प्लानको असहयोगले कम्प्यूटर इञ्जिनियरिङ पढ्ने वहिरा बिद्यार्थीको पढाई अन्यौलमा !

यहाँका एक दुइ जनाले भन्दैमा सहयोग आउन सक्दैन- प्रवन्धक आचार्य

बागलुङ २०७३ माघ ६ । फरक क्षमता भएका र दलित सशक्तिकरणको क्षेत्रमा लामो समय देखी सहयोग गर्दै आएको प्लान नेपालले धवलागिरी बहिरा विद्यालयलाई दिँदै आएको सहयोग सम्झौता अवधि सकिएको भन्दै रोके पछि इञ्जिनियरिङ तर्फ अध्यापनरत शिक्षकहरुको तलब व्यवस्थापनमा समस्या उत्पन्न भएको छ भने कम्प्युटर इन्जिनियरिङ तर्फको पढाइमा अन्यौलता सिर्जना भएको छ ।

स्मरणीय छ, गत भदौ महिना देखी यस बहिरा आवासीय विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत तीनवर्षे डिप्लोमा इन कम्प्युटर इञ्जिनीयरिङ विषयको पढाइ शुरू गरिएको थियो ।

बुधवार पत्रकार सम्मेलन गरी बिद्यालयका संस्थापक केबी रानामगरले प्लान नेपालले सहयोग नगर्ने पत्राचार पठाएकोमा तीब्र असन्तुष्टी जाहेर गर्दै अन्तरराष्ट्रिय गैह्र सरकारी संस्थाले अपहेलना गरेको आरोप लगाए । उनले सहयोगलाई जारी राख्न शिक्षा विभागले गरेको आग्रहलाइ समेत प्लान इन्टरनेशनलले बेवास्ता गरेको वताए ।

संस्थापक रानामगरले पत्रकारबीच भने ‘प्लानले बैठक पनि डाकेन, छलफल पनि गरेन, चिठी पठाएर सहयोग गर्दैनौं भन्यो, राज्यको नीति नमान्ने संस्था किन चाहियो ? सबैलाइ शिक्षा कार्यक्रमको समेत उपहास भएको छ, त्यसको मार अपाङ्गता भएका बालबालिकामा परेको छ ।’

बिद्यालयका प्रधानाध्यापक मधुसुदन न्युरेले विद्यालयका शिक्षक, संस्थापक र वहिरा विद्यार्थीहरुले सहयोगको ६ महिनाको अवधि थप गर्न माग गरेको बताउदै ६ महिना पछि नेपाल सरकारले नै सबैलाई तलब भत्ताको व्यवस्थापन गर्नेे स्पष्ट पारेका थिए ।

गत कात्तिक २९ गते शिक्षा विभागले प्लान इन्टरनेशनललाई चिठी लेखेर बिराट बहिरा विद्यालय र धौलागिरी बहिरा विद्यालयलाई उपलब्ध गराउँदै आएको सहयोग मध्ये १ प्रशिक्षक, एक सहायक प्रशिक्षक र एक दोभाषेको तलब तथा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेको थियो । उक्त आग्रह पछि गत महिना प्लानले विभागलाइ चिठी लेखेर सहयोग दिन नसकिने बताएको हो ।

उक्त बोधार्थ पत्र आएपछि विद्यालयमा कार्यरत इन्जिनियर, कम्प्युटर प्रशिक्षक र दोभाषेलाइ तलब खुवाउन समस्या परेको प्रधानाध्यापक न्युरेले बताए ।

प्लानले गरेको सम्झौता डिसेम्बरमा सकिन लागेकोले विभागले तीन महिना अघिनै पत्र पठाएको थियो । ‘सरकारले पनि नहेर्ने, प्लानले पनि नहेर्ने ? गरिव परिवारका अपांग बालबालिका पढ्ने विद्यालय भएकोले अभिभावकले पनि सहयोग गर्न नसक्ने उनले बताए ।

बिद्यालयका शिक्षक शिव कंडेलले तलब नपाएपनि यो शैक्षिक शत्र सम्म पढाउन छोड्दिन भन्दै ‘विद्यार्थीको भविष्य र आसन्न परिक्षालाइ हेरेर साउन सम्म पढाइलाई निरन्तरता दिने बताए ।

‘चितवन देखि घर छाडेर आएर पढाएका छौं, तलब नहुँदा निकै कठिन हुन्छ, तर पनि बालबालिकाको भविष्य प्रति दायित्वबोध गरेका छौं ।’ अर्का शिक्षक सन्तोष पौडेलको भनाई थियो ।
विद्यालयमा गठित बहिरा बाल क्लबका अध्यक्ष बासु थकालीले अभिभावकको समस्या भएकै कारण आएर पढेकाले सहयोग नपाएमा स्वभाविक रुपमा पढाइमा असर पर्ने बताए ।

सहयोग रोकिएको बारेमा प्लान इन्टरनेशनल नेपाल बागलुङ क्षेत्रीय कार्यालयकी प्रवन्धक नितु आचार्यले केन्द्रीय रुपमा भएको सम्झौता सकिएकाले सहयोग गर्न नसकिएको स्पष्ट पार्दै अन्तराष्ट्रिय संस्था भएकोले यहाँका एक दुइ जनाले भन्दैमा सहयोग आउन नसक्ने बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.