निसीभूजीका अधिकतम प्रहरी कार्यालय भवनविहीन, कतै भाडा त कतै पौवामा गुजारा चलाउँदै !

राम सुवेदी बुर्तिबाङ २०७३ माघ ११ । बागलुङ जिल्लाको पश्चिम निसीभूजी क्षेत्रका अधिकतम प्रहरी कार्यालयहरु बिद्यालय, सराकारी भवन त कतै व्यक्तिको घर भाडामा लिएर सन्चालन गरिदै आएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङ मातहतमा रहेका ६ वटा प्रहरी कार्यालयहरु ग्वालिचौर प्रहरी चौकी बाहेक अरु सबै केही सरकारी भवनमा आश्रय लिएर कामकाज चलाउँदै आएका छन भने केही भाडामा घर लिएर काम गर्दै आएका छन् ।

ग्वालिचौर प्रहरी कार्यालयले आफ्नै जग्गामा भवन बनाएर आफ्नो काम सुरु गरेको छ । यता बुर्तिबाङमा रहेको इलाका प्रहरी कार्यालयको पनि आफ्नै भवन रहेको छ ।

भिङगीठेमा रहेको इलाका प्रहरी कार्यालय लामो समय यता भिङगीठे माध्यमिक विद्यालयको भवनलाई प्रयोग गर्दै आएको छ । प्रहरी कार्यालय बनाउने स्थानीय सरसल्लाह भएपनि कहाँ बनाउने भन्ने निर्णय गर्न नसकेपछि समस्या भएको हो ।

यस्तै बोहरागाउँको झिवाखोलामा रहेको इलाका प्रहरी कार्यालय पनि लामो समय यता हुलाक कार्यालयको जग्ग तथा भवनलाई प्रयोग गर्दै आएको छ ।
उता निसीमा रहेको प्रहरी चौकी स्थानीयले बनाएको पौवामा व्यवस्थापन गरि गुजरा चलाउँदै आएको छ ।

बोबाङको ढोरपाटनमा राखिएको प्रहरी चौकी सिजन अनुसार जाडो मौषममा बोबाङ र गर्मी मौषममा ढोरपाटनमा रहने गरेको छ । बोबाङमा बस्दा गाउँ विकास समितिको कार्यालय जस्लाई त्यहाँको ज्ञानोदय माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको भवनलाई प्रयोग गर्दै आएको छ भने ढोरपाटनमा बस्दा स्थानीयले बनाइदिएको भवनलाई प्रयोग गर्दै आएको छ ।

उता बोंगादोभानमा रहेको प्रहरी कार्यालय अहिले निजी घरमा मासिक ९ हजार भाडा तिरेर काम चलाउँदै आएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

गत साउन महिनामा आएको बाढीले बोंगादोभान प्रहरी चौकी बगाइदिएपछि निजी घर भाडामा लिएर कार्यालय सन्चालन गरिएको छ । स्थानीय स्तरमा पायक पर्ने स्थानमा जग्गा खोजेर भवन बनाउने तयारी पनि भइरहेको छ ।

भवन निर्माणका लागि बोंगादोभान गाविस कार्यालयले परिषदबाट १० लाख रकम विनियोजन गरेको छ । यस्तै उक्त इलाकामा पर्ने अरु गाविसबाट पनि भवन निर्माणका लागि वजेट विनियोजन गरिएको छ । तमान गाउँ विकास समितिबाट २ लाख खुँगा गाउँ विकास समितिबाट २ लाख ५० हजार तथा खुँखानी गाविसबाट १ लाख गरि कुल १५ लाख ५० हजार उक्त प्रहरी चौकी निर्माणका लागि बजेट विनियोजन भएको छ ।

यसरी आफ्नै भवन नभएपछि स्थानीय स्तरमा शान्ति सुरक्षाको जिम्मेवारी निभाउन विभिन्न कठिनाईहरु आउने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक रानाको भनाई छ । कतिपय स्थानमा आवश्यक अनुसन्धानका लागि ल्याईएका मानिसहरुलाई राख्न अफ्ठेरो हुने अवस्था देखिएको उनले बताए ।

हालै सरुवा भई इलाका प्रहरी कार्यालय बुर्तिबाङ आएपछि आफ्नो मातहतमा रहेका प्रहरी कार्यालयहरुको स्थलगत अनुगमनमा यस्तो अवस्था देखिएको प्रहरी निरीक्षक रानाले बताएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.