घाम लागे काम नगर्ने नेपाल टेलिकमको टावरले ढोरपाटनका सेवाग्राहीलाई सास्ती !

बागलुङ २०७४ असार १५ । बागलुङ जिल्लाको सुदूर पश्चिममा रहेको पर्यटकीय महत्वको साविक बोवाङ गाविसको ढोरपाटनमा नेपाल टेलिकमको टावरले राम्रो काम नगरेपछी हजारौँ सेवाग्राहीले मोबाईल टेलिफोन सेवा सहजरुपमा पाउन सकेका छैनन् । नियमित सन्चार सम्पर्ककालागि ढोरपाटनमा घाम नलागोस भनेर सूर्यदेवलाई प्रार्थन गर्नु पर्ने अवस्था रहेको छ । सुन्दा अचम्म लाग्ला, ढोरपाटनमा रहेको नेपाल टेलिकमको टावर घाम लागे चल्दैन अर्थात काम गर्दैन सूर्यास्त वा सूर्यको किरण (घाम)लाई बादलले ढोके पछी टावरले काम गर्न थाल्छ ।

मुलुक कै एकमात्र शिकार आरक्ष रहेको ढोरपाटन, पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकहरुको चाप बढ्दै गएकोले सन्चार सम्पर्क अतिनै महत्वपूर्ण रहेको छ । तर घाम लागे टावरले काम नगर्ने रोगलागे पछी स्थानीयवासी त्यस्को समयमै उपचारका लागि नेपाल टृलिकम कार्यालय बागलुङमा जोडदार माग गर्दै आएका छन् । तर वषौँ वित्दापनि यस रोगको निदान हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।

ढोरपाटनमा शिकार आरक्षको कार्यालय सहित नेपाली सेनाको हनुमानध्वज गुल्मपनि रहेको छ । शिकार गर्न आउने विदेशी शिकारी टोलीहरु र भ्रमणमा दिनहुँ पुगी रहने सयौँ पर्यटकहरु सन्चार सम्पर्कविहीन हुँदा निकै सास्ती खेप्नु परिरहेछ ।

नेपाल टेलिकमका प्रमुख केशव शर्मा भन्छन्, ‘ढोरपाटनमा भएको टेलिकमको टावर स्याटलाईट सम्पर्कबाट सन्चालन हुने भएकोले समय समयमा समस्या आउने गरेको छ ।’

‘चर्को घाम लाग्यो भने स्याटलाईट सिस्टमले काम गर्दैन । टेलिफोन सम्पर्क सहज हुनलाई कि बादल लाग्नु प-यो कि राति नै हुन प-यो, प्रमुख शर्मा भन्छन् । उनले भने, २ हप्ता पहिले प्राविधक टोली समस्या बुझन ढोरपाटन गएर फर्किएको छ । टावरमा देखिएका समस्या यहाँबाट समाधान गर्न नसकिने भएकोले केन्द्रीय कार्यालयमा मरम्मतका लागि माग गरिएको छ ।

आर्थिक वर्षको आखिरी महिना भएकाले केन्द्रबाट टावर मर्मतका लागि प्राविधिक टोली आउने निश्चितता नभएकोले अझै केहि समय ढोरपाटनवासीहरु टेलिफोन सेवा लिन प्रतिक्षा गर्नुको बिकल्प देखिदैन ।

‘जिल्लाका अन्य भागहरुमा राखिएका टेलिकम टावर जस्तै टावर किन ढोरपाटनमा राख्ने व्यवस्था भएन ?’ भन्ने प्रश्नमा प्रमुख शर्माले भने, ‘ढोर देउरालीमा टावर राख्ने कुरा छ स्थानीय तहमा संझौता गरेर राख्ने प्रयासमा छौँ ।’

टेलिकम कार्यालयका प्राविधिक केशव सापकोटाले, ‘बोवाङकै बिजौरेमा राखिएको जस्तो टेलिकमको टावर एक दुई ठाउँमा राखेपछी ढोरपाटनमा टेलिफोन सम्पर्क सहज हुने’ जानकारी दिए । ढोरपाटनमा मोवाईलमा ३ जी सिस्टमले काम गर्दैन सीडीएमए मा भने ३ जीको सुविधा लिन सकिने सापकोटाले जानकारी दिए ।

ढोरपाटन जस्तो महत्वपूर्ण भूभागमा टेलिफोन सम्पर्क सहज गराउन तर्फ सरोकारवाला निकाय संवेदनशील नदेखिएको प्रति स्थानीय जनप्रनिधी एवं ढोरपाटन नगरवासीको गुनासो रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *