वर्षा याम सँगै पर्वतका ग्रामिण सडकहरुको हालत खराब, स्थानीयवासीको यात्रा जोखिमपूर्ण !

महेन्द्र केसी, पर्वत २०७४ असार १५ । बर्षायाम शुरु भएसँगै पर्वत जिल्लाका ग्रामिण सडकहरु हिलाम्य र जोखिमपूर्ण बन्दै गएका छन् ।

बर्षायाममा ग्रामिण सडकमा यात्रा गर्ने सर्वसाधरणको जीवन पनि उत्तिकै खतरा युक्त छ । प्राविधिकको मापदण्ड अनुसार सडक निर्माण नगरी पहुँच र राजनीतिक आडमा विस्तार गरिदाँ सडक जोखिमपूर्ण बनेका हुन् ।

पर्वतको जलजला गाउँपालिका अन्तर्गत वाँसखर्क, लेकफाँट र शालिजाका ग्रामीण सडक वर्षा लागे संगै जोखिमपुर्ण वनेका छन् भने दक्षिण जोड्ने सडक संजालहरुको अबस्था पनि उस्तै छ ।
वाँसखर्क हुँदै लेकफाँटको लोप्रे जाने सडक, मिलनचोक हुँदै लोप्रे जाने मुख्य सडक हिलाम्य भएका छन् । तिनै सडकका शाखा सडक त प्राय ठप्पै वनेका छन् । पर्यटकिय क्षेत्र नागी पुग्ने पर्यटक, तरकारी ओसार्न र गाउँवाट वजार आउजाउ गर्न स्थानीयले प्रयोग गर्ने ग्रामिण सडक अहिले हिलाम्मे हुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने वाध्यता वनेको स्थानीयको गुनासो रहेको छ ।

जिल्ला समन्वय समितिले मर्मतका लागि वर्षेनी रकम खर्चिने गरेपनि हिउँदमा मात्र सहज यात्रा हुने गरेको स्थानीयले वताएका छन् । हिँउदभरि वनाउने वर्खा लागेपछि भेलले वगाएर जस्ताको तेस्तै हुने समस्याले सास्ती पाएको लेकफाँटका टंकप्रसाद सुबेदीले गुनासो गरे ।

सडक विग्रिएकाले चालकहरुले कोदाली, वेल्चा, धानको भुस वोकेर हिँडनुपरेको वताएका छन् । गाडी फसिने डरले त्यस्ता सामाग्री साथमा वोकेर हिँड्नुपरेको चालक कृष्ण पुनले बताए । जिल्ला समन्वय समितिले अहिले यो आर्थिक बर्षभित्र मर्मत भएका सडक, जिल्ला समन्वय समितिले वजेट विनियोजन भएर वनेका अन्य योजनाहरुको प्रगतिको वारेमा स्थलगत अनुगमन गरिरहेको छ । आव सकिदै लाग्दा बर्षेनी हुने यस्ता अनुगमन देखावटी अनुगमन बाहेक अरु हुन सकेको छैन ।

राज्यले लगानी गरेको लाखौ रकम बर्षायामको भेलसँगै बगिरहेको छ भने ठेकेदार मोटाउने काम मात्रै भैराखेको छ । कलष्टर नम्बर १ को टोलीले बुधबार जलजला गाउँपालिकाका योजनाहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा योजनाहरु वर्खा लागेसंगै विग्रिएको र सडकहरु सवारी चलाउनको लागि जोखिमपूर्ण रहेको पाइएको छ । कतिपय योजनाहरु सम्झौता भएको लामो समयसम्म अझै काम शुरु नभएको समेत अनुगमनका क्रममा देखिएको छ । कालिगण्डकी नदी नियन्त्रण कार्यक्रम अन्तर्गत लस्ती र मालढुङगाको वस्ती जोगाउने कालीगण्डकी नदि नियन्त्रण कार्यक्रम फागुनमा पेश्कि वुझेर समेत अहिलेसम्म काम शुरु हुन सकेको छैन ।

धाईरिङ, लेकफाँट, शालिजामा निर्वाचन पूर्वाधार कार्यक्रमको ४५ लाख वजेट विनियोजन भएकोमा उक्त वजेट अन्तर्गत विग्रिएको वाटोमा नाली वनाउने, सोलिङ गर्ने, जाली भर्ने जस्ता काम भैरहेको पाइएको अनुगमन टोलीका संयोजक भक्त कुँवरले वताए ।

यता दक्षिण क्षेत्रको सडक संजालको अबस्थापनि नाजुक बनेको छ । जिल्ला प्रशासन कार्यालय र अन्य विषयगत कार्यालयहरुले हिउँदमा गर्नुपर्ने घुम्ती शिविर मध्य बर्षायाममा दक्षिणको हुवासमा संचालन गरे । घुम्ती शिविरमा सरकारी कर्मचारी र उनका सवारीलाई सहज बनाउनको लागि अगाडि स्काभेटर र पछि सवारी लगियो तर ती सडकको अबस्था पनि नाजुक र खतरापुर्ण नै छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *