ढोरपाटन उपत्यकामा आलु खेती सप्रिएकोले यस वर्ष उत्पादन बृद्धि हुनेमा किसान ढुक्क

राम सुवेदी, बुर्तिवाङ २०७४ असार ५ । बागलुङ जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका अन्तरगतको बोबाङ तथा ढोरपाटन क्षेत्रका कृषकहरुको मुख्य बालीको रुपमा रहेको आलु खेती यसवर्ष सप्रिएर उत्पादनमा बृद्धि हुने त्यहाँका किसानहरुले बताएका छन् । समय समयमा वर्षात भएको र फल लाग्ने समयमा मौसमले साथ दिए उत्पादनमा उल्लेख्य बृद्धि हुने उनिहरुले बताए ।

स्थानीय किसानहरुका अनुसार बारिमा आलु लगाएसँगै बैशाख र जेठ महिनामा समयसमयमा पानी परेकाले आलुको विरुवा सप्रिएको छ बोबाङ फल्लेघरमा आलुखेती गर्दै आएका वीरबहादुर विश्वकर्माका अनुसार त्यस स्थानमा असार महिनामै आलु निकाल्न मिल्ने गरि आलु खेती फस्टाएको छ । ढोरपाटनको भन्दा मौषम समेत केही फरक भएकाले छिट्टै निकाल्न सकिने विकको भनाई छ ।

अघिल्लो वर्ष असार महिनामा बढी वर्षत भएकाले आलुखेतीमा मार खाएको उनको भनाई छ । यस महिनामा कम पानी पर्यो भने अहिले आलु राम्रो फल्ने अर्का स्थानीय किसान देउमती विकले बताईन् । तर असार महिनामा बढी वर्षात गरेमा बोबाङको फल्लेघर, दुवाल तथा ढोरपाटनमै आलु खेती राम्रो नहुने विकको भनाई छ ।

ढोरपाटन तथा बोबाङका स्थानीयले हरेक वर्ष जस्तै यस वर्ष पनि आफ्नो बारीमा त्यहाँको मुख्य बाली आलु लगाएका छन् । बोबाङ र ढोरपाटन गरि दुई ठाउँको वसाई गर्ने त्यहाँका किसान विषेशतः आलु खेतीबाटै आफनो जीविका चल्दै आएको बताउँछन् । ढोरपाटन नगरपासिलका वडा नं. ७ का वडा अध्यक्ष दीपक थापाका अनुसार ढोरपाटनका स्थानीयले वर्षेनी आलु उत्पादन र व्यापारबाट लाखौं रकम भित्र्याउने गरेको भनाई छ । अघिल्ला वर्षमा पनि खासै नराम्रो उत्पादन त होईन तर असारमा वर्षात बढी परेका कारण आलुको विरुवा कुहिने र फल लाग्न नसक्ने भएकाले सधै भन्दा केही घटेको बताए ।

पहिला पहिला गाई बस्तुको मल प्रसस्त हुँदा १ क्वीन्टल आलु लगाइने बारीमा २० क्वीन्टलसम्म आलु फल्ने गरेकोमा पछिल्लो समयमा गाई वस्तु कम पाल्ने र सल्लाको पातको मल हाल्न थालेपनि आलु उत्पादन घटदै गएको स्थानीय धनबहादुर अदैले बताए । वर्षौसम्म एकै प्रकारको खेति भएराखेका कारण पनि उत्पादनमा ह्रास आउन सक्ने भएकाले पनि पछिल्लो समयमा आलु उत्पादनमा कमी आउने गरेको अदैको भनाई छ
। अहिले बढी उत्पादन भएमा १ क्विन्टल आलुको विउ लगाउँदा १०ड्ड१२ क्विन्टल फल्ने गरेको उनको भनाई छ ।

स्थानीय युवती दिलमायाँ अदैले यसपालि आलुको बोट एकदमै सप्रिएको छ, पानी परेर बोट ढलेन भने यसवर्ष आलुको उत्पादनले रिकर्ड राख्ने बताईन् । पान परेर आलुको बोट ढल्यो भने आलु उत्पादनमा कमी आउने उनको भनाई छ ।

ढोरपाटन क्षेत्रमा करिव २ हजारको हाराहारीमा घरधुरी रहेको र प्रति घरधुरी कम्तिमा २ रोपनीदेखि बढीमा २५ रोपनी जग्गामा आलु खेती लगाउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार हिउँदे र वर्षे सिजनमा गरि जिल्लामा ३ हजार हेक्टर क्षेत्रफलमा आलु खेति गरिएको कृषि प्रशार अधिकृत विप्लव अधिकारीले बताए । जस अनुसार हिउँदे आलु खेती अर्थात बेमौषमी आलु खेती २ हजार हेक्टर क्षेत्रफलमा र वर्षे आलु खेती १ हजार हेक्टर क्षेत्रफलमा लगाइने गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

उत्पादनका हिसावले हिउँदे आलु खेतीबाट १९ हजार ९ सय ४९ मेट्रीक टन आलु उत्पादन भएको र वर्षे सिजनमा ६ हजार १ सय ९९ मेट्रीक टन आलु उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ढोरपाटन तथा यस आसपासमा हिँउदे भन्दा पनि वर्षे आलु उत्पादन बढी हुने गरेको छ । ढोरपाटन क्षेत्रमा यस वर्ष १० हजार हेक्टर क्षेत्रफलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत आलु खेती विस्तार गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ ।

बोबाङ बाहेक त्यस आसपासका साविक निसी, बोहोरागाउँ, तमान, खुँखानी, देविस्थान, दर्लिङ, अधिकारीचौर, खुँगा, लगायतका गाउँ विकास समितिहरुमा समेत आलु खेती गरिदै आएको छ ।

तस्वीर- अस्मिता कायत, ढोरपाटन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *