स्थानिय निकाय जनप्रतिनिधि विहीन हुँदा विकास, निर्माण, सुशासन अवरुद्ध-सांसद जोशी

स्थानीय नेताहरुको अन्तरद्वन्द्वले ३ नं क्षेत्रमा काँग्रेसको संगठन कमजोर : सहभागी वक्ता

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ माघ ६ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बागलुङको आयोजनामा वुधबार बुर्तिबाङमा भएको क्षेत्रियस्तरको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी कार्यकर्ताहरुले ३ नं क्षेत्रमा स्थानीय नेताहरुवीचको अन्तरद्वन्द्व, सांसद र क्षेत्रीय सभापतिवीचको बिबाद, पार्टी कार्यकर्तामा देखिएको अनुशासनहीनताका विषयमा खुलेरै आफनो बिचार प्रस्तुत गरेका छन् ।

कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक सांसद अर्जुनप्रसाद जोशीले मनमुटावलाई विर्सेर स्थानिय स्तरमा पार्टीलाई एक ढिक्का बनाएर संगठन सुधार गर्दै निर्वाचनका लागि तयार रहन आग्रह गरे ।

संविधान कार्यान्वयनको लागि निर्वाचन अनिवार्य रहेको भन्दै नेता जोशीले राजनितिक सहमती भएसम्म नयाँ संरचना अनुसार नै स्थानिय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

मधेश लगातका क्षेत्रमा भएको असन्तुष्टिको कारण नयाँ संरचनाको निर्वाचनमा सहमती नभएपनि स्थानिय निर्वाचन रोक्न नहुने उनको भनाई थियो । साँसद जोशीले लामो समयसम्म स्थानिय निकाय जनप्रतिनिधि विहिन हुँदा विकास निर्माण, सुशासन जस्ता कुरा अबरुद्ध हुन पुगेको बताए ।

अन्तरक्रिया कार्यक्रममा उनले पार्टीको पछिल्लो निर्णय र कार्ययोजना तथा जिल्ला, गाउँ, नगर हुँदै वडामा पार्टीको अवस्था र गतिविधिका बारेमा बास्तविक अवस्थाको रिपोर्ट संकलन लगायतको बारेमा जानकारी गराएका थिए । उनले जिल्ला सभापती दिपेन्द्र थापाले विगत २० बर्षदेखि स्थानिय निकाय जनप्रतिनिधि विहिन हुँदा तल्लो तहमा लोकतन्त्रको अभ्यास हुन नसकेको भन्दै कुनैपनि बाहनामा जनप्रतिनिधिको निर्वाचन रोक्न नहुने तर्क प्रस्तुत गरेका थिए ।

कार्याक्रममा निर्वाचन क्षेत्र नम्बर–३ का २० गाविसका सभापती तथा गाविस प्रतिनिधि र भातृसंगठन तरुण दल, नेविसं, नेपाल महिला संघका प्रतिनिधिले आफ्नो गाविसको बारेमा रिपोर्टिङ गरेका थिए ।

अधिकारीचौरका हिमनाथ कुँवर मधुले आफ्नो गाविसमा बाढी पहिरोले ठुलो क्षेती पुगेपनि बाढि पहिरो प्रभावित क्षेत्र घोषित हुन नसकेको गुनासो गर्दै पार्टीमा ब्यक्तिबादी शैली बढेको भन्दै त्यसको अन्त्य गर्न माग माग गरेका थिए ।

तमानका सभापती झकबहादुर बुढाले निर्वाचन क्षेत्र नम्बर–३ मा नेतृत्व विचमा भएका अन्तरद्वन्द्वका कारण संगठन कमजोर भएको भन्दै त्यसको अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए । सांसाद र क्षेत्रीय सभापती विचको विवादले संगठन कमजोर भएको उनको भनाई थियो ।

भिमगिठेका सभापती कृष्ण गुरुङले पार्टी ब्यवस्थापनमा अनुशासन हराउँदै गएको भन्दै पार्टी संरचना राम्रो र बलियो बनाउन गाउँ तथा वडा तहसम्म अनुशासन र गोपनियता कायम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम पार्र्टीजिल्ला सभापती दिपेन्द्र थापाको अध्यक्षता, जिल्ला सदस्य तथा ईलाका संयोजक गण्डकी थापा अधिकारीको स्वागत र जिल्ला सचिव नबराज पौडेलको सञ्चालनमा जारी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.