बडीगाड खोला किनारमा समयमै तटवन्ध निर्माण नगरिदा बुर्तिवाङ बजार उच्च जोखिममा

आकाशमा गड्याङ् गुडुङ् गर्दा साथ बुर्तिवाङ बजारवासीको मुटुको धडकन बढ्छ !

राम सुवेदी, बुर्तिवाङ २०७४ असार ६ । वर्षात सुरु भएसँगै बुर्तिवाङ बजारवासीमा सन्त्रास छाएको छ । गत २०७३ साल साउन १० गते राति र ११ गते विहानको अबिरल वर्षात सँगै बडीगाड खोलामा आएको भीषण बाढी पहिरोले बुर्तिवाङ बजार नराम्ररी कटान गरेर बजारलाई नै जोखिम अवस्थामा पुराएको हुनाले वर्षासँगै स्थानीवासीमा जलत्रास बढेको हो । अर्कोतिर बडीगाडले कटान गरेको भागमा तारजाली तटवन्ध लगाउने कार्यमा सरोकारवाला निकायको उदासीनताले पनि स्थानीयवासी चिन्तित बनेका हुन् ।

बाढीले कटान गरेको केहि भागमा मात्र तटवन्ध लगाउने काम भएको छ, त्यो पनि काम चलाउ ।

गत वर्षको बाढी पहिरोले बुर्तिवाङमात्र नभएर साविक अधिकारीचौर, बोगदोभान, देविस्थान, भीङगिठे, ग्वालिचौर, दगातुन्डाडा गाविसहरुमा धेरैको घरवास बगायो भने सयौ रोपनी धान खेत बगायो । केहि व्यक्तिले ज्यान गुमाए । ती पीडित जनताहरुको क्षतिको भर्पाई हुन नसकेको अवस्थामा छ ।

गत वर्षको बाढीले कटान गरेको बुर्तिवाङ बजारको कहाली लाग्दो खण्ड जुन अहिले पनि देख्न सकिन्छ ।

समय समयमा बडीगाड खोलाका किनारमा तटबन्ध निर्माण गर्न जिम्मेवार निकायमा माग राख्ने कुराहरु भए तर एक वर्ष वितिसक्दा समेत तटबन्धका लागि तदारुकता देखाउने काम भएन । बाढीले बजारलाई नोक्सान पुराएपछी जिल्ला भु—संरक्षण कार्यालय बागलुङ, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्रतिनिधिहरुले समेत यहाँको बस्तु स्थिति अवलोकन गरे, बाढीले पुराएको क्षतीको विवरण करोडौँमा आँकलन गरियो । तर तटवन्धका लागि खासै चासो लिईएन ।

गत वर्षको बाढीले कटान गरेको बुर्तिवाङ बजारको कहाली लाग्दो खण्ड जुन अहिले पनि देख्न सकिन्छ ।

बुर्तिवाङ बजारलाई बाढीको संभाव्य खतराबाट जोगाउन तत्काल यसको व्यवस्थापन हुनुपर्छ भनेर दुई चार बैठक पनि भए तर व्यवस्थापनका लागि न कसैले जिम्मेवार ढंगले योजना बनायो नत कसैले यसका लागि कार्यक्रम नै बनाएर काम गरियो । यस वर्षको बर्खा पनि लागिसकेको छ । यस्तो अवस्थामा अव बजारको अवस्था कस्तो होला भन्ने सबैका चिन्ताको विषयमात्र बन्दै छ ।

नदी तटबन्धका लागि नयाँ शहर आयोजनाका ईञ्जिनियरले ३३ करोड खर्च लाग्ने स्टेमेट तयार पारेका थिए । नगर विकास समितिमा भएको एक बैठकले उक्त टतबन्धनका लागि मन्त्रालयमा माग लैजाने निर्णय गरेपनि त्यसको कार्यान्वयन देखिएन । साँसद क्षेत्र विकास पूर्वाधार कार्यक्रम मार्फत जिल्ला विकास समिति मातहतबाट ४० लाखको लागतमा अहिले नदीका किनाराका भागमा दुई लेन जाली भरिएको छ जुन धेरै कम हो । बाढीले कटान गरेका धेरै यस्ता जोखिमपूर्ण स्थान छन (हेरौँ तस्वीर) त्यो जस्ताको तस्तै छ । केही संघ संस्था र व्यक्तिगत प्रयासबाट आफ्ना स्थानमा तटबन्धन गर्ने प्रयत्न भएका छन् ।

गत वर्षको बाढीले कटान गरेको बुर्तिवाङ बजारको कहाली लाग्दो दृश्य ।

बुर्तिबाङ बजार नमूना शहर निर्माणको प्रक्रियामा छ । विभिन्न योजनाहरु तर्जुमा भैरहेका छन् । विडम्वना काम भने कछुवा गतिमा छ । नयाँ शहर योजना भित्र नदी तटमा तटबन्धन गर्ने कार्यक्रम नपर्ने र क्षेत्राधिकार बाहिरको कुरा भएकाले यसलाई जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले हेर्नुपर्ने नगर विकास समितिमा नव नियुक्त अध्यक्ष मेषलाल शर्माको भनाई छ ।

साँसद क्षेत्र विकास पूर्वाधार कार्यक्रम अन्तरगतको बजेटले अति जोखिम युक्त स्थानमा तटबन्ध गर्नुपर्ने पहिलो स्टेमेट थियो तर स्थानीयको अवरोधपछि रि स्टेमेट गराएर सबै ठाउँमा तटबन्धन गर्नुपर्दा बाढी छेक्ने गरि काम नभएको उपभोक्ता समितिका सचिव यामु पौवीले बताए ।

गत वर्षको बाढीले कटान गरेको बुर्तिवाङ बजारको कहाली लाग्दो दृश्य ।

बडीगाड खोलाको किनारमा रहेका बजार क्षेत्रका यस्ता स्थान छन जहाँ नदीको बहाव केही बढने वित्तिकै बगाउँछ । स्थानीयमा पनि यसै विषयको चिन्ता छ, सरोकारवाला बेखबर छन् । समय घर्किएपछि अव हार गुहार गरेर पनि नहुने अवस्था सिर्जना भइसकेको छ । यस्तो अवस्थामा बजारको भविष्य के होला भन्नेमा मात्र अहिले स्थानीयको चासो र चिन्ता बनेको छ । न निद्रा न भोकको स्थितिमा स्थानीयवासी रहेका छन् ।

न राजनेता न प्रशासक, न स्थानीय संघसंस्था कसैले बुर्तिवाङ बजारलाई संरक्षण गर्ने दिशामा चासो दिए, वर्षाले ढेप्दै आयो, खोलानाला बढन थाले बजारवासीमा जलत्रास बढ्यो । आकाशमा गड्याङ् गुडुङ् गर्दा साथ बजारवासीको मुटुको धडकन बढ्न थालेको छ । नवनिर्वाचित नगरप्रमुख देवकुमार नेपाली र नवागत प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीबाट तत्काल कुनै पहल हुने विश्वासमा बुर्तिवाङवासी देखिन्छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *