमति भएको बताए ।

यही हप्तामा वैशाखको अन्तिम हप्ता चुनावको मिति तोक्ने गरी सबैलाई आग्रह गर्दै आफु पनि चुनावको तयारीमा जुटेको उनले बताए ।

उनले राजनीतिक दलहरुविच सहमति गरी अगाडि बढ्नुको विकल्प नभएको भन्दै अब चाँडैनै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने मधेश, थारु र तराईलाई पनि विश्वासमा लिएर जानुपर्ने आवश्यकता छ, यदि हामीले यो केही होईन भन्यौं भने नेपाल राष्ट्रको एकता र स्वाधीनताको लागि पनि अप्ठ्यारो स्थिति हुन सक्दछ ।”

उनले भने, उनले तराई प्रदेशलाई नेपालबाट बिखण्डित गर्नको लागि केही तत्वहरुले टाउको उठ्याएको भन्दै आफू उक्त प्रबृतिको नियन्त्रणको लागि राज्यको तर्फबाट कठोर कदम चाल्न सरकारमा गएको बताए । उनले एक दुई राजनीतिक दलले सरकार हल्लाउन खोज्दैमा सरकार नहल्लने बताए ।

कार्यक्रममा प्रचण्डले देशव्यापी रुपमा लोडसेडिङ अन्त्य गर्ने अभियान जारी रहेको बताए । उनले पर्वत जिल्लाको विकासको लागि मात्रै नभइ धौलागिरीको पर्यटनको विकासको लागि महोत्सव महत्वपूर्ण भाको बताए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले कोरला नाका खुल्ने तयारीमा रहेको बताउदै यसले धौलागिरीको पर्यटकीय क्षेत्रलाई ठूलो टेवा पुग्ने बताए । उनले अगाडी भने धौलागिरीको विकासको लागिनै कालीगण्डकी करिडोर निर्माण गरिएको र त्यसले पनि चाँडै पूर्णता पाएपछि धौलागिरीको व्यापारिक केन्द्रका रुपमा पर्वत जिल्ला रहने सम्भावना रहने बताए ।
दहालले मोदी र कालीगण्डकीको शक्तिको सदुपयोग गरेर जिल्लाले ठूलो आम्दानी लिन सक्ने भन्दै अबको नेपाल आर्थिक रुपमा सबल नेपाल हुने बताए । उनले विद्युत क्षेत्रबाटनै युवाहरुलाई रोजगार दिन सक्ने र भारत र चीनमा विद्युत विक्रि गर्न सकेमा आर्थिक रुपमा ठूलो फड्को मार्न सकिने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका सांसद अर्जुनप्रसाद जोशीले स्थानीय तहको निर्वाचन चाँडो हुनुपर्नेमा जोड दिँदै समयमानै स्थानीय तहको निर्वाचनको लागिनै संविधान संशोधनमार्फत सरकार अगाडि बढेता पनि एमालले संसदमा गाइजात्रा देखाएको बताए ।

संविधान सर्वस्वीकार्य बनाउनको लागि सरकारले संविधान संशोधन प्रस्ताब अगाडि सारेको तर एमालले आफूले गरेको सहमतिलाई लत्ताएर बदमासी गरेको बताए ।

नेकपा एमालेका सांसद विकास लम्सालले जिल्लालाई कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउनको लागि योजना तयार भैराखेको र अब चाँडैनै जिल्लामा कृषि क्रान्ति हुने बताए । उनले जिल्लाको विकासको लागि कृषि क्षेत्रमा क्रान्ति गर्नुपर्नेमा जोड दिए । सरकारले अब चाँडो स्थानीय निकायको चुनावको लागि मिति घोषणा गर्नुपर्नेमा उनको पनि जोड थियो ।

सांसद कल्पना चापागाई स्थानीय निकायको चुनावमा जोड दिइन । उनले अस्थीर राजनीतिले देशलाई गन्जा गोलमा पारेको भन्दै अब राजनीतिक निकास खोज्नको लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताइन । महोत्सव माघ २२ गतेसम्म चल्नेछ भने महोत्सवमा विभिन्न कार्यक्रमहरु हुनेछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *