भोक्सिङमा दश करोड कमाउने लक्ष सहित दुई करोड लगानीमा अलैंची खेती !

माधब पराजुली पर्वत २०७३ माघ ८ । पर्वत भोक्सिङका नारायण गुरुङले बाँझो जमिनमा अलैंची रोपेर हरियाली बनाएका छन् । पछिल्लो समय अलैंची खेतीप्रति बढ्दो आकर्षणका बीच गुरुङले २ करोड लगानी गरेर दीर्घकालीनरुपमा अलैंची खेती गर्ने लक्ष्य लिएका हनु् ।

दुई वर्ष अघि कास्कीको ल्वाङ–घलेङबाट २० रुपैयाँ प्रतिगोटा विरुवा ल्याएर एकैचोटी २ हजार ५ सयवटा विरुवा रोपेर अलैंची खेती शुरु गरेका नारायण गुरुङले यो खेतीमा ठूलो लगानी गरिसकेका छन् । झण्डै १० वर्ष बैदेशिक रोजगारीका लागि कोरियामा बिताएर फर्किएका उनले अब भने आफ्नै ठाउँमा केही गर्ने सोचले त्यो कमाएको सबै लगानी गरेका बताए ।
उनका अनुसार अलैंचीका विरुवा निकै फस्टाएका पनि छन् । एक बर्षमा ३० मेट्रिक टन अलैंची उत्पादन गरेर १० करोड भन्दा बढी आम्दानी गर्ने लक्ष्य छ ।
उनले भने, यस ठाउँमा अलैँचीको विकास गरी उत्पादित अलैँचीलाई अन्तराष्ट्रिय स्तरमा बिक्री गर्ने योजना छ ।

उनको यस प्रयासमा जिल्ला कृषि बिकास कार्यालयले सहुलियतमा विरुवा खरिद, अनुदानमा मेसिन, भट्टी निर्माण तथा समय–समयमा तालिम र परामर्श दिँदै आएको छ । कार्यालयले त्यो ठाउँलाई पकेट क्षेत्र मात्र नभई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ब्लक क्षेत्रको रुपमा विकास गर्ने तयारी गरिरहेको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए ।

जिल्ला कृषि बिकास कार्यालयका अनुसार जिल्लामा व्यवसायीक अलैँची खेती गर्ने भोक्सिङ गाबिस पहिलो हो । आगामी वर्ष भने करिब २० लाख अलैंचीका विरुवा उत्पादन गरि सम्भाबित क्षेत्रमा अलैँचीको खेती गर्ने जिल्ला कृषि बिकास कार्यालयको लक्ष्य छ । यसले गर्दा अलैंची खेतीप्रतिको आकर्षण पनि बढ्दो छ भने गुरुङको लगानी र अलैंची खेतीले धेरैलाई लोभ्याए पछि धानखेती गर्ने जग्गामा पनि अलैंची लगाउनेहरु बढ्दैछन् ।

भोक्सिङ गाउँमा ब्यक्तिगत र सामुहिक रुपमा अलैंची खेती लगाउने क्रम बढ्दो छ । भोक्सिङ बहुउद्देश्य समुहले सामुहिक रुपमा अलैंची खेती गरेको र यसलाई कृषि विकास कार्यालयले पनि सघाएको छ ।

करिब ८ सयदेखि १७ सय मिटर उचाइमा हुने अलैंची खेती गर्मी र जाडोमा हुने दुईथरीका हुन्छन् । पर्वतका त्यसै खेर गईरहेका भुभागमा तथा ओसिलो ठाउँमा अलैंची खेती विस्तार गर्ने कृषि कार्यालयको योजना छ । अलैंची प्रति किलो रु.१ हजार ८ सयदेखि २ हजार १ सय सम्म विक्री भईरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.