माघी विशेष : देविस्थान लेवाङको होरे नाँच भित्र लुकेको संस्कृति र परम्परा !

राम सुवेदी

माघे सक्रान्ति, मकर सक्रान्ति, माघी आदि नामले पुकारिने नेपालीहरुको साझा पर्वलाई मगर, छन्त्याल, लगायत जनजाति समुदायले राष्ट्रिय पर्वको रुपमा मनाउने गर्छन् । बागलुङ जिल्लाको पश्चिम निसीभूजी क्षेत्रका जनजातिहरुमा माघे सक्रान्ति पर्वलाई विशेष महत्वकारुपमा लिईन्छ । यस पर्वलाई यस क्षेत्रका गाविसहरुमा आआफनै ढंग र परम्परागतरुपमा मनाईदै आएको छ ।

यस माघे सक्रान्ति पर्वका अवसरमा पश्चिम देविस्थानमा रहेका जनजाति समुदायमा होरे नाच्ने एक फरक संस्कृति र परम्परा छ । यसलाई संस्कार , संस्कृति र परम्पराको भिन्न रुपले हेर्न आवश्यक छ ।

सालाना माघे सक्रान्तिको अवसरमा आयोजना गरिने स्थानी जनजाति समुदायको राष्ट्रिय पर्व होरे मेला यस वर्ष गोर्खा ब्वायज युवा क्लबको अग्रसरतामा देविस्थानको लेवाङमा उद्घाटन गरिएको छ ।

देविस्थानको लेवाङमा होरे नाँच (मेला) हेर्न आएका स्थानीय युवतीहरु ।
‘होरे भन होरे, सेगै सेगै सेगै’……. सबैको हातमा लौरो र ढ्याङ्रो छ, अघि अघि कालो मोसो र कमेरो दलेको एक जनाले लाठीको टुप्पोमा घण्टी झुण्ड्याएको छ, पछि पछि वाजा बजाउनेहरुले ढ्याङरोको तालमा बजाएकाछन् अनी होरे भननेहरुले ‘होरे भन होरे सेगै सेगै सेगै’……. भन्दै विभिन्न अपशब्दमा भट्याएका छन । नाच्दै गाउँको बीचबाट तल तिर झरिरहेका छन् । अपशब्दहरु जे जति बोले पनि मेला हेर्न महिला पुरुष, वृध, वृधा ,युवा तन्नेरी तरुनी सबैको जमघट बाक्लै देखिन्छ ।

झट्ट हेर्दा देख्ने र सुन्नेलाई यस्तो पनि संस्कृति र परम्परा होला भने जस्तो लाग्ने अचम्मको संस्कृति धानेका छन् देविस्थान गाउँ विकास समिति वडा नं.३ र४ का स्थानीय जनजाति समुदायले । करिव २०÷२५ जना युवा तथा पाका मान्छेहरु समेत सहभगी भई बाजा बजाउने, ढ्याङग्रो बजाउने गरि समुहमा होरे भट्याईन्छ ।

नेपाली संस्कृतिमा अली अपशब्दहरुको प्रयोग बढी हुने भएकाले पनि यो संस्कृतिलाई पहिलो पटक देख्नेलाई अवश्य नौला लाग्ने छ । होरेमा सम्ह मध्यको एक जनालाई जोगी बनाईन्छ । जोगिलाई अनुहार भरि कालो मोसो, कमेरो दलिदिने, लौरोमा घण्टी वाँधेर होरे टोलीको सबै भन्दा अघि लगाईने होरेको परम्परा हो ।

केही पाका तथा अद्य बैंसे देखि केटाकेटीहरु समेतले होरे भट्टयाउने होरे मा विषेश गरि नराम्रा शब्दहरु बोलिने भएकाले यो एक परम्परा र रुढीबादी संस्कृति र स्थानीयको परम्ँपरा हो । यसो गर्दा पानी पर्छ भन्ने उनीहरुको विश्वास छ । त्यत्ति मात्र होईन होरे गाईन वा नाचिएन भने गाउँमा अनष्ट हुन्छ भन्ने त्यहाँका बुढा पाकाको भनाई छ ।

