त्यसो त त्यो, बुर्तिवाङ स्थित महिला समन्वय समितिव्दारा महिलाहरुका लागि आयोजना गरिएको तीन महिने सिलाई कटाई तालिम थियो, तर तालिमको उद्घाटन कार्यक्रममा ढोरपाटन नगरपालिका- १ साविक बुर्तिवाङ गाविसका ९ वडाका महिला सहभागीहरुलाई वितरण गरिएको स्ट्रेचर (रोगी ड़ोला) को छुट्टै महत्व छ ।
गर्भवती महिला लगायत अन्य विरामीहरुलाई सहज रुपमा स्वास्थ्य संस्थामा लैजान सहयोग पुगोस भन्ने उद्देश्यले समितिले तालिममा सहभागी महिलाहरुलाई आईतबार २५ वटा स्ट्रेचर वितरण गरेको हो ।
विशेष गरि ग्रामिण क्षेत्रका गर्भवती महिलाहरु स्ट्रेचरकै अभावका कारण घरमा नै सुत्केरी हुने विद्यमान अबस्थालाई मध्यनजर गरी आवश्यकता रहेका ठाँउहरुको अध्ययन गरि स्ट्रेचर वितरण गरिएको बुर्तिबाङ महिला समितिकी संयोजक दिलमायाँ पौवीले बताईन् ।
स्मरणीय के छ भने, केहि दिन पहिले घरमै सुत्केरी भएकी एक महिलाको समयमै उपचार नपाउँदा ज्यान गुमाउनु परेको भरखरको घटनाकावीच यसरी स्ट्रेचर वितरण गरिनुलाई सकारात्म मानिएको छ ।
महिला समन्वय समितिले अघिल्लो वर्ष पनि गाविस परिषदबाट (लक्षित वर्ग) महिला तर्फ विनियोजित रकमले १८ वटा स्ट्रेचर वितरण गरेको थियो । अघिल्लो बर्ष वितरण गरिएको स्ट्रेचरले साविक गाविस स्तरमा रहेका ९ वटै वडाका सवै टोलटोलमा नपुग भएको कारण नपुग भएका र आवश्यकता देखिएका स्थानमा थप २५ वटा स्ट्रेचर वितरण गरिएको संयोजक पौवीको भनाई छ ।
स्ट्रेचर वितरण पश्चात विरामीहरुलाई समयमै अस्पतालमा पु-याउन नसक्दा अकालमानै ज्यान गुमाउनु पर्ने अवस्थामा कमी आउने समितिले आशा लिएको छ । विशेष गरि साविक गाविस स्तरमा घरमै सुत्केरी गराउने महिलाहरुको संख्यामा कमी आउने आशामा रहेको बुर्तिबाङ महिला समन्वय समितिकी सदस्य दुर्गा देवी घर्ती मगरले बताईन् ।
सुत्केरी व्यथा लागेपछी महिलालाई स्ट्रेचरमा स्वास्थ्य केन्द्र ल्याउन र गर्भावस्थामा समेत महिलाहरुलाई स्वास्थ्य केन्द्रमा नियमित स्वास्थ्य परीक्षण गराउन उत्प्रेरित गर्नु आवश्यक रहेको छ । गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्य केन्द्रमा आएर सुत्केरी गराउदा आमा र बच्चाको ज्यानको खतरा नहुने जनचेतना गाउँ गाउँमा फैलाउनु जरुरी रहेको छ ।
प्रस्तुति: सुमन सुनार,
बुर्तिवाङ, ढोनपा ।
२०७४ असोज २ ।