Sorry, that menu does not exist.
 

जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेशिन ?

बुर्तिवाङमा अल्ट्रासाउण्ड गर्दा मृगौलामा ढुंगा देखिने पोखरा/काठमाडौँमा गर्दा नदेखिने किन ?

बुर्तिवाङ २०७४ भदौ ४ । बागलुङ जिल्लाको सदरमुकाममा मात्रै नभएर ठाउँठाउँमा सरकारी एवं निजीस्तरबाट स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र र अस्पताल (हस्पिटल) रिचर्स सेन्टर संचालित छन् । सरकारीस्तरबाट सन्चालित स्वास्थ्य निकायहरुबाट प्रवाह गरिने सेवा सुविधाहरुका बारेमा प्रचार प्रसार गरी जनतालाई सुसूचित गर्ने त्यत्ति चलन नभएपनि निजीस्तरबाट खोलिएका अस्पताल (हस्पिटल), रिसर्च सेन्टर र औषधि पसलेहरु समेतले भने त्यहाँ उपलव्ध हुने सेवा, सुविधाहरुका सम्वन्धमा बढाईचढाई व्यापक प्रचार प्रसार गरिरहेका छन् ।

यस्तै बुर्तिवाङका एफएम रेडियोहरुबाट प्रसार गरिने एक अस्पतलालको विज्ञापनलाई सुनेर विश्वास गर्ने हो भने यहाँका विरामीहरु बाहिरी देश जाने कुरा छोडौँ, अमेरिकाका रोगीहरु पनि निदानका लागि यहाँ उपचार गर्न आएहुन्छ भन्ने भ्रममा नपरिएला भन्न सकिन्न ।

अर्कोतिर महंगो उपचारका कारण सर्वसाधारणको ढाडै भाँचिएको छ । सय रुपयाँको औषधिले निको हुने रोग हजारौँ रुपयाँको औषधि प्रेस्क्राइव (भिडाउने)गरिन्छ । त्यतिमात्र होईन, खुट्टाको उपचार गर्न गएको बिरामीलाई अल्ट्रासाउण्ड गर्न लगाईन्छ । बुर्तिवाङमा सन्चालित स्वास्थ्य संस्थाहरुमाथी पछिल्लो समय यस्तै आरोप लाग्न थालेको छ ।

यहि २०७४ असार १ गते पेट दुखेर बुर्तिवाङ उत्तरगंगा अस्पताल प्रालिमा जचाउन पुगेका बुर्तिवाङ स्थित सामुदायिक रेडियो परिवर्तनका अध्यक्ष एवं पत्रकार ३४ वर्षिय लोकेन्द्र निरासीलाई त्यस अस्पतालका विशेषज्ञ डाक्टर अशोकचन्द्र श्रेष्ठले अल्ट्रासाउण्ड गरे । उनले निराशीका दुबै मृगोलामा दुई दुई वटा ढुंगा भएको बताउदै त्यस्को साईज पनि लेखे । दाहिने मृगौलामा ४ एमएम र ३ एमएमका र देब्रे मृगौलामा ३ एमएम र २ एमएमका दुई टुक्रा ढुंगा भएको भन्दै औषधि लखेर दिए ।

पत्रकार निरासी भन्छन्. ‘साउन २२ गते सम्म औषधि प्रयोग गरिरहेँ तर ‘दशको नौ’ नभएपछी बुर्तिवाङ स्वास्थ्य केन्द्रमा जचाउन पुगें । केन्द्रका डाक्टर सुनिल कुमार जयसवालले पनि भीडीयो एक्सरे गरे । त्यहाँको परीक्षणको रिपोर्टमा दुबै मृगौलामा दुई नभै एक एक ढुंगा भएको र त्यस्को साईज दाहिनेको ५ र देब्रेको ६ एमएम देखिएपछी म मानसिकरुपमा तनावग्रस्त बनेँ ।’

‘डेढ महिना भित्रै ढुंगाको साईज दोब्बर बढेको रिपोर्ट आएपछी म निरासीमात्र नभएर अरु जो पनि तनावमा परेर निरास हुनु पर्ने अवस्था हुन्छ ।’

‘त्यसपछी के गर्नु भयो त ?’

तुरुन्तै पोखरा फेवासिटी अस्पतालमा पुगेर मृगौला परीक्षण गराएँ ।

कस्तो आयो त रिपोर्ट ?

‘त्यहाँको परीक्षण रिपोर्टमा मृगौलामा स्टोन देखिएन । डाक्टर साहेवहरुले दुबै मृगौला राम्रो रहेको बताउनु भयो ।’

त्यसपछी ?

‘बुर्तिवाङमा दुई ठाउँमा अल्ट्रासाउण्ड गर्दा मृगौलामा ढुंगा देखियो, यहाँ देखिएन, म कसरी विश्वस्त बनौँत’ भन्दा मृगौला परीक्षण गर्ने अहिले अर्को प्रविधी IVU RADIOLOGY पनि छ तपाईँलाई शंका छ भने त्यो पनि परीक्षण गरेर ढुक्क भएर जानुस भनेर डाक्टरहरुले भने पछी त्यो पनि गराएँ, रिपोर्ट राम्रो आयो । ग्यास्टिकले पेट दुखेको रहेछ त्यस्को उपचार गरी अहिले बुर्तिवाङमा फर्किएको छु । हेर्नुहोस बुर्तिवाङमा गरेको अल्ट्रासाउण्ड रिपोर्ट र फेवासिटी पोखरामा गरेको रिपोर्ट…’

अहिले तपाई के फिलिङ गरिरहनु भएको छ त भन्ने प्रश्नमा निरासीको जवाफ थियो पैँतिस/चालिस हजार खर्च भएको भन्दा पनि बुर्तिवाङको रिपोर्टले मानसिक तनाव दियो । मजस्ता कति विरामीहरु गलत डायग्नोशिसको मारमा परेर अज्ञानतवस जीवनसंग खेलबाड गरिरहे होलान भन्ने चिन्ता लागि रहेको छ ।

निरासी मात्रै नभएर गत २०७३ साल जेठ महिनामा बुर्तिवाङ उत्तरगंगा अस्पतालमा पेट दुखेर उपचार गर्न पुगेकी खुंगाकी १६ वर्षिया पुनम सुनारको अल्ट्रासाउण्ड गरेर मृगौलामा ढुंगा छ भनि औषधि खुवाईएको थियो । तर उनलाई निको हुनुको साटो झनै च्याप्न थालेपछी उनी पोखराको फेवासिटीमा देखाउदा मृगौलामा ढुंगा छैन भनेको र त्यसपछी काठमाडौ शिक्षण अस्पतालमा गएर देखाउदा मृगौलाको समस्या नभै अन्य कारणले पेट दुखेका पत्ता लगाएर औषधि खाएपछी निको भएको थियो ।

यी त प्रकाशमा आएका दुई उदाहरण मात्र हुन् । यी दुई घटनाहरुबाटै अनुमान गर्न सकिन्छ निसीभूजीका सिधासाधा जनताहरु उपचारका नाममा कति शोषित पीडित बनेका होलान ।

हेरौँ निरासीको मृगौला परीक्षणको रिपोर्ट


यो रिपोर्ट हो बुर्तिवाङ उत्तरगंगा हस्पिटल प्रालिको ।

यो रिपोर्ट हो बुर्तिवाङ स्वास्थ्य केन्द्रको ।

यो रिपोर्ट हो फेवासिटी अस्पताल पोखराको ।

प्रश्न उठ्छ के बुर्तिवाङ उत्तरगंगा अस्पताल र बुर्तिवाङ स्वास्थ्य केन्द्रमा रहेका दुबै अल्ट्रासाउण्ड मेशिनले मृगौलामा ढुंगामात्र देखाउछ ? त्यसो होईन भने, फेवासिटी अस्पतालको मेशिनमा किन देखिएन ? विषय गम्भीर छ, यस्को अनुसन्धान (जाँच) गरिनु पर्छ । मानव जीवनसंग खेलबाड गर्ने स्वास्थ्य संस्था र त्यस्मा कार्यरत स्वास्थ्यकर्मीमाथी छानविन गरी यस्को सहि निराकरण हुनु जरुरी छ । जनताको स्वास्थ्यमाथि भैरहेको चरम लापर्बाही शोषण प्रति जनप्रतिनिधीहरु र प्रशासनिक निकाय टुलुटुलु हेरेर बस्न हुन्न भन्दै स्थानीयवासीले कार्बाहीको माग गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments

Leave a Reply