बुर्तिवाङमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा बक्ताहरुले यसरी औँल्याए प्रहरीका गल्ती

बुर्तिवाङ २०७४ जेठ २८ । इलाका प्रहरी कार्यालय बुर्तिबाङको आयोजनामा आज नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले प्रहरीले कानुन सम्बद्ध ढंगले जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका छन् । नागरिक सुनुवाई कार्यक्रममा उपस्थित जनताको राय, सुझाव तथा गुनासाहरुको जवाफ दिनेक्रममा प्रहरी निरीक्षक रानाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

प्रहरी मेरो साथी नारा रहेको नागरिक सुनुवाईमा प्रहरीले गरेका काम कार्वाहीका क्रममा भएका गल्ती कमजोरीलाई जनताले सच्याउनका लागि सुझाव दिन सक्ने, आगामी दिनमा प्रहरीले गर्ने कामहरुको वारेमा जानाकारी दिने र जनतासँग प्रहरी मिलेर के गर्नसक्छ भन्ने सवाललाई ध्यानमा राख्दै आयोजना गरिएको कार्यक्रममा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, राजनैतिक पार्टी प्रतिनिधि, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि आम नागरिक तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले प्रहरी अझैपनि जनताको साथी बन्न नसकेको, जनसेवकका रुपमा आफूलाई स्थापित गर्न नसकेको, विभिन्न दवाव, प्रभाव र स्वभावका आधारमा परिचालन भएको जस्ता गुनासाहरु व्यक्त गरेका थिए । यस्तो कार्यबाट टाढा रहेर सबै नागरिकलाई समान र सम्मानजनक व्यवहार गरेर जनसेवी भावनाले जनताको काम गर्न समेत कार्यक्रममा बोल्ने बक्ताहरुले प्रहरीलाई सुझाएका छन् ।

प्रहरीले थालेको मदिरा नियन्त्रण अभियान, लागुऔषध गाँजा नियन्त्रण तथा रोकथाम गर्ने कार्यक्रम, बजार सरसफाई लगायतका कार्यक्रमहरु सकरात्मक भएकाले त्यसको निरन्तरताको विषयमा समेत क्रियाशील रहन बक्ताहरुले आग्रह गरेका छन् । यस्ता कार्यक्रमहरु बल प्रयोगका भरमा मात्र नभई सचेतना मुलक कार्यक्रम सञ्चालन गरेर जान र नागरिक तथा सरोकारवालासँग समन्वय गरेर साझा कार्यक्रम तय गरेर अघि बढन समेत नागरिकका तर्फबाट सुझाव दिएका छन् ।

प्रहरी कार्यालयका जिम्मेवार ओहोदाका व्यक्तिले कतिपय अवस्थामा आफ्नो राजनैतिक आस्थाका आधारमा पार्टी प्रवत्ताको भुमिका देखाएको भन्दै आस्था आफ्नो ठाउँमा भएपनि बर्दि लगाएपछि आफ्नो उत्तरदायित्व र जिम्मेवारी नभुल्न समेत सुझाव राखेका छन् ।

यस्तै सवारी गति बजार क्षेत्रमा नियन्त्रण गर्न, ट्राफिक प्रहरीका तर्फबाट सबैलाई समान व्यवहार गर्न, बजार क्षेत्रमा अनावश्यक हरन बजाउन रोक्न, जनताको शान्ति सुरक्षा र अमन चयन कायम राख्न सचेत ढंगले प्रभावकारी भूमिका निर्वाह गर्न, नागरिका सेवाका लागि साँच्चै साथीको व्यवहार गर्न, सर्वमान्य न्याय सिद्धान्तका आधारमा पीडितलाई न्यायको पहुँचसम्म पु¥याउन पनि वक्ताले आफ्नो राय राखेका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढोरपाटन नगरपालिका कार्यलयका उप प्रमुख कर्मती पुनले नागरिक सुनुवाईका क्रममा आएका र उठाइएका सवालहरु सान्दर्भिक रहेकोले त्यसलाई ममन गर्न प्रहरी प्रशासनलाई अनुरोध गरिन् ।

यस्तै भर्खर मात्र स्थानीय तहको निर्वाचनबाट आफूहरु निर्वाचित भएर जनप्रतिनिधिका रुपमा उपस्थित भएपनि राज्यले अझै आवश्यक निर्देशिका, काम गर्ने कार्यक्षेत्र र निती नियम नबनाई सकेको अवस्थामा वर्तमान अवस्थाका इकाइहरुले आफ्ना कामहरु चुस्त दुरुस्त ढंगले सम्पादन गर्दै जान समेत उनले आग्रह गरिन् । उपप्रमुख पुनलेभोलिका दिनमा आफूहरुले जनताका काममा सबैसँग सहयोग, राय परामर्श लिएर अघि बढने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारी, वडा नं. २ का वडा अध्यक्ष युवराज महत, समाजसेवी शालिकराम शर्मा, तुल्सीराम अर्याल, गौरीश्वर पाण्डे, केशर छन्त्याल दुर्गादेवी घर्ति, चन्द्रलाल अर्याल, लोकेन्द्र सुनार, गुञ्जबहादुर भण्डारी, चिन्तामणी शर्मा, नरहरी भुसाल, चुनमान दर्जी, यामु पौवी, अमर लोप्चन, नारायण घर्ती, ऋतुवर्ण पौडेल, सुनिलकुमार जैसवाल लगायतले आआफना धारणा राखेका थिए ।

कार्यक्रममा आएका सुझाव, सल्लाह र रायहरुलाई आगामी दिनमा प्रहरीले प्रतिवद्ध ढंगले पालना गर्ने र नागरिकसँगै हातेमालो गरेर अघि बढने प्रहरी निरीक्षक रानाले प्रतिवद्धता जनाएका थिए ।

यसैबीच रानाले इलाका प्रहरी कार्यालयले अव बजार क्षेत्रमा सिसिटिभि क्यामेरा राख्ने, ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने, प्राकृतिक विपत न्यूनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु गर्ने, विकट क्षेत्रमा उत्पादन भइरहेको लागुऔषध गाँजा फडानी गर्ने,, मदिरा नियन्त्रण अभियानलाई अझै तीव्र बनाउने लगायतका कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् ।

कार्यक्रम एकीकृत सेवा केन्द्र प्रमुख जनक थापाको अध्यक्षता, ढोरपाटन नगरपालिकाका उपप्रमुख कर्मती पुनको प्रमुख आतिथ्यता र प्रहरी सहायक निरीक्षक रोहित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच इलाका प्रहरी कार्यालय बुर्तिबाङले गत साउन महिना यतादेखि हालसम्म ११ महिनाका घटना विवरण आज सार्वजनिक गरेको छ । प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाईका अवसरमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक रानाका अनुसार झुण्डिएर आत्महत्या गरेका ५ जना, सवारी दुर्घटनामा परि ज्यान गुमाउने संख्या ४ जना, खोलामा डुवेर मरेका २ जना आगलागिबाट ज्यान गुमाउने दुई जना वालवालिका, भीरबाट लडेर मृत्यू भएका ५ जना रहेको विवरण जानाकारी प्रस्तुत गरेका थिए ।

यस्तै अनुमति पत्र लाईसेन्स विना नै सवारी चलाएर दुर्घटना गराएका चालक १ जनालाई जेल चलान गरिएको पनि बताए । उता जेल चलान तथा विभिन्न प्रकृतिका घटनामा संलग्न भइ मुद्दा खेप्नेहरुमा गौबध मुद्दामा ७ जना, जवरजस्ती करणीमा ३ जना, हातहतियार तथा खरखजना मुद्दामा २ जना, उछृङखल गतिविधिमा संलग्न भएका ३ जनालाई सार्वजनिक मुद्दा चलाइएको प्रहरी निरीक्षक रानाले बताए ।

प्रनि रानाले अबैध मदिरा नियन्त्रण सम्बन्धमा निर्वाचनका समयमा ४ सय ५५ लिटर मदिरा, २ हजार ६५ लिटर मदिरा बनाउने कच्चा पदार्थ जाँड र ५५ केजी मदिरा बनाउने कच्च पदार्थ मर्चा बरामद गरि नष्ट गरिएको समेत जानाकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *