मुक्तिनाथ सहकारी म्याग्दीका शेयर सदस्यलाई सहकारी सचेतना

म्याग्दी, २०७४ जेठ १७ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले जनताको प्रत्यक्ष सहभागितामा देशको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि सहकारी क्षेत्र उत्तम विकल्प रहेको दावी गरेका छन् ।

मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेनी म्याग्दीले शनिवार आयोजना गरेको शेयर सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रमको उद्घाटन पछि बोल्दै जिसीले यस्तो दाबी गरेका हुन् ।

जनता आफै मालिक भएर गर्ने व्यवसायका रुपमा सहकारीलाई अगाडि बढाइएको चर्चा गर्दै जीसीले जनपरिचालनमार्फत मात्रै विकास संभव रहेको बताए ।

जनतालाई आर्थिक रुपमा सबल, सामाजिक तथा सांस्कृतिक रुपमा रुपान्तरित गर्नका लागि स्थानीय स्रोत साधनको परिचालन, सामाजिक रिति थितीमा सुधार र सांस्कृतिक पर्वहरुलाई स्थानीय तहबाटै सुधार गर्नका लागि सहकारी उत्तम हुने उनको भनाइ थियो ।
सहकारी क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरी सुधार गर्दै जनतालाई व्यवसायिक रुपमा संगठित गर्दै अगाडि बढाउनका लागि सहकारी उद्यमलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष शेरबहादुर केसीले सदस्यहरुलाई आर्थिक रुपमा सक्षम बनाउदै सामाजिक रुपान्तरण गर्ने लक्ष्यका साथ स्थापित मुक्तिनाथ सहकारीलाई थप प्रभावकारी रुपमा सञ्चालनका लागि तालिम सहयोगी हुने धारणा राखेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष लिलाराम गौतमको स्वागत र शिक्षा उपसमितिका सदस्य चिरञ्जिवी बोगटीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सहकारीको ऐतिहासिक विकासक्रम, सफल सहकारीका लागि शेयर सदस्य, सञ्चालक र कर्मचारीको भूमिका, सहकारीमा वचत र त्यसको महत्व लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी र सदस्यहरुले सहकारी मार्फत गर्न सक्ने व्यवसायका बारेमा राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चार अधिकृत विजय चालिसेले सहजीकरण गरेको संस्थाका उपाध्यक्ष लिलाराम गौतमले जानकारी दिए ।
तालिममा संस्थाका सञ्चालक, शेयर सदस्य र कर्मचारी सहित ७० जनाको सहभागिता रहेको थियो । २ करोड शेयर रकम रहेको संस्थामा १५ करोड वचत र १३ करोड लगानी रहेको संस्थाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *