-->
घरपाना » समाचार/बिबिध » गम्भीर चिन्ताको विषय बन्यो रुपा गौतम हत्याकाण्ड !

गम्भीर चिन्ताको विषय बन्यो रुपा गौतम हत्याकाण्ड !

Submitted by on September 15, 2014 – 12:27 pm7 Comments

rupa deathअहिले रुपा गौतम नृशंस हत्या काण्ड प्रहरीको निम्ति ईज्जतको सवाल (प्रेस्टिज ईस्यू) र नागरिक समाजको लागि गम्भीर चिन्ताको विषय बनेको छ । वीस दिनको हाराहारीमा आईपुग्दासम्म यस हत्याकाण्डमा संलग्न अपराधी पक्राउ परेका छैनन् अर्थात प्रहरीले अपराधीलाई सार्वजनिक गरेको अवस्था छैन । यस विभत्स हत्या काण्डले मच्चाएको सनसनीपूर्ण सन्त्रासले आमजनमानस आतंकित बनेको छ । मानिसहरु एक्लै दुक्लै हिँडनपनि डराईरहेका छन् । मानिसैपिच्छे भिन्नभिन्न अड्कल, टीका टिप्पणीहरु बाहिर आईरहेका छन्, नागरिक समाज स्तब्ध छ ।

***

….त्यो दिन नारीहरुको महान पर्व हरितालिका तीजको दिन थियो । भनिन्छ, सिगाना गाविस घर भै बिहुँ दोविल्लामा सानो तिनो बन्दव्यापार गर्ने ३६ वर्षकी रुपा गौतम तीजको दर खाएर माइत (पर्वतको पाङ न्वार) बाट घर दोबिल्ला तर्फ फर्कदै थिईन् । सबैसंग हेलमेल गर्ने हँसिली स्वभावकी रुपा मालढुंगा देखीनै मोटरसाईकलको लिफट मागेर दोविल्ला सम्म पुग्ने सूरमा थिईन, त्यसैले चिनजानका साथीहरुलाई उनले फोन सम्पर्क गर्दै थिईन् । उनी बागलुङ बजारमा आईपुगिन, त्यहाँपनि उनले चिनजानका मित्रहरुलाई दोबिल्ला पुराईदिन सहयोग मागिन, तर दुर्भाग्य भनौँ उनको अनुरोध कसैले सुनेन अथवा उनलाई गन्तव्यसम्म पुराईदिने कोहि मिलेनन् । सवारी साधन नपाएपनि उनी पैदल बाटो नगएर माथिल्लो मोटरबाटो बाटै गन्तव्य तिर लागिन, सडकमा भेटिने कुनैपनि सवारी साधनमा लिफट मागेर गन्तव्यसम्म पुग्ने विश्वासका साथ ।

सडकमा भेटिएका एक जीपसंग उनले लिफट मागिन् तर त्यो जीपको गन्तव्य दोविल्ला नभएर अन्यत्रै रहेछ । उनी मोटर बाटोबाट अगाडी बढ्दै थिईन् उनलाई बाटोमा भेट्ने वा देख्ने ईष्टमित्रहरुले सोधेका थिए, ‘किन तनि एक्ले हिँडेको ?’ उनको एउटै जवाफ हुन्थ्यो, ‘कुनै सवारी साधन पाईएला नि, नभए हिँडेरै दोविल्ला पुग्छु ।’
20140828_193955DSC04622
तर रुपालाई दोबिल्ला पुग्न दैवले दिएन । उनी बागलुङ नगरपालिका ५ बोक्से गैरा भन्ने ठाउँसम्म पुग्दा नपुग्दै उनको ईहलिला समाप्त भयो, उनको नृशंस हत्या भयो , एक अति क्रुर निर्दयी पापीले निर्ममतापूर्वक उनको गर्दनमा खुकुरी (धारिलो हतियार) प्रहार गरी जमीनमा ढलायो, अनि उनी उठिनन् उनलाई आहार गुहार दिने कोहि भएनन् ।

सामान्य व्यापार व्यवसायबाट पति राम प्रसाद गौतम र तीन सन्तानको पालन पोषण गरेर जीवन गुजारा गर्दै आएकी एक अधवैँशे महिलाको यति निर्मम, नृशंस, हृदयविदारक तरिकाले साँझ पर्न नपाउँदै मुल सडकमा विभत्स हत्या कस्ले किन ग-यो ? अहिले यहि प्रश्न सबैको दिल-दिमागमा उठिरहेको छ । चौतारीमा भारी विसाउदा होस् या चियापसलमा जलपान गर्दा, बाहिर हिँडडुल गर्दा या बजारमा किनमेल गर्दा किन नहोस दुई जना भेटियो कि कुरा उनै अभागिनी रुपाकै विषयमा हुन्छ । बाल बच्चा देखी बुढापाका सम्म, गोष्ठी-अन्तरक्रिया देखी बन्दसत्र सम्म, विद्यालय देखी घरका चुला चौका सम्म, पानी-पँधेरा, पाटी-पौवा, घाँसपात, परिम जाँदा किन नहोस् जहाँपनि कुरा रुपाकै हुन्छन्, कुन पापीले मारे होला प्रश्न यहि उठ्छ । वीस दिन पुग्दा सम्म यो घटना मानस पटलबाट बिलाएको छैन । नबिलाउला पनि, किनकि मेरो र तेरोको मात्र नभएर आम जनताको सुरक्षासंग जोडिएको छ, यो प्रश्न ।

रुपा गौतमको हत्या पूर्व रिसइवी, आर्थिक लेनदेन, लुटपाट वा अन्य के कारणबाट भएको हो भन्ने कौतुहलता सबैमा छ । यस्तो जघन्य हत्याकाण्डका अपराधी उम्किन्छन् कि भन्ने आशंकापनि सबैको छ । पीडित परिवार, महिला अधिकारकर्मी, कानून व्यवसायी, राजनीतिक दलका प्रतिनिधीहरु, नागरिक समाज सबै हत्याको शिघ्राती शिघ्र अनुसन्धान गरी हत्यारालाई कानूनको कठघरमा उभ्याईयोस भन्दै प्रहरीलाई दबाब दिईरहेका छन् ।

उता प्रहरी यस विभत्स हत्या काण्डको अनुसन्धानमा गम्भीरतापूर्वक लागेको बताईरहेको छ । अपराध अनुसन्धानमा कुनै कसर बाँकी नराखी अपराधी पत्ता लगाउने प्रतिवद्धताका साथ सबैसंग अनुसन्धानमा सघाउन आग्रह गरिरहेको छ । प्रहरीले सबै पाटोबाट यस हत्या काण्डकोे गम्भीरताका साथ अनुसन्धान गरिरहेको छ र सबै बाटोबाट अपराधी सम्म पुग्न खोजिरहेको छ ।

जिल्ला प्रहरी कार्यालबाट यस हत्याकाण्डको छानविन गर्न प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठको संयोजकत्वमा प्रनानिव्दय शैलेन्द्रकुमार खडका र शिव खत्री, सप्रनि धनबहादुर थापा तथा प्रह रामबहादुर क्षेत्री सदस्य रहेको एक छानविन समिति बनेको छ तापनि यस हत्या काण्डको छानविनमा स्वयं अन्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक मिलन बस्नेत तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेत लागि परेका छन् । यति सम्मकि स्वयं गृहमन्त्री हत्यारा पत्ता लगाउन सबै संयन्त्र परिचालन गरिएको बताईरहेका छन् । यो सनसनीपूर्ण हत्याकाण्ड बागलुङ जिल्लामा मात्र नभएर राष्ट्रियरुपमै चासोको विषय बनेको छ । विडम्वना यहि हो कि, घटनाको वीस दिन पुग्न लाग्दापनि अपराधी पत्ता लाग्न सकेको छैन ।

प्रबउ बस्नेत

प्रबउ बस्नेत

PB Basnet (2)Ins R Stha (2)अपराधीको खोजीमा प्रहरी छ्यापछ्याप्ती घुमिरहेको छ । घटनास्थलबाट बरामद भएका खुकुरीको दाब र कपडाहरुबाट अपराधी नजिक पुगिने प्रहरीको प्रयासपनि सफल हुन सकेको छैन । सदरमुकामका कपडा व्यापारीले प्रहरीले सोध्दै खोज्दै आएको कपडाहरु आफुकहाँबाट खरीद नगरेको त्यस्ता कपडा आफनो पसलमा नभएको बताएका छन् । हत्यारा यताको नभै उताको (अन्य जिल्लाको) भएकोले अनुसन्धानमा बाधा पुगेका हुनसक्ने अनुमान पनि धेरैले गर्न थालेका छन् ।

11sushilaa-sahaniबागलुङमा भएका हत्याकाण्डहरुमध्य गल्कोट हटियामा भएको सुशिला साहानी हत्याकाण्डसंग मिल्दोजुल्दोे रुपा गौतम हत्याकाण्ड सबैभन्दा सनसनीपूर्ण र क्रुर घटना हो । २०६६ साल माघ १९ गते बिहान हटिया बजारमा बागलुङ बुर्तिवाङ मोटरबाटोको वीचमा हत्याराहरुले साहनीको पछिल्तिरबाट छुरी प्रहार गरी टाउकोमा ढुंगाले थिचेर निर्ममता पूर्वक हत्या गरेका थिए भने रुपा गौतमको पनि बागलुङ बुर्तिवाङ मोटरबाटोको विचोविचमा खुकुरीले छप्काएर हत्या गरिएको छ । साहानीका हत्यारा एकदुई दिन भित्रै पत्ता लागेका थिए भने गौतमका हत्याराको खोजी जारी छ ।

हटियाकी सुशिला साहनीको हत्या प्रेमप्रसंगबाट गरिएको थियो तर रुपा गौतमको हत्याको प्रयोजन र हत्याराको विषयमा केहि खुल्न आएको छैन । के कति कारणले रुपाको हत्या कस्ले गयो भन्ने बारेमा धेरै तर्क (चर्चा)हरु बाहिर आएका छन् । हत्याको प्रकृतिलाई नियाल्दा कुनै ठुलो रिसइवीका कारण अपराधीले प्रतिशोध लिन रुपाको अतिनै निर्दयतापूर्व हत्या गरेको हुनसक्छ भन्ने तर्क एकातिर गरिन्छ त अर्कोतिर व्यापारी महिला भएकीले साथमा निकै रकमहुने विश्वासमा लुटपाट गर्ने उद्देश्यले उनको हत्या गरिएको हुन सक्छ भन्ने तर्क गरिन्छ । तर्क त लागुऔषधका दुव्र्यसनी (ट्यापे)हरुले यो घटनालाई अन्जाम दिएका हुन्कि भन्नेपनि छ । श्रीमान श्रीमतीवीचको सम्वन्ध, पसलमा आउने ग्राहकहरुसंगको तीतो मीठो, आर्थिक लेनदेन पनि हत्याको कारण हुन सक्छ । तर्कहरु धेरै छन । यिनै तर्कहरुलाई केलाउदै, पन्छाउदै र पछ्याउदै बास्तविक अपराधीको नजिक पुग्नुपर्ने स्थिति रहेको छ ।

घटनास्थल नजिकै भेट्टिएको खुकुरीको दाब ।

घटनास्थल नजिकै भेट्टिएको खुकुरीको दाब ।


हत्याको प्रकृति हेर्दा, अर्को अर्थमा भनौ, जसरी मृतकको गर्दन नजिक दाहिने फिर्पातोमा अति नै क्रुर र निर्दयतापूर्वक खुकुरी प्रहार गरिएको छ त्यस्को जड धनमाल लुट्ने भन्दा कुनै पूर्व रिसइवी हो । तर त्योे रिसइवी के थियो त ? यो गम्भीर र जटिल प्रश्नको जवाफपनि भेटिदैन । कसैसंग केहि रिसईवी, आर्थिक लेनदेनका हरहिसाव केहि थियो कि भन्ने विषयमा मृतकका परिवार खुलेर बोलेका छैनन् । समाचार श्रोतका अनुसार उनिहरुले प्रहरी समक्ष किटानी जाहेरी वा उजुरी दिएको अवस्थापनि छैन ।

तर मृतक रुपाका दाजु पर्वत पाङ न्वारका तेजप्रसाद सुवेदीले भने केहि दिन पहिले धौलाश्री सहकर्मी प्रेम सुनारसंगको बातचितमा बहिनीको हत्या रिसइवीका कारण नै भएको बताएका थिए । उनले बहिनीका शरीरमा सिक्री बाहेक अन्य गरगहना केहि नलगेकोले हत्या रिसइवीनै भएको बताएका थिए ।

हत्याको अर्को कारण धनमाल लुटपाट हुनसक्ने आशंका प्रबल छ । रुपा बागलुङ बजारदेखी दोविल्ला फर्कने क्रममा धौलागिरी वीरन्द्र उमावि नजिकै रहेको खानेपानी टंकी आसपासमा बसेका केहि मानिहरुमध्य एक जना उनको पिछा गर्दै गएकोे कसैले देखेको प्रशंगपनि चर्चामा छ । केहि कदमको अन्तरालमा रहेको उक्त अमुक व्यक्तिले एकान्त ठाउँ फेलापारेपछी रुपासंग भएको धनमाल लुट्ने क्रममा उनको हत्या गरिएको अनुमान पनि छ । तर मृतक रुपाको नाक कानका गरगहना यथास्थानमै छन्, घडी हातमै छ । उनको झोला व्यागमा ४ सय ७०/७५ रुपयाँ मौजूद छ । मोबाईल शवको केहि पर रहेको छ । उनको घाँटीको सिक्री र हातको औँठी नभएको पारिवारिक श्रोतको भनाई छ । हाल आएर उनको साथमा रहेको १ लाख ४० हजार रुपयाँ पनि लुटिएको आफन्तले भनेका छन् । रकम के प्रयोजनका निम्ति उनले साथैमा लिएर हिँडेकी थिईन, माइतीबाट लिएर आएकी थिईन कि उनलाई कसैले बाटोमा दिएको थियो या माईती जाने बेलैमा रुपाले सो रकम साथमा लगेकी थिईन् त्यो खोतलिई सकेको अवस्था छैन । तीजको दिन माइतबाट घर तिर फर्कदै गरेकी मृतक रुपाको पहिरन साधारण छ, कुर्ता सुरुवाल ! तीजको अवसरमा महिलाहरुले लगाउने रातो साडी र सुनका गरगहनाको चडक भडक उनको शरीरमा छैन ।

घटनास्थल नजिकै भेट्टिएको झोला ।

घटनास्थल नजिकै भेट्टिएको झोला ।


सामान्यत, मृतकको दाहिने घाँटीमा देखिएको गम्भीर चोटको प्रकृति हेर्दा अपराधीले उनलाई पछिल्तिरबाट प्रहार गरेको हुनुपर्छ । मृतक रुपालाई कसैले आफनो पिछा गरेको आभाष भएपछी उनले फर्केर हेरेकी छन् र उस्लाई चिनेकी छिन् । संभावित खतरालाई बुझेर हतार हतार पाईला बढाउदै उनले कसैलाई (श्रीमानलाई} फोन गरेकी छन्, त्यहि मौकामा अपराधीले उनको दाहिने घाँटीको फिर्पातामा खुकुरी प्रहार गरी भुँईमा ढलाएको छ । मोबाईल शव भन्दा केहि पर हुत्तिनु, झोला शवको आडैमा रहनु, खुट्टाका चप्पल अलिकती फर्केको अवस्थामा खुट्टैमा हुनु आदि प्रकतिले यसै कुरालाई ईँगित गरिरहेको छ । खासगरी प्रहरीले बरामद गरेको मृतकको मोबाईलको कल रिकर्डबाट पनि सत्यतथ्यको नजीक पुग्न सघाउ पुग्नुपर्छ ।
घटनास्थल नजिकै भेट्टिएको अन्तवस्त्रहरु ।

