सहकारीमा विधि, नीति र प्रविधिको प्रयोग भएमात्रै सहकारीले फड्को मार्छ

रबिना बोहरा, बागलुङ, २०७४ असार १४ । सहकारीमा विधि, नीति र प्रविधिको प्रयोग भएमात्रै सहकारीले फड्को मार्न सक्ने मंगलबार बागलुङमा आयोजित एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । ‘दिगो विकास, लक्ष्य प्राप्तीका लागि सहकारी’ भन्ने नाराका साथ बागलुङमा सञ्चालन भएको एक हप्ते सहकारी लेखा तथा व्यवस्थापन तालिम समापनका क्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

जिल्ला सहकारी संघ बागलुङको आयोजना र राष्ट्रिय सहकारी संघ ललितपुरको सहयोगमा तालिम सम्पन्न भएको हो ।सहकारीमा आर्थिक पारदर्शिता कायम गरी विकासको बाटोमा अगाडी बढ्नका लागि प्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जिल्ला सहकारी संघले जनाएको छ । सहभागिहरुले राष्ट्रको आर्थिक विकासको मेरुदण्ड सहकारी भएकाले दिगो विकास र समृद्धिका लागि सहकारीलाई पारदर्शी बनाउन आवश्यक रहेको बताएका थिए । उनीहरुले सामाजिक न्यायमा आधारित रहेर उपेक्षित एवं निम्न आय वर्गका जनताहरुलाई बचत गर्ने बानीको बिकास गराउनका लागि जोड दिनुपर्ने बताएका छन् ।

दक्ष कर्मचारी, सञ्चालक समितिको लगन र सदस्यहरुको सक्रियता भएमा मात्रै सहकारीले फड्को मार्न सक्ने भन्दै बचत गर्ने बानीको बिकास गर्नुपर्ने बताएका थिए । आम नागरिकको बिचमा ठुलो सञ्जाल निर्माण गरी पुँजी परिचालन गर्ने सहकारीको कार्य भएकाले आर्थिक नियम, अनुशासन र पारदर्शी रुपमा सहकारी सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा प्रशिक्षक गोपीकृष्ण भण्डारी, राष्ट्रिय सहकारी बैँकका सञ्चालक रामबहादुर जिसी, जिल्ला सहकारी संघका उपाध्यक्ष अशोकगोविन्द राजभण्डारी, कोषाध्यक्ष भुपाल चालिसे, सदस्य अञ्जु जिसी, सहभागिका तर्फबाट भोजराज रेग्मी, शिवकला थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता र रेणु केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *