साताको तस्वीर : “नचरी” एक साँस्कृतिक सम्पदा !

दिल बुढाथोकी, गल्कोट २०७४ असार १ । बागलुङ जिल्ला गल्कोट नगरपालिका ८ साविक काँडेबास गाबिस अन्तर्गत एउटा सानो गाउ बिर्कोटका मगरहरु बिच चलि आएको एउटा साँस्कृतिक सम्पदाको नाम हो ‘नचरी’ ।

नेपालमा धेरै प्रकारका सास्कृतिक परम्पराहरु छन तर तिनिहरु बिच कैयौ समानताहरु पनि भेट्न सकिन्छ । बिभिध साँस्कृतिक परम्पराहरु मध्ये यहाका मुल आदिबसी मगर जातिको सबैभन्दा ठूलो साँस्कृतिक धरोहरको रुपमा सोरठी लाई मानिन्छ ।

हाल सम्म आईपुग्दा संस्कृति माथि अनेक प्रकारका प्रहारहरु भए, बिश्वको बदलिदो परिवेश संगै सास्कृतिक सम्मिश्रणको यस युगमा परम्परागत सँस्कृतिलाई जोगाई राख्न पनि चुनौतिपुर्ण भएको छ र यस प्रकारको कठिनाई बिच पनि सोरठी लोक परम्परालाई मगर जातिले कहि न कहि केहि न केहि रुपमा भएपनि बचाई राखेका छन । यस सन्दर्भमा सँस्कृति संरक्षण मन्च काडेबास बागलुङ नामक संस्थाले बिषेश गरि सोरठी परम्परालाई संरक्षण सम्बर्धन बिकास तथा प्रचार(प्रसार गर्ने काममा लागेको छ यस क्रम मा यस सन्था ले २०५८, २०५९ र २०६१ मा गरी ३ वटा सोरठी गीती एल्बम ( बिर्कोटे भैलो ) निकाल्नुका साथै २०६३ सालको “नचरी” भिसीडी को उत्पादन र प्रशारण हाम्रो सोरठी संस्कृतिको पहिचानमा कोशेढुङ्गा सावित भएको छ । यस पछि २०७३ सालमा नचरी २ नामक एल्बम बजारमा सार्वजनिक ( म्युजिक नेपाल बाट ) गरेपछि यो सोरठी सँस्कृतिलाई नयाँ उचाईमा पुर्याएको छ ।

नचरी नामाङ्कन

सोरठी गीत नृत्यको प्रादुर्भाव तथा विविधताको सन्दर्भमा बिभिन्न लेखक तथा जनजातिहरुको आआफ्नै भनाई, ब्याख्या बिश्लेषण, किम्बदन्ति वा शिद्धान्तहरु रहे पनि मुलत सोरठी भन्नाले सोरठी रानी अर्थात सोरठी सुकन्या अर्थात राजा जयसिङे र रानी हैमतीको पुत्री संग सम्बन्ध राख्ने बिविध नाटकीय पक्ष संग सम्बन्ध राखेर गाइने गीतनृत्य हो र हाम्रा गीत नृत्यहरुको अध्ययन गर्दा हाम्रो यस बिर्कोट गाउका मगर बिच प्रचलित गीत नृत्य केबल सोरठी कन्या, राजा जयसिङे वा रानी हैमती संगको कथा सङग मात्र सम्बन्ध राख्ने प्रकारका छैनन, हाम्रो यस परम्परागत सँस्कृतिमा हाल सम्म करिब २ दर्जन जति गीतहरुको प्रकार प्रयोग भएको देखिन्छ । खोला–नाला, पाहाड–पर्वत, मठ–मन्दिरलाई देवता मानी बन्दना गर्ने गीत, तिहार को बेलामा सुनै सरी घर आँगनमा हामी नाच्न आयौं भन्ने गीत , माया–प्रेमका, सुख–दुखका कृष्ण चरित्र र रामायण का कथाहरु देखि लिएर चरा चुरुङ्गी, पशुपंक्षीका विरहपूर्ण गीतहरु रहेका छन् । बैनीज्यूलाई दिई हाल दान, यशै राजाले बेचि खायो भन्ने सोरठी ,रमाइलो ख्याली देखि लिएर “सूर्यमा जैसो उदाए राजै” आशीषहरुले हाम्रो संस्कृतिलाई धनी देखाएको छ । जुन गीत– नृत्य का भावनाहरुवाट हामीहरु धेरै कुराहरु सिक्न सक्छौ दुखका बेदनालाई विर्साउने सुखका उमंङ्गहरु साट्ने भगवानका लिलाहरुलाई आत्मासाथ गर्ने हाँसो ठट्टाले जीवनलाई सिगार्ने भावनाहरु हामी यो गीत र नृत्यहरुवाट सिक्न सक्छौं । तसर्थ यस परम्परालाई जोगाई राख्नु समानानुकुल परिवर्तन गर्दै जानु पनि हाम्रो दायित्व रहन्छ । तसर्थ हामीले हामी संगका यी बिविध गीतहरुको भावलाई मध्यनजर गर्दै नचरी नामाङ्कन गरेका छौ ।

नृत्य तथा भेषभुषा

सामान्यत एक नृत्यमा २ मादले, १ पुषुङे, १ मारुनी र अन्य पछाडीबाट गीत छोप्ने गोडेहरु हुन्छन, कहिले २ पुषुङे र २ मारुनीहरु पनि नचाइन्छ भने हामीले हालमा आएर मारुनी महिलालाई नै गराउने गरेका छौ । भेषभुषामा पुरुषुङ्गेले सामान्यत कछाड, सेतो भोटो वा कमिज, इस्टकोट, टोपी र गादो लगाइन्छ भने मारुनीले चौबन्दी चोली, रङ्गीबिरङ्गी कपडाको जामा जसको छेउमा २ लामा तुना मारुनीले समाएर नाँच्ने गासिएको हुन्छ, पटुका, हमेल, पोतो, ढुङ्ग्री, रैयाँ, श्रीफुल आदि लगाउने गरिन्छ ।

नचरीको मुल प्रवाह सोरठी नै हो हामीहरुले यसरी सोरठी को बिविधतालाई नचरी नामक गीत तथा नृत्यबाट अगाडी बढाईरहेका छौ आगामी दिनहरुमा हाम्रा वरपर रहेका सोरठीको बिविधतालाई समेट्दै समयानुकुल बिकास र परिमार्जन गर्दै यस सोरठी परम्परालाई हाम्रो सँस्कृति हाम्रो गर्वको अभियान सहित अगाडी पाइला चाल्दै जानेछौ । अस्तु:

दिल बुढाथोकी,
काँडेबास, गल्कोट
२०७४ असार १ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *