बागलुङमा कृषिले बाँड्यो २५ टन मकैको वीउ : अमरभूमिको सिरुवारीमा चिया खेती सुरु !

राम सुवेदी, बागलुङ २०७४ असार ३ । जिल्ला कृषि विकास कार्यालय बागलुङले यस आर्थिक बर्षमा जिल्ला भरका कृषकका लागि २५ मेटिक टन मकैको वीउ वितरण गरेको जनाएको छ । कार्यालयको बृहत्तर मकै उत्पादन कार्याक्रम र प्रधानमन्त्री कृषि आधुनीकिकरण कार्यक्रम अन्तरगत जिल्लाभर उक्त मकैको विउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषि प्रसार अधिकृत बिप्लव अधिकारीले बताए ।

अधिकारीले दिएको जानाकारी अनुसार वृहत्तर मकै उत्पादन कार्यक्रममा जिल्ला भर १७ दशमलव ५ मेट्रिक टन र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, जिल्ला कृषि प्रशार कार्यक्रम तथा एकीकृत वाली तथा जल व्यवस्थापन कार्याक्रममा ७ दशमलव ५ मेटिक टन गरि २५ मेट्रिक टन मकैको वीउ वितरण गरिएको छ ।

कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत २ वटा पकेट क्षेत्र बनाएर बनाएर २ सय हेक्टर क्षेत्रफलमा मकै उत्पादनलाई प्राथमिकिकरणमा राखेको छ । साविकको देविस्थान, हिल, र बुर्तिबाङलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तरगतको पकेट क्षेत्र मानिएको छ भने तंग्राम, धम्जा, भिमपोखरा र पालालाई अर्को पकेट क्षेत्र मानेर मकै उत्पादनलाई प्राथमिकीकरण गरिएको छ ।

यस्तै बागलुङ नगरपालिका र राङखानीमा १०/१० हेक्टर क्षेत्रफलमा मकैको विउ उत्पादन गरिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । उता बुर्तिबाङ स्थित कृषि सेवा कार्यालय अन्तरगतका साविकको १२ गाउँ विकास समितिमा पनि २ दशमलव ५ मेटिक टन मकैको विउ वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले यस वर्ष देउती, मनकामना ३, मनकामना ५, सितला र अरुण २ जातका मकैको विउ उत्पादनका लागि कृषकलाई सिफारिस गरि विउ वितरण गरेको जनाएको छ ।

यसैबीच कृषि विकास कार्यालयले यसै आर्थिक वर्षमा जिल्लाको अमरभुमि स्थित सिरुवारीमा ५ सय रोपनी जग्गामा चिया बगानका लागि कृषकलाई अनुदान सहयोग गरेपछी त्यस स्थानमा पहिलो पटक चिया खेती गर्न थालिएको हो । जिल्ला कृषि कार्यालय बागलुङले चिया खेतीका लागि नर्सरी उत्पादनका लागि १ लाख अनुदान दिएको कृषि प्रशार अधिकृत अधिकारीले बताए । अमरभुमिको मेले भन्ने स्थानमा अहिले चिया नर्सरी थालिएको छ ।

यस्तै कृषि विकास कार्यालयले बागलुङका यस वर्ष १ सय ५ हेक्टर क्षेत्रफलमा अलैची खेति विस्तार गर्ने कार्यक्रम बनाएको छ । जिल्लाको दमेक, दुदिलाभाटी, विहु, राङखानी र मालिकामा अलैची खेती गरिदै छ भने नारायणस्थानको कैयामा १० हेक्टर क्षेत्रफलमा धानको पकेट क्षेत्र बनाएर धान उत्पादनका लागि किसानलाई अनुदान दिइएको छ ।

सुन्तला खेतीका लागि दमेक, सिसाखानी, रिघा, सर्कुवालाई पकेट क्षेत्र मानेर अनुदान सहयोगमै उत्पादन बढाइने कार्यक्रम तय गरिएको छ । विहुँलाई सुन्तला खेतीको विषेश क्षेत्र घोषणा गरेर कार्यक्रम बनाइएको छ ।

यस्तै बोबाङ, तमान, तारामा १०/१० हेक्टर क्षेत्रफलमा प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि आलु खेती विस्तार गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *