माधव अधिकारी, काठमाडौ“ २०७३ माघ १० । काठमाडौँस्थित नागार्जुन नगरपालिका कार्यालयको आयोजनामा आगामी आर्थिक वर्षदेखि लागू हुने एकीकृत सम्पत्ति कर घरधुरी सर्वेक्षणको लगत सङ्कलनका लागि चारदिने सर्वेक्षक तालिम सोमबारदेखि सुरु भएको छ ।
तालिममा एड्भान्स इनोभेटिभ सर्भिसका परामर्शदाता शशिजङ्ग थापाले एकीकृत सम्पत्ति कर सङ्कलनका बारेमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएका छन् । कार्यक्रममा विभिन्न वडामा खटिने १७ जना लगत सङ्कलकको सहभागिता रहेको छ ।
तालिम उद्घाटन शत्रमा बोल्दै नागार्जुन नगरपालिकाका प्रमुुख एवं कार्यकारी अधिकृत जगन्नाथ लामिछानेले नगरको चौतर्फी विकासका लागि एकीकृत सम्पत्ति कर प्रणाली कार्यान्वयनका दिशामा सशक्त र प्रभावकारी ढङ्गले क्रियाशील हुन कर सर्वेक्षकहरुलाई अनुरोध गरे ।
नगरपालिकाद्वारा गठित एकीकृत सम्पत्ति कर कार्यान्वयन कार्यदलका संयोजक मोहन बहादुर बस्नेतले नगरपालिकाको समुन्नति करको कार्यान्वयनमा निर्भर रहने बताउँदै कर सर्वेक्षणको जिम्मेवारी इमान्दारितापूर्वक वहन गर्न सहभागीहरुलाई आग्रह गरे ।उद्घाटन शत्रको सञ्चालन नगरपालिकाका राजश्व शाखा प्रमुख राजेन्द्र प्रसाद गौतमले गरेका थिए ।
समारोहमा नगरपालिकाका सूचना अधिकारी सिद्धार्थ श्रेष्ठ,आलेप अधिकारी सञ्जित केसी,जिन्सी शाखा प्रमुख ईश्वरी लामिछाने,सागर खत्री लगायतको उपस्थिति रहेको थियो ।