घटनास्थल नजिकै भेट्टिएको अन्तवस्त्रहरु ।


उक्त स्थानमा भेटहुने हत्यारा र मृतकवीच पूर्व सल्लाह थियो र सुनियोजित तरिकाले रुपाको हत्या गरिएको छ भन्ने चर्चा पनि नसुनिएको होईन । घटनास्थल देखी केहि फिट पर पूर्वतिर सडकको तल झाडीमा एक झोला र १७ इन्ची लामो खुकुरीको दाब प्रहरीले फेलापारेको छ । त्यस ठाउँमा भेस्ट, अन्त:वस्त्र (कट्टू), जाँगे केहि कपडाहरु छन् । तर ती बस्तुहरुमा कहिँ कतै रगत लागेको छैन । यदि प्रहरीले बरामद गरेको झोला र दाब हत्याराकै हो भने यिनै बस्तुहरुबाट हत्यारा सम्म पुग्न अनुसन्धानकर्तालाई ढीलो चाँडो सफलता मिल्न सक्छ ।
घटनास्थल नजिकै भेट्टिएको जाँगे ।

घटनास्थल नजिकै भेट्टिएको जाँगे ।


हत्यारा कति जना थिए ? कहाँ को हो ? एक्लैले यो घटनालाई अन्जाम दिएको हो कि ? बागलुङ जिल्ला वा घटनास्थल आसपासको हो या बाहिरको आदि कुराहरुपनि अनुसन्धानकै क्रममा रहेका छन् ।

बजारमा एउटा चर्चा छ, ‘खानेपानी योजनामा काम गर्ने कामदारहरु जुन बागलुङ जिल्लाका नभएर अन्यत्रबाट ठेकदारहरुले ल्याएका हुन्, उनिहरुले ४ महिना पहिले सम्म मृतकका घरमा खाना खान्थे तर पछि त्याहाँ मनमोटाब उत्पन्न भएपछ अर्को ठाउँमा खाना खाने गरेका थिए । तिनी मध्यकै कुनै व्यक्तिले रुपाको पिछा गरेर उनको हत्या गरेकाले अपराधी सदरमुकाम आसपासको नभएकाले पत्ता लाग्न ढीला भएको हो ।’

घटनास्थल नजिकै भेट्टिएको टीसर्ट ।

घटनास्थल नजिकै भेट्टिएको टीसर्ट ।


रुपा हत्याकाण्डलाई नजिकबाट नियाली रहेकाहरु हत्याको छानविन र अनुसन्धान प्रक्रियालाई संयमतापूर्वक अध्ययन गरिरहेका छन् । प्रनाउ बस्नेतले अनुसन्धानबाट अपराधी देखिन आएमा जो सुकै किन नहोस कानूनको दायरामा ल्याएर कार्बाही गरी छोड्ने प्रतिवद्धता जनाएका छन् । आशा गरौँ चाँडै नै रुपा गौतमको हत्यारालाई प्रहरीले सार्वजनिक गर्नेछ र हत्यारा जोसुकै किन नहोस् त्यो सजायंबाट छुट्न पाउने छैन ।

घटनालाई राजनीतिकरण हुन नदिउँ, शान्ति सुरक्षामा गम्भीर प्रभावपार्ने यस्ता जघण्य अपराधिक घटनाका दोषिसम्म पुग्न सबैले हातेमालो गरौँ । दोषिलाई कानूनी दायरामा ल्याईछोडौँ । अस्तु,

अपडेट:

यहाँ प्रस्तुत अडियो रुपा गौतमको हत्या भएको केहि दिन पछी धौलाश्री सहकर्मी प्रेम सुनारले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर बस्नेत, मृतकका दाजु र जेठाजु संग गरेको कुराकानीको हो । उनिहरुवीचको कुराकानीबाट हत्याका बारेमा केहि जानकारी मिल्ने विश्वास गरिएको छ । -संपादक ।

धौलाश्री डेस्क ।
२०७१ भदौ ३० ।
द्रष्टव्य: यहाँ दिईएका केहि तस्वीरहरु बिचलित पार्ने खालका पनि छन् । यसलाई अन्यथा नलिई घटनालाई स्पष्टपार्न यहाँ दिईएका हुन् । -संपादक ।


हाम्रो फेसबुकट्वीटर पेज मार्फत् समाचार पाउनुहोस ।

प्रतिक्रिया छ कि ?

7 Comments »

Leave a comment!

Comments:

प्रमुख-समाचार »



dhaulashree ebaglung