होरे त्यस स्थानको एक फरक चिनारी पनि हो । यस्तो परम्परा बागलुङ जिल्लाकोे निसीमा पनि छ । तर त्यहाँको रिति परम्परा भन्दा यहाँको परम्परा अली फरक छ । यस्तो परम्परा र संस्कृति कहिले देखि कस्ले सुरु ग¥यो भन्ने विषय त्यहीका पुराना मान्छेहरुलाई समेत हेक्का छैन । करिव ९० वर्षको हाराहारीमा उमेर नाघेका पाका मान्छेहरुलाई बुझ्दा पनि आफूले थाहा पाउँदा यस्तै देख्ने र होरे मनाइने गरिएको पाकाहरुको भनाई छ । एक स्थानीय याम बहादुर पुनका अनुसार आफूले यहाँ मनाईने होरे पर्व २००७ साल देख्दै र सहभागी हुँदै आएको बताउँछन् ।

त्यस्तै स्थानीय वृध र पाका पुराना मध्यका स्थानीइ खलबहादुर बढा मेलासँग जोडिएको अरु अनौठा कहानी सिन छन् । पुराना कुरा संझेर उनी भन्छन् ‘पहिले पहिले त्यहाँ विभिन्न स्थानबाट तरुनी चतन्नेरीहरु जम्मा हुने गर्दथे, १५÷२० ठाउँमा बारिका काल्नै पिच्छे टोली टोली बनाएर झाम्रे गाईन्थ्यो, मन परेका तरुनी तन्नेरीहरु त्यहीबाट घरजम समेत गर्दथे । यसरी घरजम् गरेकाहरुले अहिले छोरा छोरी नाति नातिना र पनाति सम्मको सन्तति देखियो ।’ तर आजकल यो परम्परा हराउँदै गएको उनको भनाई छ ।

पहिले पहिले सो स्थानमा गुल्मी, प्युठान, म्याग्दी लगायत आसपासका करिव १२÷१५ गाविसका मान्छेहरुको उपस्थिति रहने र सबै मिलेर होरे खेल्ने परम्परा रहेको थियो तर अजकल दुई बडाका मान्छे मात्र परम्परा थाम्दै आएको उनीहरु बताउँछन् ।

मगर समुदायको माघे सक्रान्ति पर्वलाई विषेश जोड दिई मनाईने गरिएकोमा यो परम्परासँगै हुँदा मगरहरुले नै यो संस्कार थालेको हुन सक्ने उनीहरुको भनाई छ ।

तर अहिले होरेमा सबै जात जाति समुदाय नाँच्दै आएको र विषेश गरि यो संस्कृतिलाई जनजाति र दलित समुदायले निरन्तरता दिईदै आइएको स्थानीय कुलबहादुर घर्ती मगरको भनाई छ । होरेमा अपशब्द प्रयोग भएपनि महिलाहरु समेत त्यो मेलामा सहभागी हुँदै आएको देखिन्छ तर होरेमा भने महिलाहरु नाच्दैनन् र गाउँदैनन् । पहिले पहिले भने महिला पुरुष दुवै सहभागी भएर नाँच्ने गाउने गरेको बुढा पाकाहरुको भनाई छ ।

होरे मेला हरेक वर्षको माघे सक्रान्ति महिनाको २ या ३ गते बाट मनाईन्छ । पहिले पहिले स्थानीय आफै जागरुक भएर मानिने र मनाईने गरिए पनि पछिल्लो समयमा गोर्खा ब्वाएज युवा क्लवले यसको संरक्षण गरिरहेको क्लवका अध्यक्ष ललित रानाले बताए । होरेको दिन फोहोर शव्द प्रयोग गरिने प्रचलन घटेको छ ।

यसरी मनाईने होरे मा नराम्रो अपशब्द बढी प्रयोग गरिने भएकाले यसलाई हटाउने भनी स्थानीय बुद्धीजीविले अनुरोध गरेपछि त्यहाँ दुई वर्ष होरे गाइएन तर यो परम्परा हटाएपछि गाउँमा वाली नाली र पशु चौपयामा रोग व्याधी लाग्ने गरेको, रातको समयमा उनीहरुको शब्दमा भुत प्रेतले डराउन दिन थाले पछि फेरि सुरु गरिएको खलबहादुर बताउँछन् । यसमा अहिलेमा जानेमाने युवा र बुद्धिजीविहरुको समेत साथ र समर्थन रहँदै आएको देखिन्छ ।

पछिल्लो समय होरे मेलामा दलगत हिसाबले प्रमुख अतिथी बोलाउने परिपाटी विकसित हुन थाले पछी स्थानीयहरुमा केहि तिक्तता देखा पर्न थालेको छ । समाजमा प्रतिष्ठित व्यक्तिहरु मध्यबाट प्रमुख अतिथी बनाउनु पर्ने उनिहरुको भनाई छ ।

लेखक: राम सुवेदी
बुर्तिवाङ, बागलुङ ।
***
तस्बिर- किरण आचार्य,ई-बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *