Sorry, that menu does not exist.
 

आगलागी पीडितलाई बहराइन समाजद्वारा खाद्यान्न सहयोग

बागलुङ, २०७४ असोज १६ । आगलागीबाट विस्थापित बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ को एक परिवारलाई सहयोग जुटाउने उदेश्यले आगलागी पीडित राहत संकलन समिति गठन गरिएको छ ।

बुधवार आगलागी भएर विस्थापित भएको साविक लेखानी गाविस वडा नं. ९ कादेश थानापट्टी निवासी ७१ वर्षीया हरिकला जिसीको परिवारलाई तत्काल राहत संकलन र पुनस्र्थापना गर्ने उदेश्यले सहयोग समिति गठन गरिएको हो ।

पीडितको सहयोगका लागि स्थानीय वासीको भेलाले बेलबहादुर जिसीको संयोजकत्वमा ११ सदस्यीय राहत संकलन सहयोग समिति गठन गरेको हो ।

समितिको सचिवमा शेरबहादुर श्रीस, कोषाध्यक्षमा इश्वरी पुन तथा सदस्यहरुमा खगेन्द्र पुन, भक्तबहादुर पुन, कुलबहादुर श्रीस, जुना जि.सी., सन्देश श्रीस, कमला पुन, धनमाया श्रीस र गोविन्द जिसी रहनु भएको छ । सहयोग समितिको सल्लाहकारमा काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका वडा अध्यक्ष चित्रकला छन्त्याल श्रीस, वडा सदस्य चन्द्रकुमार पुन र समाजसेवी नरबहादुर काउचा रहेका छन् ।

सहयोग समितिले आगलागीबाट पीडित परिवारका लागि आर्थिक, भौतिक सहयोग गरिदिन सबैमा अपिल गरेको छ ।

यसैबीच आगलागी पीडितलाई तत्काल सहयोग स्वरुप नेपाली समाज बहराइनले खाद्यान्न सहयोग गरेको छ । समाजले ३ बोरा चामल, १० पोका तेल, ५ केजी दाल, ५ केजी चिनी, १ केजी चिया, १ केजी जिरा र ५ केजी नुन गरी करिब ८ हजार बराबरको सहयोग गरेको संयोजक बेलबहादुर जिसीले जानकारी दिए । चाडपर्वको बेला आगलागीबाट विस्थापित परिवारको पुनस्र्थापनामा सबैको सहयोग हुने अपेक्षा गरिएको वडा अध्यक्ष चित्रकला छन्त्याल श्रीसले बताईन् ।

घरमा विद्युत सर्ट भएर बुधवार राती आगलागी हुदाँ हरिकलाको परिवार विस्थापित बनेको हो । घरमा आगोलागी भएपछि ७१ वर्षीया हरिकला र उनकी गर्भवती बुहारी छिमेकी पदमबहादुर जिसीको घरमा आश्रय लिएर बसेका छन् । आगलागीबाट घरमा रहेको नगद १ लाख ५० हजार, २ तोला सुन सहित १२ लाख बराबरको सम्पत्ती नष्ट भएको पीडितले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply